Monday, February 12, 2024

भम्पा- आधारबाट शिखरको उत्खनन

 




गोविन्द रिजाल 

श्री वीरेन मगरकृत ‘भम्पाः एक अडान अनेक प्रश्न’ डा. भम्पा राई, वा डा. साहबको मरणोपरान्त जीवनी हो । मरणोपरान्त भनिए पनि यो लेखन डा. साहब जीवित हुँदै उहाँ कै सहमतिमा सुरु भएको थियो । प्रकाशक रत्न पुस्तक भण्डार, काठमाडौँले बजारमा ल्याएको यो जीवनीमा डा. साहब बोल्न सक्ने बेलासम्मको जीवन गाथा प्रथम पुरुषमा आत्मकथात्मक शैलीमा र अचेत अवस्थाको पाटो लेखकीय जोडेर पुरा गरिएको छ ।

पुस्तक पढ्दा सलल बग्छ, भाषागत त्रुटि नगण्य छन् सुरुदेखि अन्तिमसम्म । सुरुमा डा. राईको बाल्यकाल र तन्नेरी जीवनका रमाइला घटनाहरू समेटिएका छन् । मध्यतिर सङ्घर्षका सीमाहीन चरम परिस्थितिहरू छचल्किएका छन् र अन्त्यतिर वियोगका पराकाष्ठाहरू छन् । एक साधारण भुटानी डाक्टरको असाधारण जीवनी आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ ।

जे जति लेखिएको छ उत्तम छ ।

डा. राईको जन्म सीमावर्ती क्षेत्रमा अवस्थित बाडामा भएको हो, जुन कुनै एक समय भुटान र भारत दुवैको अधिकार क्षेत्रभन्दा बाहिर थियो। समय बित्दै जाँदा यो आधिकारिक रूपमा भुटानमा समाहित भयो, र बाडाको मूल निवासी भम्पा राई जन्मसिद्ध अधिकारद्वारा भूटानी नागरिक बने। उनको शैक्षिक यात्रा आफ्नै गाउँको विद्यालयबाट सुरु भयो, अन्ततः उनले आफ्नो परिवारबाट मात्र होइन आफ्नै गाउँबाट पनि पहिलो मेडिकल डाक्टर बन्ने उल्लेखनीय विशिष्टता हासिल गर्न नेतृत्व गरे। पछि, उनले आफ्नो सीप र विशेषज्ञतालाई परिष्कृत गरे र एक उच्च निपुण सर्जनको रूपमा स्थापित भए ।

यस जीवनीका पानाहरूमा पाठकहरूले डा. राईको बहु-आयामिक व्यक्तित्वलाई आकार दिन महत्त्वपूर्ण योगदान पुर्‍याएका असङ्ख्य घटनाहरूबारे जानकारी पाउँछन् । डा. साहबको अन्तरजातीय विवाहको वर्णनले ती जटिलताहरूलाई खोल्छ, जसले सामाजिक र सांस्कृतिक धारणाहरू र व्यवहारहरूले व्यक्तिगत जीवनमा पर्ने प्रभावहरूको गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ । पुस्तकमा भुटानको राजनीतिक आन्दोलनका महत्त्वपूर्ण क्षणहरूको संक्षिप्त वर्णन छ जहाँ डा. राईको परिवारको संलग्नता र अन्ततः उनको आत्मनिर्वासन समेटिएको छ। यो एक इतिहास हो, इतिहासभन्दा धेरै जीवनी नै हो ।

यो पुस्तकमा सामान्यतया अरू धेरै पुस्तकमामा जस्तो पाठहरूभन्दा अगाडि राखिने परम्परागत प्रस्तावना वा शुभकामनाहरूको अड्चन सामना गर्नु पर्दैन । सिधै कथामा डुब्न पाइन्छ । यस अर्थमा यो पुस्तकको सरलता प्रशंसायोग्य छ । पाठकको ध्यान सुरुदेखि नै मार्मिक कथनले खिच्छ: “म एक स्वेच्छाको शरणार्थी हुँ।” यदि शरणार्थी प्रमाणीकरणको अन्तर्राष्ट्रिय प्रोटोकल लागू गरिएको थियो भने सदा अब्बल छात्र राई यहाँ पास हुने थिएनन् । पुस्तकको क्लाईमेक्स “उर्मिला खण्ड” हो। आफूलाई कठोर ठान्ने पाठकहरूले समेत यो खण्डमा आँसु झार्नेछन् पटक पटक- अविरल।

“आमा बिरामले थलिँदा राम्रो ओछ्यान दिन सकिनँ। कान्छी बहिनी क्यान्सरले बितिन्। उनीहरूलाई राम्रो अस्पतालमा देखाउन सकिनँ। उनीहरू सबै मेरो जीवनका त्यस्ता पात्रहरू हुन् जसले म डाक्टर भएकोमा छाती चौडा बनाएको थिए ।” (पृष्ट २६९)

पछि वहाँहरू आफै बिरामी हुँदा पनि त्यस्तै पर्छ, “त्यस बेला हाम्रो अवस्था बडो दयनीय थियो । हामी दुई पति-पत्नी एक-एक वटा अस्पतालमा थियौँ, एक जना आइसियुमा अर्को डायलाईसिसमा ।” (पृष्ट २८३)

सात दशकको क्रियाशील यात्रा, तीन पात्र र तिनका परिवेशहरू तीन सय पृष्ठमा समेट्नु असम्भव हो र त्यो सबै त्यहाँ खोज्नु मूर्खता । जे जति समेटिएको छ, त्यसका लागि सर्जक धन्यवादका पात्र भएका छन् । जुन छुट्न नहुने अंश छुटेको छ- त्यसले अर्को कृतिको खाँचो देखाएको छ ।

आफूले सक्रिय जीवन बिताइरहँदा डा. राईले विभिन्न आरोपहरूको सामना गर्नु पर्‍यो । यो जीवनीमार्फत उहाँले खेप्नु परेका ती आरोपहरूको सम्बोधन गर्ने, स्पष्ट पार्ने अवसर थियो । यी आरोपहरू मध्ये केही सम्झन्छु: जातीय विभेदलाई बढवा दिएको आरोप । शिविरमा रहेका शरणार्थीहरू उनको जातीयताको खोलमा बन्धक भएको आरोप। आन्दोलनहरूमा कहिल्यै सक्रिय संलग्नता नजनाएको र आन्दोलनलाई मध्यरात्रि चिठ्ठीहरूमा सीमित राखेको आरोप। र अरू त्यस्तै आरोपहरू ! दुर्भाग्यवश, यस्ता कैयौँ आरोपहरू जीवित छन् । यो पुस्तकले ती आरोपहरू भ्रामक थिए वा नियोजित, तिनीहरूको प्रभावकारी रूपमा सम्बोधन गर्न सफल भएको पाइँदैन ।

डा. साहबबाट एकतर्फी स्पष्टीकरण आएका छन्, अर्को पक्षको धारणा चित्रण गरेको पाइँदैन । जीवनीहरूमा त्रिकोणीय तथ्यहरू प्रमाणित (ट्याङ्गुलेसन) गर्न र सत्य तथ्य विषयको व्यापकीकरण, सही चित्रण सिर्जना गर्न मूल पात्रसँग सम्बन्धित, मित्र, आफन्तजन, जानकार, चिनारुसँग अन्तर्वार्ता लिनु, कागजातहरू र व्यक्तिगत लेखोटहरू भिडाउनु, क्रस-रेफरेन्सिङ समावेश गर्नु जरुरी हुन्छ । यो विधिले जीवनीको विश्वसनीयता र गहिराइ सुनिश्चित गर्न मद्दत पुग्दछ ।

संक्षेपमा भन्नु पर्दा, यो जीवनी डा. भम्पा राईको लचिलोपन, उहाँले आफ्नो पेशामार्फत गरेको अतुलनीय समाज सेवा, मानव स्वस्थ क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदान, उहाँको बेजोड चिकित्सकीय क्षमता र उहाँले अङ्गीकार गरेको सदाबहार मानवताको अनमोल प्रमाण हो ।

लेखकले अवलम्बन गरेको शैलीले कथामा छुट्टै मिठास थपेको छ । जीवनी साहित्यको क्षेत्रमा एक उल्लेखनीय ग्रन्थ थपिएको छ। यो पुस्तकका सकारात्मक पक्षहरू स्पष्टता, संक्षिप्तता, र लेखकको आकर्षक कथा लेखन शैलीको छनोट हुन्। यो एक प्रशंसनीय साहित्यिक कार्य र कृति हो जसले अदम्य मानव भावनालाई जन्माउँछ र यसलाई पढ्ने र सुन्ने सबैलाई प्रेरणा दिन्छ; सतर्क बनाउँछ ।

डा. साहब प्रति हार्दिक श्रद्धाञ्जली ।

लेखक श्री वीरेन मगरलाई हार्दिक धन्यवाद र आगामी कार्यको निम्ति शुभकामना ।

https://bhutaneseliterature.com/bhampa-from-the-basecamp/


PLUS यो पनि

https://bhutaneseliterature.com/bhampa-one-stance-many-questions-release/

प्रवासका नेपालीभाषीको अभिभाकत्व ग्रहणको अनुरोध गर्दै त्रिविविलाई ज्ञापन–पत्र

 


साहित्यपोस्ट माघ २९, सोमवार १४:५३

काठमाडौँ । नेपालबाहिर रहेका नेपालीभाषीको शैक्षिक अभिभावकत्व ग्रहणको अनुरोध गर्दै त्रिविविलाई ज्ञापन–पत्र बुझाइएको छ । ९ फेब्रुवरी, शुक्रबार नेपालबाहिर बस्ने नेपालीभाषीहरुको शैक्षिक अभिभावकत्व ग्रहण गर्दै अध्ययन–अध्यापनको वातावरण निर्माण गर्न अनुरोध गर्दै त्रिविवि, नेपाली विभागलाई ज्ञापन–पत्र बुझाइएको हो ।

साहित्य परिषद् भुटानका तर्फबाट परिषद्का पूर्वअध्यक्ष भक्त घिमिरे र डा. गोविन्द रिजालले त्रिविवि नेपाली विभाग प्रमुख प्रा.डा. कृष्णप्रसाद न्यौपानेसमक्ष ज्ञापन पत्र बुझाएका हुन् ।

भुटानबाट निर्वासित भई हाल तेस्रो मुलुुकमा पुनर्वास भएका नेपालीभाषी विद्यार्थीहरुको भाषिक शैक्षिक उन्नतिका लागि विशेष पाठ्यक्रम तथा प्राविधिक सुविधा मिलाइदिन पत्रमा अनुरोध गरिएको छ । परिषद्का पूर्वाध्यक्ष घिमिरे भन्छन्, ‘अंग्रेजी अध्ययनका लागि अक्स्फोर्ड, क्याम्ब्रिज भनेजस्तै भौगोलिक सीमाबाहिर बस्ने नेपालीहरुका लागि त्रिविवि नै हो । तसर्थ, यो दृष्टिको भूमिका त्रिविविले नै खेल्नु पर्छ ।’

त्रिविवि, नेपाली विभाग प्रमुख न्यौपानेबाट सकरात्मक आश्वासन पाएको घिमिरेले साहित्यपोस्टसँगको कुराकानीमा बताएका छन् । नेपालीभाषीहरु विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरुको अभिभावकत्व ग्रहण त्रिविविले लिनुपर्ने उनको तर्क छ ।

‘हामी (भुटानीहरु) ले अनौपचारिक रुपमा नेपाली भाषाको प्रयोग गरे पनि औपचारिक शिक्षा लिन पाएका हुँदैन ।’, घिमिरे भन्छन्, ‘अर्कोतर्फ, नेपाली भाषाको विश्वव्यापीकरणको आवाज उठाइरहेको अवस्थामा भौगोलिक सीमा बाहिर रहेका नेपालीभाषीलाई शिक्षाको पहुँचमा ल्याउनु झनै आवश्यक हुन्छ । यसका लागि नेपालबाहिर रहेरै नेपाली भाषाको औपचारिक अध्ययन तथा अध्यापन गर्ने वातावरण त्रिविविले तयार गरोस् भनी ज्ञापन–पत्र बुझाएका हौँ ।’

प्रा.डा. लक्ष्मणप्रसाद गौतम, उपप्रध्यापक महेश पौड्याल, नारायण गड्तौलालगायतको संयोजनका ज्ञापन–पत्र बुझाइएको थियो । ज्ञापन पत्रमा माग गरिएको विषय समसामयिक र दीर्घकालिक रहेको उहाँहरूको मत रहेको छ ।

https://sahityapost.com/literature-news/136508

Sunday, December 24, 2023

दन्किँदो भूटान


                                           दन्किँदो भूटान





.....








उग्र असहमतिको आवाज: “दन्किँदो भूटान”मा देवीभक्त लामीटारेको विरासतको अनावरण

770
0

गोविन्द रिजाल

स्वर्गीय देवीभक्त लामीटारेको “दन्किँदो भूटान”को चौथो संस्करण प्रकाशन भएको छ । यो भोटे, भोटे सत्ता र सामन्ती भोटे सरकारलाई गालीको भाषामा पाठ सिकाइएको दस्ताबेज भन्ने लाग्यो मलाई ।

भूटान मिडिया सोसाइटीका विद्यापति मिश्रको प्रकाशनमा सहयोग पहल कदम, र पुस्तकको पुनर् संरचना सहित परिमार्जन एवम् सम्पादनको पहाड पन्छाउने जिम्मेवारी विनोद ढुङ्गेलले निर्वाह गरी यो पुस्तक वर्तमान रूपमा आइ पुगेको छ ।

पुरानो पुस्ताका सकारात्मक कामलाई नयाँ पुस्ताले संरक्षण दिनु पर्छ भन्ने सोचलाई कार्यान्वयन गर्दै मिश्र-ढुङ्गेल द्वयले यो १९७० मा पहिलो पटक लेखक लामीटारेले नै प्रकाशित गरेको “दन्किँदो भूटान”- जुन विगत पाँच दशकदेखि अहिलेसम्म पनि भूटानमा प्रतिबन्धित छ- को चौथो संस्करण प्रकाशन गरेका हुन् ।

भूटानभित्र यो पुस्तक पाँच दशकदेखि प्रतिबन्धित छ।  प्रतिबन्धित न होस् पनि किन- सत्ताधारीले सही नसक्ने गालीहरू प्रत्येक वाक्यमा छन् । भाषामा जति हदको गाली छ त्यति नै गहिराइका बिचार र दर्शनहरू छन् । भूटानको चिराङमा जन्मेका, यौवन कालको सुरुवातसँगै निर्वासित लामीटारेले निर्वासनमै पढाइलाई निरन्तरता दिए, जहाँ बसेर अनवरत रूपमा भूटानी निरङ्कुश राज्य सत्ता विरुद्ध कलम युद्ध कायम राखे – उनको अन्तिम साससम्मै । उनको त्यही अभियानको एउटा फल हो, “दन्किँदो भूटान”।

परिमार्जित चौथो संस्करणमा प्रकाशनका रूपमा लामीटारेका ताजा विचार र दृष्टिकोणहरू समेत समेटिएका छन् ।

भूटानी प्रजाराज आन्दोलनकै प्रणेता श्री देवीभक्त लामीटारे भूटानमा प्रजातन्त्र बहालीका लागि चिन्तनशील तथा क्रियाशील ‘एक्लो वृहस्पति’ जसको ‘पेपर वार’ का सामाग्रीहरू यो पुस्तकका प्रमुख भाग हुन ।

विद्यापति मिश्र, विनोद ढुङ्गेलले भूटानी इतिहासका सर्वाधिक चर्चा गरिने शहीद महासुर क्षेत्री र उनको कथा खोज्दै जाँदा भेटिएका लामीटारे र उनका कृतिहरू हुँदै यो पुस्तकसम्म आइ पुगेका छन् । लामीटारेलाई भेट गर्दासम्म ‘स्नो बलिङ’ अनुसन्धान विधि र पछि जानकारी सङ्कलन गर्न अनुसन्धानको प्रारम्भिक माध्यम मानिने अन्तर्वार्ता विधि प्रयोग गरेको पाइयो । अन्य व्यक्तिसँग पनि यस पुस्तकको तयारीका क्रममा अन्तर्वार्ता गरिएको भनिएको छ । पुराना संस्करणमा प्रयोग भएका हिज्जेहरूसमेत जस्ताको तस्तै कायम गरी ऐतिहासिकतालाई संरक्षण गर्ने प्रयास गरेका छन् ।

शहीद महासुर क्षेत्री, देवीभक्त लामीटारेका समयका छाब्डा नाम्ग्यल र जिग्मे पाल्देन दोर्जीका जीवन र हत्याका कथाहरू समावेश भएकाले यो पुस्तकलाई ऐतिहासिक दस्ताबेज बनाएको छ ।

प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको बारेमा लामीटारे लेख्छन् “यो उही निर्दयी एवम् नीच नरपिशाच राक्षसहृदयी भोटे प्रधानमन्त्री थियो, जसले मानवाधिकारको पक्षधर भूटानी काङ्ग्रेसका नेता महासुर क्षत्रीलाई जिउँदै हात र खुट्टामा ढुङ्गाहरू बाँधी सुनकोश नदीमा फ्याँकी दिएको हो ।” (पृ. १७) । “अन्त्यमा पापको गाग्री भरियो । फलःस्वरूप सन् १९६४ मा यौटा देशभक्त वीर भोटे युवकले कुकुर मारे झैं यस पापीलाई मारिदियो ।” (पृ. १७)

“जिग्मे पाल्देन दोर्जी मरेपछि उसको भाइ लेण्डुप दोर्जी प्रधानमन्त्री बन्यो । यो फटाहा–फटाहा किसिमको मानिस थियो । कुरा भने प्रजाराजको गर्दथ्यो तर आफैँ राजा बन्ने सुरमा थियो ।” (पृ. १७)

“प्रजाराज आएन भने तानाशाहहरूलाई भोलिका जनताले निमोठेर फाल्नेछन् ।”

“भूटान र सिक्किमलाई प्रकृतिले यौटै अनुहारमा बनाएको। भूटानको अब स्वतन्त्रता नै गुम्यो भने पनि राजतन्त्रकै कारणले गुम्छ” भन्ने लेखेका छन् ।

दुइटा देशको एउटै महासङ्घ बनाउँदा उचित हुने थियो भन्ने ठानेका छन् जुन हिमालयन फेडेरेसन को विषयले प्रभावित (हिमाली राज्यहरूको सङ्घको अवधारणा १९४७ देखि धेरै सन्दर्भहरूमा देखा परेका) भएको देखिन्छ ।

बहुपत्नी प्रचलन र बाल यौन हिंसाका विषयमा खरो विरोध गरेर लामीटारेले ‘भूटानमा आइमाईहरूको दुर्दशा’ र ‘भूटानमा आइमाईहरूको दुर्गति’ जनाएका छन् । शरणार्थीको घर फर्किन पाउने अधिकार,शरणार्थीहरूलाई क्षतिपूर्ति मागेका छन् ।

यो पुस्तक एक कृति मात्र नभएर भूटानी ‘प्रजाराज’का लागि थालिएको आन्दोलनको प्रस्थान विन्दु हो ।

विनोद ढुङ्गेल, सम्पादक

नेपालमा विष्णु भगवानलाई बेदखल गरी दिने त्यही गोरखे जातिका मान्छे भूटानमा पनि छन् । समुदाय त हाम्रो पनि त्यही हो, हामी त्यही समुदायका मान्छे हौँ । लामिटारे नेपाली भाषा भन्दैनन्, गोर्खाली भाषा भन्छन् । उनी लेख्छन्-“ श्री रामप्रसाद अभिलाषी अर्थशास्त्रीजीले यस किताबको गोरखाली अनुवाद गर्ने कृपा गर्नुभयो, वहाँका परिश्रमले गर्दा नै यो ‘दन्किँदो भूटान’ पुस्तक गोरखाली पाठकहरूका हातमा पुग्दै छ ।”

अझ थप्छन् –

“मान्छे तथा पशुमा भिन्नता पनि परिवर्तनलाई लिएर भएको हो । पशु यथास्थिति–प्रिय हुन्छ । पशु परिवर्तनका लागि विरोध गर्दैन तर मानव समाज परिवर्तन ल्याउनका लागि अति भयङ्कर संग्राम गर्दैछ । पशु यथास्थितिमा नै रहन्छ । अतः पशु सदा नै पशु रहन्छ ।“

“यो एकदमै बकम्फुसे लठुवाहरूको कल्पना हो कि भूटानका गोरखालीहरू सबै नेपालबाट गएर भूटानमा बसेका हुन् । अति थोरै संख्यामा मात्र नेपाली गोरखाहरू भूटानमा गई बसेका हुन्, बाँकी गोरखालीहरूको ठूलो संख्या पहिलेदेखि नै भूटानमा मूलरूपले बसोबास गर्दथ्यो । गोरखालीहरूको राजनैतिक अधिकारलाई दबाउनका लागि नै भोटे राजतन्त्र एवं त्यसका हिमायती चम्चाहरूले अर्थात् जीहजुरियाहरूले भूटानी गोरखालीहरूका लागि नेपाली शब्दको व्यापक रूपमा प्रयोग गरेका हुन् । अनेकौं पल्ट देखिएको छ कि नेपालदेखि बाहिर गोखालीहरूलाई नेपाली शब्दले सम्बोधन गर्नेको अर्थ हो – उनीहरूको राजनैतिक वर्चश्वलाई समाप्त गर्ने तयारी । नेपालदेखि बाहिर नेपाली शब्दको प्रयोग गोरखालीहरूले नगरे उचित हुने थियो ।”

“राजाका महलमा कुनै पनि पुण्यात्माको जन्म हुँदैन । पुण्यात्माको जन्म निश्चय नै गरीबका घरमा हुन्छ किनकी राजाका घरमा जन्मिनुको अर्थ हो– गरीबहरूका पसिनाले कमाएको धन तथा वैभवको बिना परिश्रमले नै चैन गर्नु । अपराध शोषण गर्न नसक्ने मानिसले आफूलाई राजा र महाराजा घोषित गर्न सक्दैन ।“ (पृ १५)

“यदि भूटान र नेपालमा ठूला–ठालु मानिएका वर्गलाई दबाइएन भने यी देशहरूमा कम्युनिज्यमलाई रोक्न पनि सकिँदैन ।” (पृ. १८)

“भोटे राजतन्त्रले सबै गोरखा जातिहरूमाथि जुलुम गरेको छ ।” (पृ. ३५)

भूटानको नव निर्माण यूरोपीय ढङ्ले हुनेछ जसमा धर्म निरपेक्ष प्रजातान्त्रिक राज्य व्यवस्थाको प्रतिष्ठा हुनुछ । (पृ. ३७)

“आजसम्म भोटे जातीय भूटान सरकारले गैरभोटे बुद्धिजीवीलाई देशमा राम्ररी जिउन दिएको छैन।“ (पृ. ४४)

“राजाले जनतासँग सिधा सम्बन्ध किन राख्दैन ? परम्पराबाट बाबा बराजुले लुटेका दौलतले मोज गर्नु यही राजा र त्यसका पुच्छरे वर्गको देशभक्ति हो।” (पृ. ५१)

सिक्किमको भविष्य अनिश्चयात्मक भइरहेको छ भन्ने छ कारणहरू मध्य एक कारण उनी लेख्छन्, “सिक्किमे गोरखाहरूले आफूलाई नेपाली भनाउँदै गरेको मूर्खतापूर्ण ”

भूटानमा आइमाईहरूको दुर्दशामा उनी लेख्छन्, “लोग्नेमान्छे समाजले आइमाई समाजलाई असाध्यै दबाएको छ एवं जुलुम गरेको छ ।” (पृ. ७७)

“भूटानमा दुष्ट भोटे अफिसरहरूले निर्दोष किसानहरूलाई जबरजस्ती लात्ताले हान्दै बाटो खनाउँदैछन् । सुकुम्बासी बनाएर बेठबेगार लिँदैछन् । किसानहरूलाई जबरजस्ती मजदुर बनाइएको छ । अनि बाटो खनाउनका लागि विदेशबाट आएको सहयोग पदाधिकारीहरूका भूँडीमा जाँदैछ । यी सबै अत्याचार र अपमानलाई जनताले भोगिरहेका छन् ।” (पृ. ६९)

“सामन्तवादी भोटे राजतन्त्रले गैरभोटे जनताका धर्म र संस्कृतिको भयङ्कर अपमान गर्दै आएको छ ।” (पृ. ७१)

यस्ता गालीहरू त कति छन् कति । लामीटारेका लेखहरूमा गालीले बरिएका छन् ।

पुस्तकमा केही परिवर्तन हुन नहुने वाक्यहरू जानी जानी प्रकाशकीय र सम्पादकीयमा परिवर्तन गरिएका छन्- स्पष्टता दिन आवश्यक हुन सक्छ- जुन नभएको भए सामग्रीको मौलिकतामा टेवा थपिन्थ्यो । राजनैतिक चेतना अब्बल मानिएका देवीभक्त लामीटारेले भोटे र गोर्खा प्रयोग गरेका छन् ती शब्दहरूलाई ड्रुकपा वा नेपाली भाषी भूटानी वा नेपाली भूटानी भन्नु – लेखकको मुख्य राजनैतिक बिचारको अपव्याख्या हुनसक्ने ठान्छु म ।

लामीटारेका पिडा दायी जीवन यात्रा प्रकाशकीय र सम्पादकीयमा बढो मार्मिक तवरले प्रस्तुत गरेका छन्- हृदय विदारक छ उनको अन्त्य ।

लामीटारेको विचार र योगदानलाई जीवन्त राख्ने अभियानमा सफल भएको छ यो पुस्तक । यो लुप्त भएको कृतिलाई पाठक माझ ल्याएर सर्वसुलभ बनाउन सफल विद्यापति मिश्र, विनोद ढुङ्गेल र सम्पूर्ण टिमलाई बधाई तथा धन्यवाद ।

https://bhutaneseliterature.com/unveiling-the-legacy-of-devi-bhakta-lamitare-in-dankindo-bhutan/

......

भुटानमा पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’को लोकार्पण


काठमाडौं । विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित भएको पुस्तक ‘दन्किँदो भूटान’ आज काठमाडौंमा लोकार्पण भएको छ । भुटानका पहिला प्रजातान्त्रिक आन्दोलनका योद्धा भनेर चिनिने देवीभक्त लामिटारे जसले भारतमा बसेर बीपी कोइरालासँग पनि संगत गरेका थिए उनको पुस्तक सार्वजनिक भएको हो ।

सन् १९७० मा पहिलोपटक छापिएको किताबको दोस्रो र तेस्रो संस्करण क्रमशः १९७६ र १९८५ मा प्रकाशन भएका थिए । पछिल्लो संस्करण यो वर्ष अमेरिकाको नर्थ क्यारोलाइनमामा रहेको भूटान मिडिया सोसाइटीले प्रकाशन गरेको हो । नयाँ संस्करणका सम्पादक विनोद ढुङ्गेल छन् ।

सन् २०२२ मा मृत्यु भएका लेखकसँग भारतमा गएर गरेको पटकपटकको अध्ययन, अन्तर्वाता र पारिवारिक स्रोतसँगको समन्वयमा नयाँ सूचनासहित पुस्तक सार्वजनिक भएको सम्पादक ढुङ्गेलले बताए । पुस्तक लोकार्पण तथा चर्चा कार्यक्रममा भूटानी मुलका प्राध्यापक गोविन्द रिजाल, अमेरिकामा पुनर्वाश भएका भुटानी नागरिक शेखर कोइराला लागयतले बोलेका थिए ।

भुटानी वक्ताहरुले भूटानमा भएको प्रजातान्त्रिक आन्दोलनको एक प्रमुख र पहिलो पुस्तकाकार दस्तावेज नै यहि भएको भन्दै किताबको तारिफ गरे । खोजी प्रकाशन गृहले नेपालमा वितरण गर्ने २८० पेजको पुस्तकको नेपाली मुल्य ७०० रुपैयाँ रहेको छ ।


https://www.nepalpress.com/2023/12/21/409723/
.....
दन्किँदो भूटान’ पुस्तकको कभरमा बन्दुक तेर्स्याएर राजाले ‘मोस्ट वाण्टेड’ भनेका थिए' देवीभक्त लामीटारे
https://shilapatra.com/detail/127076

.......

पत्रकार ढुङ्गेलको सम्पादकत्वमा ‘दन्किँदो भूटान’ बजारमा

http://पत्रकार विनोद ढुङ्गेलको सम्पादकत्वमा दन्किँदो भूटानको नामक पुस्तकको नयाँ संस्करण बजारमा आएको छ। यो देवीभक्त लामीटारेको भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो पुस्तक हो।

पाँच दशक देखि प्रतिबन्धित उक्त पुस्तकलाई ढुङ्गेलको सम्पादकत्वमा बिहीबार देखि बजारमा ल्याइएको हो। सन् १९७० पहिलो संस्करण प्रकाशित उक्त पुस्तकको यो चौथो संस्करण हो।

भूटान नाम कसरी रहन गयो देखि त्यहाँ भएका आर्थिक, सामाजिक, राजनीतिक आन्दोलन र परिवर्तनका विषयमा पुस्तकमा उल्लेख छ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिकामा नेपाली पठाएको आरोपमा राज्य सञ्चालनका उच्च अधिकारीहरू प्रहरी हिरासतमा रहेका बेला उक्त पुस्तकले भूटानका विषयमा जान्न र बुझ्न चाहनेका लागि पुस्तक निकै सहयोगी बन्नेछ।

भूटानको प्रजातान्त्रिक आन्दोलनको प्रस्थान बिन्दुका रूपमा उक्त पुस्तक रहेको बताउँदै सम्पादक ढुङ्गेलले भूटानका विषयमा जान्न रुचि राख्नेहरूका लागि पुस्तक सहयोगी बन्ने बताए। कार्यक्रममा सहभागीहरूले पुस्तकमा समेटिएका विभिन्न पक्षहरूका विषयमा चर्चा गरेका थिए।



https://nagariknews.nagariknetwork.com/arts/1384011-1703164404.html
......

भूटानी प्रजातान्त्रिक इतिहासको पुनर्जागरण

लामीटारेले भूटानी राज्यसत्ताले बौद्ध धर्मको नाममा लुट र हिंसा मच्चाएको प्रसङ्गलाई निडरताका साथ उठाएका छन् । अन्धविश्वास र संकीर्ण परम्परावादी सोचका कारणले भूटानी समाज पिछडिएको तथा भूटानी जनताको विकास र समृद्धिको प्रमुख बाधक नै यथास्थितिवादी सामन्ती राजतन्त्र रहेको निश्कर्ष निकालेका छन् ।


भूटानी प्रजातान्त्रिक इतिहासको पुनर्जागरण

यो हप्ता नेपाली साहित्यको बजारमा एउटा फरक बान्कीको किताब सार्वजनिक भयो-‘दन्किँदो भूटान’ । सन् १९७० मा एक जना भूटानी नागरिक देवीभक्त लामीटारेले लेखेको ३५० पृष्ठभन्दा मोटो त्यो किताब विमोचन भनिएन, न त लोकार्पण नै भनियो । अलि फरक प्रकारले पुस्तक सार्वजनिक गर्नेहरूले अन्तरक्रिया भनेर कार्यक्रम गर्थे । तर, त्यस दिन त्यसो पनि भनिएन ।

न उदघोषण भयो, न आयोजक थिए, न त कुनै खास अतिथि । उपस्थित केही पत्रकार, लेखक र वुद्धिजीवीले पुस्तक उठाए, विमोचन भयो । लेखकको मृत्यु भइसकेको र प्रकाशक संस्थाका कोही पनि नभएको अवस्थामा सम्पादक विनोद ढुङ्गेलले अनौपचारिक रूपमा किताबको बारेमा बताए । ब्यानर छाप्ने र टाँग्ने काम भएन, बरु डिजिटल बोर्डमा देखियो– ‘हस्तान्तरण तथा चर्चा’। उपस्थितजनको सादगी भेटघाटमार्फत पाठकसमक्ष कृति हस्तान्तरण गर्ने र हस्तान्तरित कृतिबारे आपसी चर्चा गर्ने काम भयो ।

कार्यक्रममा सम्पादक ढुङ्गेलबाहेक नेपालमा भएका भूटानी विद्वान डा. गोविन्द रिजालले भूटानी सत्ताबारे बोले । अमेरिकाबाट आएका भूटानी साहित्यकार शेखर कोइरालाले तेस्रो देश पुनर्वासमा गएका भूटानीहरूको सोचाइबारे मन खोले । भूटानी शरणार्थीबारे जानकार लेखक डा. तारालाल श्रेष्ठले किताबको अनुपमताबारे दिल खोले । बाँकी उपस्थितमध्ये केहीले सम्पादकको मेहनतको प्रशंसामा बोले । अनौपचारिक कार्यक्रम सादगीका साथ सम्पन्न भयो ।

प्रकाशक भूटान मिडिया सोसाइटीको तर्फबाट विद्यापति मिश्रले प्रकाशकीयमा उल्लेख गरेअनुसार किताबको अवधारणाको वीजारोपणदेखि नै सम्पादक ढुङ्गेलको सक्रिय भूमिका देखिन्छ । ‘अरू कसैले कहिल्यै चासो नदेखाएको अवस्थामा पनि भूटानी नागरिकको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज दिएको सावित हुने’ काम गरेको प्रकाशकीय दाबीलाई अहिलेको भूटानी शरणार्थीको अवस्थाले पुष्टि गरेको देखिन्छ ।

भूटानमा ‘प्रजाराज’ को वकालत

भूटानी राजतन्त्रले १९५१ मार्चमा महासुर बस्नेत क्षेत्रीको क्रूरतापूर्वक हत्या गरेपछि उद्वेलित किशोर देवीभक्त लामीटारेले सन् १९७० मा पहिलो पटक सार्वजनिक गरेको र त्यसपछि दुई पटक छापिए पनि हाल अनुपलब्ध रहेको किताबलाई प्रकाशकले ‘भूटानी प्रजातान्त्रिक आन्दोलनको पहिलो प्रकाशन’ भनेको छ । त्यसअलावा यो भूटानमा प्रतिबन्धित रहेको कुरा पनि किताबको आवरणमै उल्लेख छ ।

भूटानभित्र राजतन्त्रको दमनले उग्र रूप लिँदै गर्दा र सबैको बोली बन्द हुँदै गर्दा लामीटारेले आगो ओकल्ने साहित्य सिर्जना गरेको तथा त्यहाँको प्रजातान्त्रिक आवाजलाई भारतमा बसेर प्रतिनिधित्व गरेको देखिन्छ । भूटान स्टेट कांग्रेसका नेताका रुपमा राजनीतिक परिचय भए पनि उनी दलगत चिन्तनभन्दा माथि र स्पष्ट खुला समाजका पक्षधर देखिन्छन् र भूटानमा ‘प्रजाराज’ को वकालत गरेका छन् ।

लामीटारेले राजनीतिक सञ्चारलाई व्यक्तिगत भेटघाट र आम सञ्चारका माध्यमबाट सामान्य रूपमा अगाडि बढाउनेबाहेक प्रचारका अरू कुनै संयन्त्र बनाएको देखिँदैन । आमसञ्चारप्रति भने ठूलो विश्वास देखिन्छ । भलै आमसञ्चारका माध्यमहरूले भने उनलाई धेरै चासो दिएको पाइँदैन । शायद शक्तिका आधारमा उनी कमजोर देखिएकोले सञ्चारजगतले उनलाई अन्देखा गरेको हुनुपर्छ । त्यसैले नै भारतका सञ्चारमाध्यमको प्राथमिकतामा उनी नपरेको, नेपाली सञ्चारमाध्यमलाई जानकारी नभएको बुझ्न कठिन छैन । भूटानका सञ्चारमाध्यमले त निषेध गर्ने नै भए ।

भूटानी शरणार्थीको तेस्रो देश पुनर्वासपछि भूटानी प्रजातान्त्रिक आन्दोलन थप सेलाएकाले उनी र उनको पार्टी मात्र हैन, अरू नेता र पार्टीहरू पनि बेखबर भए । तर, भूटानी शरणार्थी मिडियाका लागि भने लामीटारे चासोका पात्र बनिरहेका देखिन्छन् । शायद त्यसैको परिणाम हो– ‘दन्किँदो भूटान’को प्रकाशन भूटानी शरणार्थी पत्रकारहरूको संस्था भूटान मिडिया सोसाइटीले गर्नु । यद्यपि यसको सम्पूर्ण आर्थिक चाँजोपाँजो विद्यापति मिश्रले गरेको जानकारी सम्पादकले दिएका छन् ।

मूलप्रवाह भनिने मिडियाको आँखामा नपरेको वा कम परेको भए पनि एक्लै आफ्नै ढंगको राजनीतिक सञ्चारमा सक्रिय रहेकै अवस्थामा सन् २०२२ को शुरुमा उनको निधन भएको थियो । सन् २०२३ को उनको वार्षिकीको अवसर पारेर किताब निकालेको जस्तो देखिए पनि निकै महिना ढिलो भएको देखिन्छ । उनले सञ्चारका माध्यमबाट राजनीतिक चिन्तनलाई स्पष्टरूपमा प्रवाह गर्ने गरी अपनाएको उपाय सबै राजनीतिक कार्यकर्ताका लागि प्रेरक हुनसक्छ ।

“परम्परागत सञ्चार सामग्रीका रूपमा हुलाकमार्फत राजनीतिक सामग्री बाँड्ने र नयाँ माध्यमका रूपमा फैलिँदै गएको इन्टरनेटमार्फत संसारसामु विचारप्रवाह गर्ने उनको सोच आफैँमा भूटानमा प्रजातन्त्र बहालीका कुरा गर्ने सबैका लागि उदाहरणीय मात्र हैन, अनुकरणीय पनि हो”, सम्पादक ढुङ्गेलको यो मूल्याङ्कन आफैँमा स्पष्ट छ । किताबमा ढुङ्गेलले लेखेको ५० पृष्ठ लामो सम्पादकीय परिचय एक गहन अनुसन्धानात्मक सामग्रीको रूपमा समेटिएको छ । यसको अध्ययन मात्र पनि समग्र किताबको जानकारी प्राप्त गर्नका लागि पर्याप्त छ ।

‘रेड स्वामी’को स्पष्ट दृष्टि

आक्रामक भएका जानकारी तथा विचारमूलक सामग्रीको संकलनजस्तो देखिने ‘दन्किँदो भूटान’ मा लेखकले शुरुमा मूलतः भूटानको भूगोल र इतिहासलाई केलाएका छन् । त्यसपछि विचारको शृंखला पेश गरेका गरेका छन् । उनी झट्ट हेर्दा हिंसाको प्रयोगका पक्षधर होइन, भूटानमा संवैधानिक राजतन्त्रको पक्षधर जस्ता लाग्छन् । दलित र महिलाको पक्षमा छन् । यसो हुँदाहुँदै पनि राजतन्त्र र हतियारको प्रयोगका मामलामा उनका विचार सापेक्षिक छन् ।

संवैधानिक सीमाभित्र नबस्ने हो भने भूटानी राजतन्त्र नै नरहने ठान्छन् । त्यसरी हेर्दा उनी गणतन्त्रवादी देखिन्छन् । “प्राचीन समयमा राजाले केवल आफ्ना स्वार्थका लागि आफूलाई सूर्यवंशी र चन्द्रवंशी हौं भन्ने गफ ठोक्तथे । त्यस्ता बोक्रे गफको लामो लेखाजोखा प्राचीन पौराणिक ग्रन्थहरूमा पाइन्छ तर वर्तमान युगले अब राजालाई भगवान् मान्न सक्दैन तर यौटा शोषकको सरदारचाहिँ मान्नेछ”, उनको कठोर भाषा छ ।

भाषा त प्रायः कठोर नै छ । हिंसाको राजनीति स्वीकार नगरे पनि अन्तिम उपायका रूपमा हिंसालाई अंगीकार गर्नुपर्नसक्ने उनको दृष्टिकोण छ ।

भूटानमा हिंसाको राजनीति नआउनका लागि जनता नै सर्वोच्च शक्ति हुनुपर्ने र ‘प्रजाराज आएन भने प्रजातन्त्रका दुश्मनहरूप्रति आफ्ना हातमा भएका हतियारको प्रयोग जनताले गर्ने’ उनी देख्छन् । भारतीय कम्युनिस्टहरूले ‘रेड स्वामी’ नाम दिएका उनी कम्युनिस्ट होइनन् बरू ‘ठूला–ठालु मानिएका वर्गलाई दबाइएन भने’ कम्युनिज्यमलाई रोक्न पनि नसकिने उनको प्रष्ट मत छ ।

सन् १९९० को दशकमा नेपाली मूलका नागरिकलाई लखेटेपछि औपचारिक रूपमा भूटानी शरणार्थी समस्या देखापरेको हो । तर, त्यसो हुने कुरा उनले त्योभन्दा दुई दशकअगाडि नै देखेका रहेछन् । ‘अब भूटानी गोरखा जनतालाई अल्पमतमा ल्याउनका लागि भोटे राजतन्त्रले सिधासाधा जनतालाई गुप्त रूपमा डराएर नेपाल भगाउन थालेको छ, अनि उनीहरूका जमिनमा भोटेहरूलाई आवाद गर्दै छ’, उनको भनाइ छ ।

धार्मिक र जातीय विभेद मात्र नभएर वर्गीय विभेदको कुरा पनि उठाएका उनले शासक र शासितबीचको अन्तरद्वन्द्वलाई पनि केलाएका छन् । क्षेत्रीय विभेदका सन्दर्भमा पनि उनले नेपालको उदाहरण उतिबेलै दिएका रहेछन् । नेपालको दक्षिणमा धेरै रहेका मधेसीलाई दबाइएको तुलनात्मक उदाहरण पेश गर्दै भूटानको पनि दक्षिणी क्षेत्रमा बस्ने गोरखाको अवस्थालाई चित्रण गरेका छन् । करीब ५० वर्षअघि नै ‘नेपाली भाषाको गुलामीबाट मुक्त हुनका लागि’ मधेसीले संघर्ष गर्ने भविष्यवाणी गरेको कुरा निकै रोचक र आश्चर्यजनक छ ।

लामीटारेले भूटानी राज्यसत्ताले बौद्ध धर्मको नाममा लुट र हिंसा मच्चाएको प्रसङ्गलाई निडरताका साथ उठाएका छन् । अन्धविश्वास र संकीर्ण परम्परावादी सोचका कारणले भूटानी समाज पिछडिएको र भूटानी जनताको विकास र समृद्धिको प्रमुख बाधक नै यथास्थितिवादी सामन्ती राजतन्त्र रहेको निश्कर्ष निकालेका छन् । दक्षिण एसियाका नेपाललगायतका मुलुकमा राजतन्त्रको पतन भइसकेको तथ्यलाई लामीटारेले भूटानी जनताका माझ आशा जागृत गर्ने दृष्टान्तका रूपमा समावेश गरेका छन् ।

भूटानी राजतन्त्रको कटु आलोचना गरेका लामीटारेले यौनदेखि धूमपानसम्मका गतिविधि समेटिएको पुस्तकमा प्रजातन्त्र, धर्मनिरपेक्षता, समानतामूलक समाज र जनतामा सार्वभौमसत्ता निहीत हुनुपर्ने कुराको पैरवी गरेका छन् । भूटानी सत्ताको संरक्षकका रूपमा जगजाहेर भारतमा बसेर भूटानी सत्ताकै कटु आलोचना गर्नसक्नु उनको साहसको परिचायक पनि हो । त्यसैले ‘दन्किँदो भूटान’ एक आँटी राजनैतिक एतिहासिक दस्तावेज हो भन्नेमा कुनै द्विविधा छैन ।

एक हिन्दू जोगीको जीवन बिताएका उनी भने राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्ने पक्षका हिमायती भएको कुरा किताबमा ठाउँ–ठाउँमा भेटिन्छ । हजारौं वर्षको इतिहासमा एकपल्ट पनि धर्मले मानिसलाई सुखी बनाउन नसकेको बरु एकापसमा लडाएको ठान्ने उनी कुनै खर्राट क्रान्तिकारीभन्दा कडा भाषामा भन्छन्, “यजमानहरूले पण्डित पुरोहितहरूका खुट्टा धोएर फोहोर जस्तो पानी पिउनुपर्दछ । यस्ता मूर्ख दस्तुरहरूलाई धर्म भन्दै छन् । फोहोरलाग्दा दस्तुर र धर्मको परस्परमा कुनै सम्बन्ध छैन ।”

यसबाहेक भूटानी सत्ता केही मुठ्ठीभर शासकहरूको घूसखोरीको अखडा भएको र जातीय रूपमा एक पक्षीय भएको भन्दै लामीटारेले समानताका पक्षमा डटेका छन् । आजभन्दा ५० वर्षअघिको समाजमा पनि लामीटारेले ‘भूटानबाट क्षेत्री, बाहुन र कामी दमाईंको अन्यायपूर्ण सामाजिक भेदभाव’ समाप्त हुनुपर्ने शंखघोष गरेका छन्, जुन चानचुने कुरा होइन ।

उनले जातीय विभेदको खुलेर प्रतिरोध गरेका छन् र यस्तो विभेदपूर्ण प्रथा कायम राख्ने राजतन्त्रलाई जनताले ‘कन्ट्रोल’ गर्नुपर्ने दृष्टिकोण राखेका छन् । ‘धर्मका ठेकेदारहरूमा ज्ञान र चरित्रबलको अभाव छ’ भन्ने ठोकुवासहितको एउटा खण्डमा उनी भन्छन्, ‘अमेरिकीहरूले जुन चन्द्रमालाई जुत्ताले लत्याएर आए, उसैलाई भगवान् भनी पूजा गरिरहेछन् ।’

त्यसपछि ‘समाज सुधार प्रथम कार्य हो’ शीर्षक खण्डमा ‘राजालाई आफ्नू मानमनिताको मतलब छ, देश बनाउने कामसँग मतलबै छैन’ भन्ने व्याख्या गरेका छन् । यस किताबमा उनले पटक–पटक जनताको स्वतन्त्रता भएन भने शासकले देशको स्वतन्त्रता पनि बचाउन नसक्ने तर्क पेश गरेका छन् । भूटानको अब स्वतन्त्रता नै गुम्यो भने पनि राजतन्त्रकै कारणले गुम्छ भन्ने लामीटारेको जिकिर पनि पुस्तकमा विभिन्न ठाउँमा छ ।

उनले सिक्किम भारतमा विलय हुने दाबा पनि यही दृष्टिकोण आधारमा गरेका थिए । त्यसका लागि ‘सिक्किमको भविष्य अनिश्चयात्मक भइरहेको छ’ शीर्षकमा एउटा खण्ड नै छ । यस खण्डमा उनले एक ठाउँमा ‘भूटान र सिक्किमलाई प्रकृतिले यौटै अनुहारमा बनाएको’ हुनाले दुइटा देशको एउटै महासंघ बनाउँदा उचित हुने बताएका छन् । यो विवादित विचारमा भारत–चीन भू–राजनैतिक स्वार्थहरूको टकराव पाइन्छ । यसबारे सम्पादकीय परिचयमा नेपालको सन्दर्भ पनि जोडिएको छ ।

लामीटारे बहुपत्नी प्रचलन र बाल यौन हिंसाका विषयमा खरो विरोध गरेर महिलाका पक्षमा देखा परेका छन् । जातीय र लैंगिक सन्दर्भहरूमा उनले प्रयोग गरेका शब्दावलीलाई भने तत्कालीन समाजको सामाजिक बहसको सन्दर्भमा ग्रहण गर्नुपर्ने सम्पादकीय स्पष्टोक्ति छ ।

पुस्तक प्रकाशनको पहिलो समयावधिदेखि जीवनका अन्तिम दिनहरूसम्म आइपुग्दा पनि उनका विचार, अडान र दृष्टिकोणमा समानता पाइनु एक स्पष्ट राजनीतिक चरित्र हो । मानव जातिमै उमेर बढ्दै जाँदा पैदा हुने चिन्तनगत पार्थक्य उनमा देखिँदैन । पुरानो सामग्री र पछिल्ला अन्तर्वार्ताहरूको तुलनात्मक अध्ययनबाट चिन्तनमा रहेको अडान स्पष्ट फेला पार्न सकिन्छ । त्यस्तो चिन्तनमा रहेको निरन्तर अडान शरणार्थीको घर फिर्ती अधिकार, भारतको भूमिका, बुद्धधर्मको आडमा भूटानी सत्ताले थोपरेको अधिनायकवादी शासन, धर्म र सामाजिक विभेदप्रतिको आवाज आदिमा देखिन्छ ।

तानाशाहहरूलाई भोलिका जनताले निमोठेर फाल्नेछन् भन्ने लामीटारेको भविष्यवाणी नेपालको सन्दर्भमा सही सावित भएको छ । विगतका घटनाको विश्लेषण गर्ने मात्रै होइन, छिमेकी देशका राजनैतिक घटनाक्रम र इतिहासका सन्दर्भहरूको सापेक्षतामा कतिपय पछि भावी घटनाहरूको सम्भावनासमेत औँल्याउने उनलाई दूरदृष्टि र बौद्धिक क्षमताका व्यक्तिको रुपमा चिन्न सकिन्छ ।

पुस्तक सम्पादनमा नयाँ प्रयोग

भूटानको राजनीति मात्र नभएर भूगोल, इतिहास, समाज र संस्कृतिका पनि कतिपय पाटालाई समेटेर यो किताबमा लामीटारेले नेपाल, भारत र सिक्किमका विभिन्न गम्भीर राजनीतिक परिदृश्यहरूलाई उजागर गरेका छन् र भूटानी परिवेशसँग तिनको तुलनात्मक विश्लेषण पनि गरेका छन् ।

भूटानी राज्यसत्ताले नेपालीभाषी जनता मात्र हैन, समाजको तल्लो तहका अन्य जातिमाथि पनि थोपरेका असमानताका पक्षहरूलाई समेत खोतलेर आम जनताले प्रयोग गर्ने सिधा भाषामा पेश गरेको छ ।

पुस्तकमा उनको अद्यावधिक विचार पनि केही विषयमा आएको पाइन्छ । पुराना लेखाइ र पछिल्ला अन्तरर्वार्ताका बीचमा हेर्दा उनले शरणार्थीलाई घर फर्किन दिने मात्र नभएर अहिलेसम्मको क्षतिको क्षतिपूर्ति पनि दिनुपर्ने माग नयाँ उठाएका छन् । भूटानमा केही वर्षयता देखापरेको राजनीतिक परिवर्तनमा पनि शरणार्थीकै भूमिका रहेको तर्क, भूटानमा परिवर्तनका लागि तेस्रो देश पुनर्वासमा गएका शरणार्थीको थप प्रभावकारी भूमिका हुन सक्ने दाबी उनको अद्यावधिक विचार हुन् ।

संरचनाको दृष्टिले ऐतिहासिक किताबलाई अद्यावधिक गर्ने मोडलमा नेपालको सन्दर्भमा सम्पादक ढुङ्गेलले नयाँ प्रयोग गरेका छन् । पाद टिप्पणीबाट अद्यावधिक गर्ने र पुरानो सामग्रीलाई संरक्षण पनि गर्ने उनको सीप र विधि वैज्ञानिक तथा व्यावहारिक छ । यसै उपायबाट उनले भूटानका सत्तारुढ प्रधानमन्त्रीको हत्या, सेना प्रमुखको मृत्युदण्ड, राजाप्रसादको सत्तासंघर्षका इतिहासबारे पनि जानकारी दिएका छन् ।

नेपाली किताबको संसारबाट पुराना गैरआख्यानात्मक सामग्री दुर्लभ हुँदै गएको सन्दर्भमा यस कृति दुई वटा पक्षमा नवीन छ ।

पहिलो– लेखकको भाषा शैली । पुरानो पाराको नेपाली भाषाको स्पष्ट र सिधा लेखन शैली सहज, मौलिक र स्वादिलो छ ।

दोश्रो– सम्पादनको सीप र विधि । पुरानो किताबमा भएका तथ्यहरूलाई अद्यावधिक गर्दा यथाशक्य मौलिकता नबिगारिदिँदा पुरानो किताब नयाँ सन्दर्भमा पढ्न पाइने भएको छ ।

पुराना किताबको अक्षर नै नचिनिने भएका कारण गरिएका केही प्रयासबाहेक नेपालमा यस्तो प्रयोग त्यति भएका पाइँदैन । पुराना किताबलाई यसरी अद्यावधिक गरेर पाठकसमक्ष पस्किने हो भने नयाँ पुस्ताका पुस्तकप्रेमीले स्वाद मानी–मानी पढ्न पाउने थिए । यसबाट पठन संस्कृतिको मात्र नभएर भाषिक सीपको पनि पुस्तान्तरण हुने थियो । नेपाली भाषाको प्रयोगमा जबर्जस्ती अंग्रेजी वा हिन्दीबाट तानेर ल्याइएका सामग्री शब्द र शैलीको बर्चश्व बढ्दै गएको यो बेला नेपाली भाषाको श्रीवृद्धिमा समेत यो विधिले ठूलो योगदान गर्ने स्पष्ट छ ।

नितान्त एकल प्रयासमा यस किताबका सम्पादकले अपनाएको यो पुस्तक अद्यावधिक र सम्पादन गर्ने विधि नवीन र एक हदसम्म मौलिक छ । यसका लागि उनले पुस्तकप्रेमी पाठकलाई ठूलो गुन लगाएका छन् भने इच्छुक प्रकाशन तथा सम्पादकलाई नयाँ बाटो देखाएका छन् । यसलाई निःसंकोच अरूले पनि प्रयोग गर्दै जाने हो भने नेपाली भाषा, साहित्य र इतिहासमाथि ठूलो गुन लगाएको ठहरिने छ । यसतर्फ सरकारी तथा गैरसरकारी प्रकाशकको इच्छाशक्ति र दक्ष सम्पादकको तत्परता आवश्यक र अपेक्षित छ ।

‘दन्किँदो भूटान’ कै सन्दर्भमा भन्नुपर्दा वेबसाइटका सामग्रीलाई संरक्षण गर्ने क्रममा समेटिएका सामग्रीले केही पृष्ठ बढाएका छन् भने कतिपय मामिलामा सन्दर्भलाई छिरोलिदिएका पनि छन् । किताबको गहनताको सापेक्षतामा मूल्यलाई बढी भन्नुभन्दा यसलाई वितरकले कतिसम्म इच्छुक पाठकसमक्ष पुर्‍याउन सक्लान् भन्ने चाहिँ पाठकको कोणबाट विचार्दा सरोकारको विषय हो ।

जे होस्, नेपाल किताब बजारको भीडमा नयाँ सीप, शैली र ढाँचाको ‘दन्किँदो भूटान’ राजनीतिक सामग्री मात्र नभएर एक फरक स्वादको साहित्यका रुपमा पनि देखापरेको छ ।

इमेल : gokarna256@gmail.com

(मानवशास्त्री डा. ज्ञवाली समाजका किनारीकृत तथा पछाडि पारिएका समुदायको अधिकार तथा अर्थ–राजनीतिक विषयमा अध्ययन तथा लेखनमा रुचि राख्छन् – सं.)

https://www.nepalviews.com/2023/12/23/228403/

https://www.nepalviews.com/tag/%E0%A4%A6%E0%A4%A8%E0%A5%8D%E0%A4%95%E0%A4%BF%E0%A4%81%E0%A4%A6%E0%A5%8B-%E0%A4%AD%E0%A5%82%E0%A4%9F%E0%A4%BE%E0%A4%A8/
......

पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक काठमाडौंमा सार्वजनिक

नयाँ पत्रिका,काठमाडौं
२०८० पौष ६ शुक्रबार १८:२९:००

सन् १९५० को समयमा भुटान स्टेट कंग्रेसका संस्थापक नेता देवीभक्त लामिटारेले लेखेका पुस्तक परिमार्जनसहित काठमाडौंमा सार्वजनिक गरिएको छ।

लामिटारेले ५३ वर्षअघि प्रकाशित गरेको हिन्दी पुस्तक ‘जलता हुवा भुटान’लाई नेपालीमा अनुवाद गरेर ‘दन्किँदो भुटान’ प्रकाशित भएको थियो। यो पुस्तक भुटानभित्र प्रतिबन्धित रहेको भुटान अभियन्ता एवं कृषिविज्ञ डा. गोविन्द रिजालले जानकारी दिए।

५० वर्षपछि घटनाक्रमहरूलाई अद्यावधिक गरेर पुस्तक पुनः प्रकाशन भएको पुस्तकका सम्पादक विनोद ढुंगेलले जानकारी दिए। भुटान मिडिया सोसाइटीले लामिटारेको किताब प्रकाशन गरेको हो। भुटानी आन्दोलनका आदर्श मानिने महासुर क्षेत्रीको जीवनी लेख्ने तयारी गरिरहेका वेला बनारसमा काशी हिन्दू विश्वविद्यालयका प्रोफेसर हरिप्रसाद अधिकारीसँग भेट भएको र अधिकारीले लामिटारेको किताब देखाएपछि आफूहरू मोडिएको ढुंगेलले बताए।

‘हामीले लामिटारेको किताबको फोटो खिच्यौँ, लेटर प्रेसमा लेखिएको किताबलाई पुनः प्रकाशन गर्नुपर्छ भन्ने भयो। त्यसपछि हरिद्वारमा लामिटारेजीलाई खोज्न गयौँ,’ ढुंगेलले भने, ‘न फोन नम्बर, न ठेगाना, न व्यक्तिलाई चिनिएको अवस्था। अन्याेलबीच लामिटारेसँग दोस्राे प्रयासमा भेट भयो। र, किताब अद्यावधिक गरेर छाप्ने सहमति भयो। त्यसपछि हामीले किताबमा काम गर्‍याैँ। तर, लामिटारेजी बाँचुन्जेल पुस्तक प्रकाशन गर्न सकेनौँ। मलाई जीवनभरि पश्चाताप हुनेछ।’ 

एउटा कालखण्डमा भुटानभित्र भएको प्रजातान्त्रिक आन्दोनलाई पुस्तकले जीवित राखेको अमेरिकामा पुनर्वास भएका भुटानी अभियन्ता शेखर कोइरालाले टिप्पणी गरे। ‘यो पुस्तकले मेरो र आउने पुस्तामा भुटानको प्रजातान्त्रिक आन्दोलनलाई जीवित राखेको छ। हाम्रो आन्दोलन बचाउने योभन्दा गहकिलो पुस्तक अरू के होला र ?’ कोइरालाले भने।

भुटानी प्रजातान्त्रिक आन्दोलनका नेता महासुर क्षेत्रीलाई ५० को दशकमा भुटान सरकारले पक्राउ गरेर काँचो छालाभित्र पोको पारेर सुनकोशी नदीमा फालेको थियो। त्यसबाट विक्षिप्त र आक्रोशित भएका लामिटारे सन् १९५३ मा भुटान छाडेर भारत बस्दै आएका थिए। गत वर्ष हरिद्वारमा उनको निधन भएको थियो। निर्वासनका क्रममा उनले नेपालका तत्कालीन शीर्ष नेता बिपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेतासँग बनारसमा संगत गरेका थिए।

भुटानी आन्दोलनका गुप्त हिरोका रूपमा परिचित लामिटारेले भारतको हरिद्वारमा निर्वासनमा बसेर भुटानभित्र अन्याय, जातीय सफाया नीतिको विरोध गर्दै प्रजातन्त्रको पक्षमा आवाज उठाउँदै आएका थिए। उनले सन् १९७० र ८० को दशकमा भुटान स्टेट कंग्रेसका तर्फबाट भुटानभित्र आन्दोलनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए भने भारतमा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीलगायत नेतृत्वसँग भुटानमा प्रजातन्त्रको पक्षमा लबिङसमेत गरेका थिए। भुटानको चिराङ जिल्लास्थित लप्सिबोटेमा उनी सन् १९३५ मा जन्मेका थिए।

सन् २०१२ मा हरिद्वारमा भुटान मिडिया सोसाइटीका अध्यक्ष विद्यापति मिश्र र पत्रकार विनोद ढुंगेलले लामिटारेसँग भेटेका थिए। त्यही वेला उनको पुस्तक दन्किँदो भुटानलाई पुनः प्रकाशनका लागि लामिटारेले अनुमति दिएका थिए। तर, उनी जीवित छँदै पुस्तक प्रकाशन गर्न नसकिएकोमा पश्चाताप रहेको ढुंगेल बताउँछन्।

‘दन्किँदो भुटान’ सन् १९७० मा भारतबाट प्रकाशित भएर लामिटारेले भुटान पठाएका थिए। भुटानका सबै भूभागमा किताब वितरण भएपछि भुटान सरकारले प्रतिबन्ध लगाएको थियो। लामिटारेको पुस्तक नेपालीभाषी भुटानीका तर्फबाट लेखिएको पहिलो पुस्तक हो।





https://www.nayapatrikadaily.com/news-details/130926/2023-12-22

.....

आतङ्कबाट आतङ्कित लामिटारेको ‘दन्किँदो भुटान’


  •  पहिचान
  •  
  •  बिहिबार, पौस ५ २०८०


आतङ्कबाट आतङ्कित लामिटारेको ‘दन्किँदो भुटान’

काठमाडौं : राजतन्त्रका अत्याचारले पीडित धेरै भुटानीहरू भारतका आसाम, बङ्गाल र सिक्किमका शरणार्थी बनेर बसिरहेका छन्। शदियौैंदेखि आवाद भुटानी गोरखाली जनतालाई वर्तमान समयमा गेटपास दिएर भुटानबाट नेपाल भगाउन थालेको रहेछ। यसको बदला जनताले लिनेछन्। यिनीहरूले स सम्मान आफ्नू देशमा फर्कने अधिकार पाउनु पर्दछ। देश छोडाउँदा सहनु परेका अनेक प्रकारका कष्टहरूको नुक्सान र अपमानको वदलामा यिनीहरूले उचित आर्थिक सहयोग पनि पाउनु पर्दछ।

यो अंश देवीभक्त लामीटारेको ‘दन्किँदो भुटान’ पुस्तकबाट लिइएको हो। पत्रकार विनोद ढुङ्गेलले सम्पादन गरेको पुस्तक भुटान मिडिया सोसाइटीले प्रकाशन गरेको हो। पुस्तकमा सोसाइटीका बिद्यापति मिश्रले प्रकाशकीय लेखेका छन्।

लामिटारे अविवाहित थिए। उनी देवीभक्त भन्ने नाम कसैको नहोस् भन्थे। सम्पादक ढुङ्गेलका अनुसार लामिटारे ‘आतङ्कबाट आतङ्कित’ भएको मान्छे हुन्। ‘दन्किँदो भुटान’ भुटानी राजाले हत्या गरेर सुनकोश नदीमा फालेका महासुर क्षेत्रीमाथिको अत्याचारले जन्मिएको पुस्तकमा लेखिएको छ।

देवीभक्तसँग कोही थिएनन्। उनी भारतको हरिद्वारमा सन्न्यासी बनेर बसेका थिए। विवाह गरेका थिएनन्। सोसाइटीका मिश्र ‘बोरामा हालेर पठाए पनि प्लेनबाट भाग्छु’ भन्थे। उनी पनि अमेरिका गए पछि लामिटारेबारे बुझ्न केही समय लागेको पुस्तकका सम्पादक ढुङ्गेलले बताए।

दन्किँदो भुटान अहिले प्रकाशन भएको भने होइन। यो पुस्तक सन् १९७० मा लेखिएको हो। त्यति वेला लामिटारेले भनेका ‘सिक्ममको भारतमा विलय र नेपालको राजतन्त्र जान्छ’ भन्ने भविष्यवाणी मिलेको छ। नेपालको मधेसलाई उनले भुटानको लोत्साम्पा समुदायसँग पनि तुलना गरेका छन्। तर, उनको सन् २०२२ मा निधन भयो।

भुटानी नागरिक कृषि विज्ञ समेत रहेका गोविन्द रिजालले भुटानी राजाले लामिटारे भुटानमा जन्मेको होइन भनेर बोल्ने गरेको सुनाए। भुटानमा नेपाली भाषीमाथिको अत्याचारविरुद्ध बोल्दा अहिले पनि पक्राउ गर्ने गरिएको छ। लामिटारेले भुटानमा प्रजातन्त्र ल्याउने आन्दोलनलाई जीवित बनाइदिएको रिजालले बताए।

अमेरिका पुर्नवास भएका भुटानी नागरिक शेखर कोइरालाले भौतिक सुख भए पनि सामाजिक रूपमा दुख रहेको बताए। ‘दसैँमा बुबाले दिएको आर्सीवाद सहितको टिका पुछेर हिँड्नु पर्ने अवस्था छ,’कोइरालाले भने,‘भौतिक सुख त छ। सामाजिक रूपमा दुख छ।’

उनले आफ्नो देश भुटान फर्कन पाउनु पर्ने बताए। भुटानबाट लखेटिएका मध्ये १ लाख १३ हजार भन्दा बढी शरणार्थी तेस्रो देश पुर्नवास भइसकेका छन्। नेपालको शिविरमा अझै पनि ६ हजार भन्दा बढी भुटानी शरणार्थी स्वदेश फर्कन पाउने आसमा बसेका छन्।


https://pahichan.com/2023/12/21/19636/

.......

पाँच दशकदेखि प्रतिबन्धित पुस्तक ‘दन्किँदो भूटान’ को भव्य लोकार्पण

0

विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित भएको पुस्तक ‘दन्किँदो भूटान’ नामक पुस्तकको भव्य समारोहकाबीच काठमाडौंमा लोकार्पण गरिएको छ । भुटानका प्रजातान्त्रिक आन्दोलनका प्रथम योद्धा भनेर चिनिने देवीभक्त लामिटारेद्वारा लिखत उक्त पुस्तकको लोकार्पण गरिएको छ । देवीभक्त जसले भारतमा बसेर बी.पी. कोइरालासँग पनि लामो संगत गरेका थिए ।

सन् १९७० मा प्रथम पटक प्रकाशित गरिएको उक्त पुस्तक दोस्रो र तेस्रो संस्करण क्रमशः १९७६ र १९८५ मा प्रकाशित गरिएको थियो । पछिल्लो संस्करण भने यसै वर्ष अमेरिकाको नर्थ क्यारोलाइनमा रहेको भूटान मिडिया सोसाइटीले प्रकाशित गरेको गरेको थियो । नयाँ संस्करणका सम्पादक भने विनोद ढुङ्गेल रहेका छन् ।

सन् २०२२ मा मृत्यु भएका लेखकसँग भारतमा गएर गरेको पटकपटकको अध्ययन, अनुसन्धान, अन्तर्वाता र पारिवारिक स्रोतसँगको समन्वयमा नयाँ सूचनासहित पुस्तक सार्वजनिक गरिएको सम्पादक ढुङ्गेलले बताएका छन् । पुस्तक लोकार्पण गर्ने शलिसिलामा भूटानी मुलका प्राध्यापक गोविन्द रिजाल, अमेरिकामा पुनर्वाश भएका भुटानी नागरिक शेखर कोइराला लागयतले आफ्नो धारणा व्यक्त गरेका थिए ।

पुस्तक लोकार्पण कार्यक्रममा वक्ताहरुले भूटानमा भएको प्रजातान्त्रिक आन्दोलनको एक प्रमुख र प्रथम पुस्तक दस्तावेज यहि नै भएको भन्दै पुस्तकको गरिमाबारे खलेर प्रशंसा गरेका थिए । नेपाली मूल्य ७०० रहेको २०८ पेजको ‘दन्किँदो भूटान’ नामक उक्त पुस्तकलाई खोजी प्रकाशन गृहद्वारा नेपालमा वितरण गरिने भएको जनाइएको छ । उक्त पुस्तकलााई विक्री वितरण गर्ने अहोभाग्य प्राप्त गरेकोमा प्रकाशनले खुसी व्यक्त सन् २०२२ मा मृत्यु भएका लेखकसँग भारतमा गएर गरेको पटकपटकको अध्ययन, अनुसन्धान, अन्तर्वाता र पारिवारिक स्रोतसँगको समन्वयमा नयाँ सूचनासहित पुस्तक सार्वजनिक गरिएको सम्पादक ढुङ्गेलले बताएका छन् । पुस्तक लोकार्पण गर्ने शलिसिलामा भूटानी मुलका प्राध्यापक गोविन्द रिजाल, अमेरिकामा पुनर्वाश भएका भुटानी नागरिक शेखर कोइराला लागयतले आफ्नो धारणा व्यक्त गरेका थिए ।


https://globalpostinfo.us/?p=15808

......


‘दन्किँदो भुटान’ को नयाँ संस्करण सार्वजनिक

काठमाडौं । विगत पाँच दशकदेखि भुटानमा प्रतिबन्धित पुस्तक ‘दन्किँदो भुटान’ को नयाँ संस्करण आएको छ । भुटानको पहिलो प्रजातान्त्रिक आन्दोलनका योद्धाका नामले चिनिने देवीभक्त लामिटारेले लेखेको पुस्तक पत्रकार विनोद ढुङ्गेलको सम्पादनमा प्रकाशन भएको हो । पुस्तक बिहीबार सार्वजनिक गरिएको छ ।

सन् १९७० मा पहिलो पटक छापिएको किताबको दोस्रो र तेस्रो संस्करण क्रमशः १९७६ र १९८५ मा प्रकाशन भएका थिए । नेपालबाट पछिल्लो संस्करण यो वर्ष अमेरिकाको नर्थ क्यारोलाइनमा रहेको भुटान मिडिया सोसाइटीले प्रकाशन गरेको हो ।

लामिटारेसँगको अन्तर्वार्ता लिएर थप सामग्रीसहित प्रकाशित पुस्तकको यो संस्करण उहाँको निधन भएको करिब एक वर्षपछि आएको हो । भुटानको प्रजातान्त्रिक आन्देलनको सुरुवाती जानकारीका लागि पुस्तकमा थप अध्ययन, अन्तर्वार्ता र पारिवारिक स्रोतसँगको समन्वय गरिएको छ ।

पुस्तक सार्वजनिक समारोहमा सम्पादक ढुङ्गेल, भुटानी मूलका प्राध्यापक डा. गोविन्द रिजाल, भुटानमा जन्मेर नेपालमा शरणार्थी जीवन बिताई अमेरिकामा पुनर्बास भएका भुटानी नागरिक शेखर कोइरालालगायतले भुटानमा भएको प्रजातान्त्रिक आन्दोलनको सङ्ग्रहणीय दस्ताबेज रहेको बताउनुभयो ।


https://dharananews.com/2023/12/22/%e0%a4%a6%e0%a4%a8%e0%a5%8d%e0%a4%95%e0%a4%bf%e0%a4%81%e0%a4%a6%e0%a5%8b-%e0%a4%ad%e0%a5%81%e0%a4%9f%e0%a4%be%e0%a4%a8-%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%af%e0%a4%be%e0%a4%81/

......

दन्किंदो भूटान : भूटानी प्रजातान्त्रिक आन्दोलनको आँखीझ्याल

‘दन्किंदो भूटान’लाई यस अवतारमा प्रकाशन गर्ने योजनाको बीजारोपण कुनै सुविचारित चिन्तनका आधारमा भएको थिएन । यस प्रकाशनको पृष्ठभूमिसँग भूटानी राजतन्त्रले सन् १९५१ मार्चमा क्रूरतापूर्वक हत्या गरेका महासुर बस्नेत क्षत्रीको जीवनगाथाको खोजीको प्रसङ्ग जोडिएको छ । संयोग के पर्न गएको छ भने जसरी यो पुस्तकको पुनः प्रकाशनमा क्षत्रीको जीवनगाथा खोजी गर्ने हुटहुटी जोडिएको छ, देवीभक्त लामीटारेको राजनैतिक जीवन तिनै क्षत्रीको जीवनलीला समाप्त पारिएको कथाबाट आरम्भ भएको छ ।

यथार्थमा लामीटारे स्वयं भूटानी शरणार्थी शिविरहरूसँग खासै सम्पर्कमा थिएनन् । दशकौंदेखि भारत ‘प्रवासमा रहेर प्रजातन्त्र र मानवअधिकारका लागि संघर्षरत’ भनिएका उनको सक्रियता मूलतः प्रचार-युद्धमा सीमित थियो । उनको पार्टी भूटान स्टेट कंग्रेसको अवस्था पनि त्यस्तै थियो ।

सन् १९५२ को नोभेम्बरमा केही स्वघोषित शरणार्थीहरूले भारतीय कंग्रेसको सरकारले आफ्नो राजनीतिक मुद्दालाई समर्थन र सहयोग गर्छ भनेर डी.बी. गुरुङको अध्यक्षतामा भूटानी सीमावर्ती भारतीय राज्य आसामको गोलपाडा जिल्लाको पाटगाउँमा गठन गरेको भूटान स्टेट कंग्रेस भूटानी शरणार्थीहरूमाझ सुनिएको नाम मात्र बाँकी रहन गएको थियो । सन् १९६९ मा प्रमुख नेताहरूले नै राजासमक्ष आत्मसमर्पण गरेपछि सो पार्टी कार्यकर्ताविहीन थियो ।

‘भूटान स्टेट कंग्रेस पार्टीको विधान र इतिहास’मा उल्लेख भएअनुसार महासुर क्षत्रीलाई हत्या गरेपछि भूटानी सत्ताले भूटान स्टेट कंग्रेसका महासचिव जी.पी. प्रसाईं अर्थात् गणेशप्रसाद प्रसाईंलाई समेत मार्ने प्रयास गरेको थियो तर उनी ‘दैव संयोगले’ बाँचे ।

सन् १९५४ मा भूटान स्टेट कंग्रेसले सर्भाङमा आयोजना गरेको सत्याग्रहमाथि सरकारले दमन गरेपछि त्यसका अगुवाहरू फेरि भारततिरै फर्किन बाध्य बनाइएका थिए । सन् २००५ मा ७९ वर्षको उमेरमा निधन भएका थुप्रै अनुसन्धानमूलक पुस्तकका लेखक ‘क्यालिफोर्निया विश्वविद्यालयका दक्षिण एशियाली मामिलाका सबैभन्दा प्रतिष्ठित विशेषज्ञ’ लियो युजिन रोजका अनुसार, सरकारको दमनकारी कारबाहीको तुलनामा भूटान कंग्रेसले नेपाली भूटानी समुदायको व्यापक समर्थन जुटाउन नसकेका कारण आन्दोलन विफल भएको थियो ।

सत्याग्रहपछि भूटान स्टेट कंग्रेस ‘रित्तिएको शक्ति’ मा परिणत भएको थियो भने भूटानी अधिकारीहरू पनि सम्भवतः दमनकारी नीति मात्र अपनाउनु उचित नहुने महसुस गरी राज्यको मूल नीतिसँग नबाझिने हदसम्म केही छुट दिने निर्णयमा पुगेका थिए । सरकारले त्यस्तो निर्णय लिने मोडमा पुग्नुमा फेरि पनि भूटान स्टेट कंग्रेसका नेताहरूको भूमिका रहेको दावी पनि गर्ने गरिएको पाइन्छ ।

प्रवासिएकाहरूले भारत सरकार मार्फत भूटानलाई दबाब दिने नीति अन्तर्गत एक प्रतिनिधिमण्डल नयाँदिल्ली पठाएको र त्यसमा अध्यक्ष डी.बी. गुरुङ सहित महासचिव प्रसाईं सहभागी रहेको पार्टीले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ । सो दावी अनुसार, टोलीले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसित नयाँदिल्लीमा भेट गरेको थियो ।

नेहरू र तत्कालीन भूटानी राजा जिग्मे दोर्जी वाङ्चुकबीच नयाँदिल्लीस्थित राजभवनमा कुराकानी भएको विवरण समेत समेटिएको सो दस्तावेजमा उल्लेख भए अनुसार, छलफलपछि नेहरूले भारतका एक जना डेपुटी मिनिस्टरलाई भूटान पठाएका थिए ।

बैठकमा राजा दोर्जीले भूटानमा रहेका नेपाली मूलका जनताको स्थिति राम्रो पार्ने र प्रजातान्त्रिक सुधार गर्दै जाने आश्वासन दिएका थिए ।

त्यसअलावा छोरी इन्दिरा गान्धी सहित भूटान भ्रमणमा निस्केका तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूलाई सिक्किमको गाङ्तोकमा भूटान स्टेट कंग्रेसका नेता डी.बी. गुरुङले हस्ताक्षर गरेको पाँचबुँदे एक ज्ञापनपत्र १९५८ सेप्टेम्बर १७ मा बुझाइएको थियो भने सो पार्टीले सिलिगुडीस्थित कार्यालयबाट विभिन्न विषयमा बेलाबेलामा विज्ञप्ति पनि जारी गरिरहन्थ्यो ।

यी सबै गतिविधिको निरन्तरतामा सन् १९६९ अगस्त ६ मा भूटानी राजा जिग्मे दोर्जी वाङ्चुकले भूटान स्टेट कंग्रेसका निर्वासित मुख्य नेता डी.बी. गुरुङ सहितका नेताहरूलाई आममाफी दिएर भूटान र्फकन अनुमति दिए । त्यसमा तिलकबहादुर गुरुङ, दलबहादुर खड्का, गणेशप्रसाद प्रसाईं आदि पर्थे । राजाको आम माफीको पत्रमा उनीहरूको कुनै सम्पत्ति भूटान सरकारले जफत गरेको भए क्षतिपूर्ति दिने उल्लेख थियो भने भूटान स्टेट कंग्रेस विघटन गरेको हुनुपर्ने र भूटान फर्केर कुनै राजनीतिक दलको गतिविधिमा नलाग्ने पूर्वशर्त समेत थियो ।

त्यतिखेरसम्म भूटान स्टेट कंग्रेसमा संलग्न भएका व्यक्तिहरू भारतको आसाम, मणिपुर हुँदै बर्मा र नेपालसम्म शरणार्थीका रूपमा छरिइसकेका थिए । त्यसपछि स्टेट कंग्रेसका डी.बी. गुरुङ लगायत केही व्यक्ति राजासँग मिले पनि महासचिव प्रसाईं भने प्रजातन्त्र र मानवअधिकार नदिएसम्म कुनै हालतमा पनि राजासँग नमिल्ने अडान लिएर प्रवासमै बसे । सो समयका भुक्तभोगी कार्यकर्ता देवीभक्त लामीटारे भने घर, धन-सम्पत्ति र परिवार समेत त्यागी भारतको हरिद्वारमा पुगेर संन्यासीको रूप धारण गरी भूटानी शासकको विरुद्धमा पटक-पटक पुस्तकहरू प्रकाशित गर्दै जीवन बिताउन थाले ।

अध्यक्षको आत्मसमर्पणपछि विघटित अवस्थामा पुगेको कंग्रेसलाई देवीभक्त लामीटारेले सन् १९७१ मा पुनर्गठन गरी नेतृत्व सम्हालेर भूटानी शासकका अन्याय, अत्याचार र दमनका विरुद्ध लेखिरहे । यता सन् १९८९ मा भूटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको गिरफ्तारीपछि कालेबुङ कलेजका विद्यार्थी देवदत्त शर्मालाई पार्टीको अध्यक्ष नियुक्त गरियो । तर, उनलाई पनि भूटानी प्रहरीले गिरˆतार गरेपछि पार्टी नेतृत्वविहीन भयो । त्यो अवस्थामा भूटान पिपल्स पार्टीका आर.के. बुढाथोकीले धम्की दिएका कारण दुर्गा सिटौलाले लामीटारेलाई सभापति नियुक्त गर्दै भूटान कंग्रेस संगठित गरेको सो पार्टीको इतिहासमा उल्लेख गरिएको छ ।

भूटानी शरणार्थीहरूका लागि एक राजनीतिक नेता, शरणार्थी नेताहरूका लागि विवादित एक्लो कागजी बाघ, उनका आध्यात्मिक अनुयायीहरूका लागि लामीटारे एक सन्त महाआत्मा थिए भने मेरा लागि उनी सहकार्य गर्दा गर्दैका एक साहसिक ऐतिहासिक रोचक पात्र रहेरै बिदा भए

यसैबीचमा १९९३ मार्च २० मा भूटान स्टेट कंग्रेसका महासचिव गणेशप्रसाद शर्मा प्रसाईं र भूटान लोकतान्त्रिक राष्ट्रिय पार्टी (बी.एन.डी.पी.) का महासचिव देवनारायण शर्मा ढकालले संयुक्त हस्ताक्षर गरेको एक पृष्ठको एउटा ‘घोषणापत्र’ जारी गरे, जसमा प्रसाईंले भूटान स्टेट कंग्रेसलाई बी.एन.डी.पी.मा ‘विलय भएको’ घोषणा गरेका छन् । तर, पार्टी गतिविधिमा नरहेका र भूटानी आन्दोलनका गतिविधिबाट टाढा रहेका प्रसाईंले त्यस्तो कदम चालेपछि देवीभक्त लामीटारेले सन् १९९३ मा पार्टी पुनर्गठन गरी भूटान कंग्रेसको विधिवत् स्थापना गरेको गंगाराम लामीटारेले लेखेको देवीभक्तको जीवनीमा उल्लेख छ ।

त्यसपछि पनि देवीभक्त लामीटारेले भूटान स्टेट कंग्रेस, भूटान राष्ट्रिय कंग्रेस वा भूटान कंग्रेस जस्ता नामहरूलाई समानान्तर रूपमा प्रयोग गरिरहेको पाइन्छ । लामीटारेको सभापतित्वमा भूटान स्टेट कंगे्रसका महासचिव रहेका दुर्गा सिटौलाले पार्टी नेतृत्वविहीन हुँदा लामीटारेले नेतृत्व गर्न स्वीकारे पनि उनी भारतमा बसेर शिविरबाट सञ्चालित राजनीतिमा सक्रिय हुन नसकेको बताएका छन् ।

लामीटारे एक साहसी, असीमित जोश, दक्षता र राष्ट्रप्रतिको आस्था भएको व्यक्ति भए पनि साथीभाइ र पार्टीका कार्यकर्ताको सहयोगको अभावमा एक्लिएको उनको मूल्याङ्कन छ । शिविरमा रहेका साथीहरू विदेशतिर लागेपछि लामीटारेलाई शिविरमा ल्याएर मूल राजनीतिमा ल्याउने काम हुन नसकेको महसुस गरेका सिटौलाले भूटानी शासनमाथि सशक्त धावा बोलेका लामीटारेका किताबहरू भूटानमा पनि पुगेका र त्यहाँका पनि कतिपय जनताले पढेको दावी गरेका छन् ।

लामीटारेलाई ‘बाघजस्तो मान्छे’का रूपमा मूल्याङ्कन गरेका भूटानी डा. भम्पा राईका विचारमा लामीटारेलाई एउटा साधु मात्र ठान्नु गलत हो । ‘भारत, नेपाल, भूटानका साथै संसारको राजनीति पनि बुझेको भूटानी नेता लामीटारे मात्र’ ठानेका डा. राईका विचारमा लामीटारेलाई आन्दोलनको नेतृत्व नदिनु भूटानी प्रजातान्त्रिक नेताहरूको गल्ती थियो ।

लामीटारेको अवस्थालाई भूटान पिपल्स पार्टीका नेता बलराम पौडेलले पनि यस कारण ‘दुःखको कुरा’ मानेका छन् कि ‘न त उनलाई कसैले साथ दियो, न त उनले पनि अरू कसैसित सम्पर्क गर्ने प्रयत्न नै गर्दै आए ।’ त्यस्तो अवस्थाका मान्छेलाई किन खोज्नु, कसले खोज्नु ? अनि कसरी भेट्नु !

लामीटारेका बारेमा थप अध्ययन गर्ने र पाएसम्म भेट्ने उद्देश्यले हामी सम्पर्क सूत्रहरूको सहारामा बनारसबाट नयाँदिल्ली पुग्यौं । दिल्लीबाट अमृतसर पुग्यौं । दिल्ली-यात्रा केही भेटघाटका साथै केही अध्ययन सामग्री र केही समसामयिक सूचना संकलनमा सीमित भयो । अमृतसर-यात्रा त फगत पर्यटन हुन पुग्यो । जब लामीटारे हरिद्वार नै पुगिसकेको हुनसक्ने सूचना प्राप्त भयो, तब भने हामी पञ्जाबको अमृतसरबाट पुनः रेलयात्रा गर्दै अन्ततः लामीटारेले जीवनको सर्वाधिक समय बिताएको धार्मिक शहर हरिद्वार पुग्यौं ।

हरिद्वारमा उनको सार्वजनिक स्थायी ठेगाना थियो- गोविन्द हरि निवास, एम.जी. रोड, कनखल । लामीटारेकोे यो पत्राचारको ठेगाना खासमा एक राजनीतिक ठेगाना मात्र थियो । ढोका बन्द थियो तर ताल्चा लगाइएको थिएन । ढोकाको बायाँपट्ट िभित्तामा झुन्ड्याइएको पुरानो सानो आकारको संकेत पाटीले हामी सही ठाउँमा आइपुगेको निधो दिन्थ्यो- डी.बी. लामीटारे, षट् दर्शन संत प्रकाशन, गोविन्दहरि निवास, गान्धीरोड, कनखल, यू.पी.। भारत स्वतन्त्र भएपछि उत्तरप्रदेशभित्र रहेको भए पनि २००० नोभेम्बर ९ मै कुमाउ र गढवाल क्षेत्रलाई समेटेर ‘उत्तराञ्चल’ बनाइएको र २००७ को जनवरी १ देखि ‘उत्तराखण्ड’ भइसक्दा समेत २०११ सम्म लामीटारेको संकेत पाटीमा यू.पी. नै हुनुले धेरै कुराको संकेत गर्थे ।

मेरा लागि लामीटारे र उनका अन्तिम दिनहरू

महासुर क्षत्रीको जीवनी खोज्ने लहडबाट शुरू भएको मेरो यात्रा ‘दन्किंदो भूटान’ को सम्पादन गर्ने मात्र हैन, देवीभक्त लामीटारेेको जीवनीको एक हिस्साको साक्षी जस्तो हुन पुग्यो । भूटानमा प्रजातन्त्र बहालीका लागि चिन्तनशीलहरू भन्दा क्रियाशीलहरूको संख्या कम हुँदै गइरहेको बेलामा म भने भूटानमा प्रजाराजको अभियान चलाइरहेका ‘एक्लो बृहस्पति’ को ‘पेपर वार’ लाई झन्-झन् नजिकबाट नियाल्दै जान थालेको थिएँ ।

भूटानमा प्रजातन्त्र र मानवअधिकारका लागि निकै सक्रिय भएकाहरू समेत शिथिल भइसकेको समयमा लामीटारेको ताप भने न घटेको थियो, न बढेको । उनको एकनासे साधु अभियानको दूरकोे साक्षी मलाई उनी एक रोचक मात्र लाग्दैथिए । आरम्भमा सुन्दै नसुनेको नाम देवीभक्त लामीटारेको किताबको सम्पादनको जिम्मेवारी मेरा लागि पूरा गर्नैपर्ने एक ‘मिसन’ मा परिणत हुन पुगेको थियो । इमानपूर्वक भन्नुपर्दा उनको जीवन छँदाभन्दा उनको मृत्युपछि यो जिम्मेवारी मेरा लागि भारी लागेको थियो ।

हरिद्वार पुगिसकेर उनलाई भेट्ने बेलासम्म पनि मेरो दिमागमा लामीटारेका बारेमा कुनै तम्तयार छवि निर्मित थिएन । सन् ९० को दशकमा भूटानी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भएकाहरूका लागि नै पुराना भइसकेका लामीटारेका बारेमा थाहा पाउँदै जाँदा मेरो लागि यी ‘एक रोचक पात्र’ बन्दै गए । निजी लहडभन्दा अलि बढी व्यावसायिक तवरले काम गरेको भए अहिलेको जमाना अनुसारका सञ्चारमाध्यमका लागि यी एक ‘बिकाऊ आइटम’ अवश्य थिए ।
उनीसँगको मेरो सरसंगतको यही अवधिमा सोसल मिडिया प्लेटर्फमहरूको लोकप्रियता ठाडो उकालो चढेको थियो । उदाहरणका लागि उनलाई मैले पहिलोपल्ट भेटेको वर्ष २०११ मा ५० करोड रहेका युट्युबका ‘मासिक सक्रिय प्रयोगकर्ता’ दश वर्षको अवधिमा पाँच गुणाले बढेर २ अर्ब ५० करोड पुगिसकेका थिए ।

यसबाहेक अरू प्लेटर्फमका प्रयोगकर्ता पनि त्यसरी नै बढेका थिए । तर, त्यस्ता प्लेटर्फममा छरिदिएर मैले उनको समथर गंगाकिनारको शान्त सन्त दैनन्दिनीमा विघ्न खडा गर्न चाहिनँ । भलै उनी आफैं त्यो डिजिटल दुनियाँमा निजी वेबसाइट लिएर नउभिएका होइनन् । मेरा लागि लामीटारे आमसञ्चारमाध्यममा तत्काल रुचिपूर्वक खपत हुने एक पात्र अवश्य थिए, जुन काम मेरो प्राथमिकतामा कहिल्यै परेन ।

मेरा लागि त उनी कुनै राजनीतिक दलको नेताको घेराभित्र अटाउने मान्छे पनि थिएनन् । घटनाक्रमहरूका बारेमा उनको विश्लेषण फुक्काफाल र अनुमान गर्न नसकिने खालका थिए । नितान्त हिन्दु साधुको भेषभूषा र जीवनशैली अपनाएका उनी स्वयंमा धर्मनिरपेक्षताका पक्षपाती थिए । चलनचल्तीको राजनीतिक भाषामा उनलाई अराजकतावादी ठान्नेहरूले पनि जब उनी दशकौंदेखि भूटानको राजनीतिक भविष्यका बारेमा समान धारणा दोहोर्‍याइरहेको पाउँछन्, उनलाई एक प्रतिबद्ध लोकतन्त्रवादी नठानी सुखै हुँदैन ।

महासुर क्षत्रीको हत्याको किंवदन्ती जस्तो लाग्ने त्रासद कथासँग जोडिएर उदाएका लामीटारेको जीवन पनि किंवदन्ती भन्दा फरक रहेन । १८४८ को शुरूमै आफ्नै घरमा गोप्य बैठक राख्ने, भूटान स्टेट कंग्रेस गठन गर्नेदेखि उनको हत्याको दिनसम्मका उनीबारे सार्वजनिक भएका विवरणहरू पढ्दा महासुर क्षत्री दन्त्य कथाका पात्र जस्ता लाग्छन् । भूटानी सत्ताले छालाको थैलोमा पोको पारेर जिउँदै सुनकोशी नदीमा बगाउने बेलासम्ममा पनि उनले देखाएको सुरोपनका कथाहरू हेर्दा महासुर भूटानी प्रजातान्त्रिक आन्दोलनका साँच्चै सुरो एक महापात्र देखिन्छन् ।

त्यसरी हेर्दा शूरवीर महासुरको जीवन कहानी भूटानी प्रजातान्त्रिक आन्दोलनको इतिहासको आँखीझ्याल पनि हो । र, त्यो आँखीझ्यालबाट देखा परेका एक विचित्र पात्र हुन्- देवीभक्त लामीटारे । उनको जीवनीलाई आँखीझ्याल बनाएर पनि भूटानी प्रजातान्त्रिक आन्दोलनको उठान, बैठान, भाष्य र भविष्यको लेखाजोखा गर्न सकिन्छ ।

यस पुस्तकमा विभिन्न ठाउँमा छरिएर अटाएको उनको निजी जीवन, विचार, जानकारी र व्यवहार उनको जीवनीको विस्तृतीकरणका लागि थप सामग्री हुनेछन् । यी सबैको समग्र अध्ययन र तिनले दिने मार्गदर्शन भूटानी प्रजातान्त्रिक आन्दोलनकै आँखीझ्याल हुने विश्वास गर्न सकिन्छ । यसरी लामीटारे अब भूटानी प्रजातान्त्रिक आन्दोलनमा संलग्न वा असंलग्न उत्सुक अनुसन्धाता तथा इतिहासकारहरूको अध्ययनको विषय भइसकेका छन् ।

‘दन्किंदो भूटान’ को नयाँ अवतारका केही प्रति बोकेर फेरि उनलाई भेट्न पुग्ने चाहना र योजना कहिल्यै पूरा नहुने गरी समाप्त भयो । हाम्रो योजनालाई समयको बलियो चक्काले चूर्णमा परिणत गरिदियो, त्यसको भावनात्मक पक्ष मेरा निजी हुन् । सार्वजनिक महत्वको जानकारीचाहिं उनका अन्तिम दिनहरू कस्ता रहेका थिए भन्ने हुनसक्छ ।

भूटानी शरणार्थीहरूका लागि एक राजनीतिक नेता, शरणार्थी नेताहरूका लागि विवादित एक्लो कागजी बाघ, उनका आध्यात्मिक अनुयायीहरूका लागि लामीटारे एक सन्त महाआत्मा थिए भने मेरा लागि उनी सहकार्य गर्दा गर्दैका एक साहसिक ऐतिहासिक रोचक पात्र रहेरै बिदा भए ।

तीन अन्तर्वार्ता : पूरक ‘दन्किंदो भूटान’

यस पुस्तकमा समेटिएका उनका तीनवटा अन्तर्वार्ताबाट भूटानी राजदरबारका कतिपय यस्ता सन्दर्भहरू पनि तानिन आएका छन्, जसलाई स्पष्ट नगरी अन्तर्वार्ता मात्र पढ्दा त्यसको सान्दर्भिकता बुझिंदैन र तात्पर्य खुल्दैन । उदाहरणका लागि सन् १९५२ देखि पदासीन भूटानका प्रथम प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको १९६४ अप्रिल ५ मा फुन्सोलिङमा भएको हत्या र उनका भाइ लेन्डुप दोर्जी कार्यवाहक प्रधानमन्त्री भएको प्रसङ्ग ।

भूटानी राजपरिवारकै रूपमा चिनिने दोर्जी परिवारका सदस्य प्रधानमन्त्री जिग्मे पाल्देन रानी आसी केसाङ छोदेनका भाइ थिए । सन् १९४२ देखि सिक्किम र भूटानको राजदरबारसँग मित्रता रहेका बेलायती प्रशासक नारी के. रुस्टम्जी सन् १९६३ मा भूटान सरकारको सल्लाहकार नियुक्त भएपश्चात् सो हत्याकाण्ड हुँदा भूटानमै थिए । उनले हत्याकाण्ड लगत्तैका विवरणहरूलाई समेटेर लेखेको पुस्तकमा उल्लेख गरेअनुसार, प्रधानमन्त्री जिग्मे साथीहरूसँग साँझको खाना खाइसकेपछि माइला भाइ उग्येन रिम्पोछे, रिम्पोछेकी श्रीमती सावित्री र अन्य केही व्यक्तिसँग राजकीय अतिथिगृहमा तास खेलेर बसिरहेका बेला चुरोट सल्काउन लाग्दा १० फिट जति पछाडि झ्यालबाट गोली हानी उनको हत्या गरिएको थियो । त्यतिबेला भूटानका तत्कालीन राजा जिग्मे दोर्जी वाङ्चुक स्वास्थ्योपचारका सिलसिलामा स्विट्जरल्यान्डको सबैभन्दा ठूलो शहर जुरिकमा थिए । उनलाई मुटुको समस्या थियो ।

अमेरिकामा अध्ययन गर्ने पहिलो भूटानीको परिचय समेत पाएका लेन्डुप दोर्जी उनको दाजुको हत्या भएको दुई महिना १९ दिनपछि चार महिना भूटानको निमित्त प्रधानमन्त्री भए । नेपालका लागि सन् १९७३ देखि १९७६ सम्म भारतीय राजदूत रहेका र भारतीय विदेश सचिवसम्म भएर सन् १९८५ मा सेवानिवृत्त महाराजाकृष्ण रसगोत्राले आफ्नो किताबमा उल्लेख गरेअनुसार दाजुको हत्यामा राजपरिवारको हात रहेको शंका गर्दै लेन्डुपले राजालाई अपदस्त गर्नका लागि भारतको सहयोग माग्न आफ्ना एक विश्वासपात्रलाई विशेष दूतका रूपमा दिल्ली समेत पठाएका थिए । तर, उनको किताब प्रकाशन भएको केही दिनमै दोर्जी दाजुभाइकी बहिनी तथा तत्कालीन रानी आशी केसाङ वाङ्चुकले रसगोत्राको आरोपलाई ‘झुट तथा बदनियतपूर्ण’ भनेर खण्डन गरेकी छिन् ।

त्यसो त हत्याकाण्डको छानबिन गर्न राजाले डासो गेदेन ठिन्ले दोर्जीको सभापतित्वमा गठन गरेको रोयल कमिशनले गरेको शोधखोजको क्रममा अवैध रानी आशि याङ्कीलाई महाराजा स्वयम्ले एउटा पिस्तोल दिएको र त्यसै पिस्तोलको प्रहारबाट प्रधानमन्त्रीको हत्या भएको भेद खुलेको भए पनि यस कुरालाई गोप्य राखिएको समेत दावी गरिएको पाइन्छ ।

सो दावी अनुसार हत्याकाण्डमा दोर्जी परिवारकै हात रहेको शङ्कालाई थप पुष्टि गरिदिने अरू दुई वटा आधार पनि थिए- एक, भारत सरकारको सहयोगमा झिकाइएको खोजी कुकुरले प्रधानमन्त्री पाल्देन दोर्जीकी बहिनी तथा राजाकी दिदी आशि टासीले दोर्जी परिवारको दरबार नामसेलिङ्गमा भान्सेको नोकरी दिएका सतु नामक व्यक्तिलाई सोझै गएर समात्नु, दुई, आशि टासीले पनि खुलेरै राजाको विरोध गर्ने गर्नु ।

प्रधानमन्त्री दोर्जीको हत्यामा संलग्न भएको आरोपमा छाब्डा लगायतलाई मृत्युदण्ड दिएको खबर हङकङमा बसेर रेडियोमा सुनेका रुस्टम्जीलाई राम्ररी थाहा थियो- यो नै नाटकको अन्त्य होइन । नभन्दै भूटानको राजनीतिमा केही महिनामै अर्को नाटक देखा पर्‍यो । लेन्डुपले वाङ्चुक परिवारलाई सखाप पारी ‘कु’ गर्ने असफल प्रयास गरेको चर्चासँगै उनलाई साथ दिने शाही भूटान आर्मीका सहायक कमान्डरहरू उगेन टासी र रिन्छिन दोर्जी १९६४ को डिसेम्बर ६ का दिन नेपालतिर भागे ।

असफल ‘कु’ बाट आफैं डराएका लेन्डुपले पनि सन् १९६४ को नोभेेम्बर २७ मा कार्यवाहक प्रधानमन्त्री पदबाट राजीनामा दिए र सुटुक्क नेपालको राजधानी काठमाडौंतिर भागे भन्ने खबर भूटानमा फैलियो । त्यसलाई ‘केही भूटानीहरूले भूटानको सत्ता पल्टाउने प्रयास गरेका र त्यसमा असफल भएपछि उनीहरू नेपालतिर भागेका’ रूपमा पनि चित्रण गरिएको पाइन्छ । नेपालले भने तत्कालै उनीहरूलाई आश्रय दिएको थियो ।

नेपालका लागि तत्कालीन भारतीय राजदूत रसगोत्राको सहयोगमा लगभग एक दशकको नेपाल बसाइपछि उनी चौथा राजा जिग्मे सिंगे नाम्ग्याल वाङ्चुकका पालामा भूटान फर्किएका थिए । रसगोत्राका अनुसार, नेपालमा रहँदा असाध्यै पश्चात्तापपूर्ण, दुःखी र ‘होमसिक’ महसुस गरेका लेन्डुपले भूटान र्फकने अनुमति पाएपछि ‘नरम प्रतिबन्धित स्वतन्त्रता’मा रहेर केही खेतीपाती गर्दै र धेरै गल्फ र टेनिस खेलेर समय बिताएका थिए । सन् २००७ मा क्यान्सरका कारण उनको मृत्यु भयो ।

भूटानी शाही सल्लाहकार परिषद्का सदस्य भइसकेका प्रजातन्त्रवादी नेता टेकनाथ रिजालले समेत ‘वाङ्चुक वंशमै सबैभन्दा परोपकारी र दूरदर्शी’ ठानेका भूटानी तेस्ा्रो राजा जिग्मे दोर्जी वाङ्चुकको भने १९७२ जुलाई २१ मा केन्याको राजधानी नैरोबीमा मृत्यु भएको थियो । १९५२ मार्च ३० मा राजा भएका दोर्जीलाई सन् १९६३ मै पहिलो पटक हृदयाघात भएको थियो । रिजालको अनुभवमा उनको मृत्युपछि जब छोरा जिग्मे सिंग्ये वाङ्चुक राजा भए, त्यसपछि सहिष्णुता, सहयोग र सुलह जस्ता भूटानी समाजका पहिचान खिइँदै गए र राजाले ‘नालायक कर्मचारीहरूको झुन्ड’बाट घेरिएर भूटानमा फलामे शासन सुरु गरे ।

यी चौथा राजाले जनतालाई प्रजातन्त्र दिने घोषणा गरे पनि जनतालाई त्यसप्रति विश्वास भएन । प्रजातन्त्र खोज्नेलाई आजीवन कारावासको सजाय दिइएको, दक्षिण र पूर्वका हजारौं नागरिकलाई वालिग मताधिकारबाट वञ्चित गरिएको, जनताको जग्गाको स्वामित्व र नागरिकताको समस्या कायमै रहेको जस्ता अनेक आधारमा त्यो प्रजातन्त्र जनताका लागि नभएर राजाका लागि मात्रै आएको भूटानी शरणार्थी विद्वान्हरूको मत रहेको पाइन्छ ।

चौथा राजाका साथै गद्दीनसिन राजाको शासन अन्तर्गतको भूटानको अवस्थाका सन्दर्भमा समेत लागू हुने यस्ता प्रसङ्गहरूमा लामीटारेले यस पुस्तकको मूल खण्डका साथै अनुसूचीमा राखिएका अन्तर्वार्ताहरूमा पनि आफ्ना विचार व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्तिका बारेमा लामीटारेको भनाइ निकै विवादित देखिन्छ । यसको इतिहास भने निकै नाटकीय छ । प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति पक्राउ परेपछि उसले विश्वासै गर्न कठिन हुने खालको खुलासा गर्‍यो । त्यो सिपाहीले आफूलाई सेना प्रमुख तथा तत्कालीन राजा जिग्मे दोर्जी वाङ्चुकका एक जना काका छाब्डाबहादुर नाम्ग्येलले गोली हान्ने आदेश दिएको बयान दियो । छाब्डालाई पक्राउ गरी थिम्पुस्थित सेनाले परेड खेल्ने चौरमा लगेर गोली हानी मृत्युदण्ड दिइएको थियो । सेनाका आपूर्ति प्रमुख अर्थात् क्वार्टरमास्टर जनरल बाच्छु फुगेललाई पनि हत्याको सम्बन्धमा पक्राउ गरी कडा हिरासतमा राखिएको थियो ।

छाब्डाको आदेश भनिए पनि प्रधानमन्त्रीको हत्याका खास योजनाकार भूटानी सेनाका क्वार्टरमास्टर जनरल बच्चु फुगेल रहेको रुस्टम्जीले लेखेका छन् । प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको युवाहरूलाई उच्च पदमा अवसर दिने नीतिका कारण नाम्ग्येल र फुगेल रुष्ट भएको बताइने गरेको छ । कडा सुरक्षामा राखिएका फुगेलको पनि १९६४ मे ८ मा थुनामै ज्यान गएको थियो ।

छाब्डाबहादुर नाम्ग्येललाई लामीटारेले स्टेट कंग्रेसका नेता भने पनि उनी वास्तवमा एक शुभचिन्तक मात्र थिए भन्ने कुरा अनुसन्धानहरूबाट पुष्टि हुन्छ । महासुर क्षत्री लगायत भूटान स्टेट कंग्रेसका कार्यकर्ताहरूसँग उनले निकै नजिकको सम्पर्क राखेको कुरा भने विभिन्न तथ्यले पुष्टि गरेको पाइन्छ । लेखक लामीटारेको दावीलाई महासुर क्षत्रीका छोरा रञ्जित क्षत्रीले पुष्टि गरेबाट पनि छाब्डा नाम्ग्येल र स्टेट कंग्रेसको सम्बन्ध स्पष्ट हुन्छ । महासुरको हत्यापश्चात् छाब्डाले नै महासुरको परिवारमा पुगेर उनको हत्या गरिएको जानकारी दिएका थिए । त्यति मात्र नभएर उनले नै महासुरको हत्यालाई लुकाउने प्रयास गरिंदैछ समेत भनेर त्यहाँबाट हिंडेका थिए । अन्तर्वार्तामा रञ्जितले भनेका छन्, ‘सदा झैं आयो, खाना खाने बेला भएको थियो । आमाले खाना दिनुभयो । सबै कुरा सकेपछि हिंड्ने बेलामा त्यो खबर सुनाएर गयो ।’

स्टेट कंग्रेससँग छाब्डाको सम्बन्धका विषयमा सत्यासत्य जे भए पनि त्यसबारे लामीटारेले बोलेको कुराले भने भूटानी राजदरबारभित्र आशंका बढाउन सहयोग नै गर्ने देखिन्छ । भूटानी राजनीतिका कतिपय रहस्यमय र विवादित पक्षहरूका साथै लामीटारेले भारतमा बसेर नेपालको राजनीतिसँग जोडिएर गरेका विभिन्न गतिविधि पनि परिशिष्टमा समेटिएका अन्तर्वार्ताहरूबाट खुलेका छन् । उनले राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि भारतको बनारस र कलकत्तातिर काम गर्दै बीपी कोइराला, सुवर्णशमशेरसँग सम्पर्कमा पुगेर कतिपय गतिविधि गरेको बताएका छन् । उनले अन्तर्वार्तामा उल्लेख गरेका कतिपय भनाइ सम्पादनका क्रममा छाँटिएको, कतिपयको तथ्यातथ्यमा विचार गरिएको भए पनि पुस्तकको सम्पादक तथा अन्तर्वार्ताकारको सीमाभित्र रहेर सबै तथ्यहरूको जाँच गर्न असमर्थ हुँदै त्यसको जिम्मा इतिहास-अन्वेषणका जिज्ञासुहरूलाई छोडिएको छ ।

(सन् १९७० मा देवीभक्त लामीटारेले लेखेको ‘दन्किंदो भूटान’ भूटानी शरणार्थी पत्रकारहरूको संस्था ‘भूटान मिडिया सोसाइटी’ ले प्रकाशन गरेको छ । विहीबार काठमाडौंमा सार्वजनिक पुस्तक अद्यावधिक र सम्पादन गरेका विनोद ढुंगेलको अनुभूति)



https://www.onlinekhabar.com/2023/12/1409468
.......

पत्रकार ढुङ्गेलको सम्पादकत्वमा ‘दन्किँदो भूटान’ बजारमा

पाँच दशक देखि प्रतिबन्धित उक्त पुस्तकलाई ढुङ्गेलको सम्पादकत्वमा बिहीबार देखि बजारमा ल्याइएको हो। सन् १९७० पहिलो संस्करण प्रकाशित उक्त पुस्तकको यो चौथो संस्करण हो।

भूटान नाम कसरी रहन गयो देखि त्यहाँ भएका आर्थिक, सामाजिक, राजनीतिक आन्दोलन र परिवर्तनका विषयमा पुस्तकमा उल्लेख छ।

नक्कली भूटानी शरणार्थी बनाएर अमेरिकामा नेपाली पठाएको आरोपमा राज्य सञ्चालनका उच्च अधिकारीहरू प्रहरी हिरासतमा रहेका बेला उक्त पुस्तकले भूटानका विषयमा जान्न र बुझ्न चाहनेका लागि पुस्तक निकै सहयोगी बन्नेछ।

भूटानको प्रजातान्त्रिक आन्दोलनको प्रस्थान बिन्दुका रूपमा उक्त पुस्तक रहेको बताउँदै सम्पादक ढुङ्गेलले भूटानका विषयमा जान्न रुचि राख्नेहरूका लागि पुस्तक सहयोगी बन्ने बताए। कार्यक्रममा सहभागीहरूले पुस्तकमा समेटिएका विभिन्न पक्षहरूका विषयमा चर्चा गरेका थिए।

https://nagariknews.nagariknetwork.com/arts/1384011-1703164404.html