‘दन्किंदो भूटान’लाई यस अवतारमा प्रकाशन गर्ने योजनाको बीजारोपण कुनै सुविचारित चिन्तनका आधारमा भएको थिएन । यस प्रकाशनको पृष्ठभूमिसँग भूटानी राजतन्त्रले सन् १९५१ मार्चमा क्रूरतापूर्वक हत्या गरेका महासुर बस्नेत क्षत्रीको जीवनगाथाको खोजीको प्रसङ्ग जोडिएको छ । संयोग के पर्न गएको छ भने जसरी यो पुस्तकको पुनः प्रकाशनमा क्षत्रीको जीवनगाथा खोजी गर्ने हुटहुटी जोडिएको छ, देवीभक्त लामीटारेको राजनैतिक जीवन तिनै क्षत्रीको जीवनलीला समाप्त पारिएको कथाबाट आरम्भ भएको छ ।
यथार्थमा लामीटारे स्वयं भूटानी शरणार्थी शिविरहरूसँग खासै सम्पर्कमा थिएनन् । दशकौंदेखि भारत ‘प्रवासमा रहेर प्रजातन्त्र र मानवअधिकारका लागि संघर्षरत’ भनिएका उनको सक्रियता मूलतः प्रचार-युद्धमा सीमित थियो । उनको पार्टी भूटान स्टेट कंग्रेसको अवस्था पनि त्यस्तै थियो ।
सन् १९५२ को नोभेम्बरमा केही स्वघोषित शरणार्थीहरूले भारतीय कंग्रेसको सरकारले आफ्नो राजनीतिक मुद्दालाई समर्थन र सहयोग गर्छ भनेर डी.बी. गुरुङको अध्यक्षतामा भूटानी सीमावर्ती भारतीय राज्य आसामको गोलपाडा जिल्लाको पाटगाउँमा गठन गरेको भूटान स्टेट कंग्रेस भूटानी शरणार्थीहरूमाझ सुनिएको नाम मात्र बाँकी रहन गएको थियो । सन् १९६९ मा प्रमुख नेताहरूले नै राजासमक्ष आत्मसमर्पण गरेपछि सो पार्टी कार्यकर्ताविहीन थियो ।
‘भूटान स्टेट कंग्रेस पार्टीको विधान र इतिहास’मा उल्लेख भएअनुसार महासुर क्षत्रीलाई हत्या गरेपछि भूटानी सत्ताले भूटान स्टेट कंग्रेसका महासचिव जी.पी. प्रसाईं अर्थात् गणेशप्रसाद प्रसाईंलाई समेत मार्ने प्रयास गरेको थियो तर उनी ‘दैव संयोगले’ बाँचे ।
सन् १९५४ मा भूटान स्टेट कंग्रेसले सर्भाङमा आयोजना गरेको सत्याग्रहमाथि सरकारले दमन गरेपछि त्यसका अगुवाहरू फेरि भारततिरै फर्किन बाध्य बनाइएका थिए । सन् २००५ मा ७९ वर्षको उमेरमा निधन भएका थुप्रै अनुसन्धानमूलक पुस्तकका लेखक ‘क्यालिफोर्निया विश्वविद्यालयका दक्षिण एशियाली मामिलाका सबैभन्दा प्रतिष्ठित विशेषज्ञ’ लियो युजिन रोजका अनुसार, सरकारको दमनकारी कारबाहीको तुलनामा भूटान कंग्रेसले नेपाली भूटानी समुदायको व्यापक समर्थन जुटाउन नसकेका कारण आन्दोलन विफल भएको थियो ।
सत्याग्रहपछि भूटान स्टेट कंग्रेस ‘रित्तिएको शक्ति’ मा परिणत भएको थियो भने भूटानी अधिकारीहरू पनि सम्भवतः दमनकारी नीति मात्र अपनाउनु उचित नहुने महसुस गरी राज्यको मूल नीतिसँग नबाझिने हदसम्म केही छुट दिने निर्णयमा पुगेका थिए । सरकारले त्यस्तो निर्णय लिने मोडमा पुग्नुमा फेरि पनि भूटान स्टेट कंग्रेसका नेताहरूको भूमिका रहेको दावी पनि गर्ने गरिएको पाइन्छ ।
प्रवासिएकाहरूले भारत सरकार मार्फत भूटानलाई दबाब दिने नीति अन्तर्गत एक प्रतिनिधिमण्डल नयाँदिल्ली पठाएको र त्यसमा अध्यक्ष डी.बी. गुरुङ सहित महासचिव प्रसाईं सहभागी रहेको पार्टीले आफ्नो दस्तावेजमा उल्लेख गरेको छ । सो दावी अनुसार, टोलीले तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसित नयाँदिल्लीमा भेट गरेको थियो ।
नेहरू र तत्कालीन भूटानी राजा जिग्मे दोर्जी वाङ्चुकबीच नयाँदिल्लीस्थित राजभवनमा कुराकानी भएको विवरण समेत समेटिएको सो दस्तावेजमा उल्लेख भए अनुसार, छलफलपछि नेहरूले भारतका एक जना डेपुटी मिनिस्टरलाई भूटान पठाएका थिए ।
बैठकमा राजा दोर्जीले भूटानमा रहेका नेपाली मूलका जनताको स्थिति राम्रो पार्ने र प्रजातान्त्रिक सुधार गर्दै जाने आश्वासन दिएका थिए ।
त्यसअलावा छोरी इन्दिरा गान्धी सहित भूटान भ्रमणमा निस्केका तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूलाई सिक्किमको गाङ्तोकमा भूटान स्टेट कंग्रेसका नेता डी.बी. गुरुङले हस्ताक्षर गरेको पाँचबुँदे एक ज्ञापनपत्र १९५८ सेप्टेम्बर १७ मा बुझाइएको थियो भने सो पार्टीले सिलिगुडीस्थित कार्यालयबाट विभिन्न विषयमा बेलाबेलामा विज्ञप्ति पनि जारी गरिरहन्थ्यो ।
यी सबै गतिविधिको निरन्तरतामा सन् १९६९ अगस्त ६ मा भूटानी राजा जिग्मे दोर्जी वाङ्चुकले भूटान स्टेट कंग्रेसका निर्वासित मुख्य नेता डी.बी. गुरुङ सहितका नेताहरूलाई आममाफी दिएर भूटान र्फकन अनुमति दिए । त्यसमा तिलकबहादुर गुरुङ, दलबहादुर खड्का, गणेशप्रसाद प्रसाईं आदि पर्थे । राजाको आम माफीको पत्रमा उनीहरूको कुनै सम्पत्ति भूटान सरकारले जफत गरेको भए क्षतिपूर्ति दिने उल्लेख थियो भने भूटान स्टेट कंग्रेस विघटन गरेको हुनुपर्ने र भूटान फर्केर कुनै राजनीतिक दलको गतिविधिमा नलाग्ने पूर्वशर्त समेत थियो ।
त्यतिखेरसम्म भूटान स्टेट कंग्रेसमा संलग्न भएका व्यक्तिहरू भारतको आसाम, मणिपुर हुँदै बर्मा र नेपालसम्म शरणार्थीका रूपमा छरिइसकेका थिए । त्यसपछि स्टेट कंग्रेसका डी.बी. गुरुङ लगायत केही व्यक्ति राजासँग मिले पनि महासचिव प्रसाईं भने प्रजातन्त्र र मानवअधिकार नदिएसम्म कुनै हालतमा पनि राजासँग नमिल्ने अडान लिएर प्रवासमै बसे । सो समयका भुक्तभोगी कार्यकर्ता देवीभक्त लामीटारे भने घर, धन-सम्पत्ति र परिवार समेत त्यागी भारतको हरिद्वारमा पुगेर संन्यासीको रूप धारण गरी भूटानी शासकको विरुद्धमा पटक-पटक पुस्तकहरू प्रकाशित गर्दै जीवन बिताउन थाले ।
अध्यक्षको आत्मसमर्पणपछि विघटित अवस्थामा पुगेको कंग्रेसलाई देवीभक्त लामीटारेले सन् १९७१ मा पुनर्गठन गरी नेतृत्व सम्हालेर भूटानी शासकका अन्याय, अत्याचार र दमनका विरुद्ध लेखिरहे । यता सन् १९८९ मा भूटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालको गिरफ्तारीपछि कालेबुङ कलेजका विद्यार्थी देवदत्त शर्मालाई पार्टीको अध्यक्ष नियुक्त गरियो । तर, उनलाई पनि भूटानी प्रहरीले गिरˆतार गरेपछि पार्टी नेतृत्वविहीन भयो । त्यो अवस्थामा भूटान पिपल्स पार्टीका आर.के. बुढाथोकीले धम्की दिएका कारण दुर्गा सिटौलाले लामीटारेलाई सभापति नियुक्त गर्दै भूटान कंग्रेस संगठित गरेको सो पार्टीको इतिहासमा उल्लेख गरिएको छ ।
भूटानी शरणार्थीहरूका लागि एक राजनीतिक नेता, शरणार्थी नेताहरूका लागि विवादित एक्लो कागजी बाघ, उनका आध्यात्मिक अनुयायीहरूका लागि लामीटारे एक सन्त महाआत्मा थिए भने मेरा लागि उनी सहकार्य गर्दा गर्दैका एक साहसिक ऐतिहासिक रोचक पात्र रहेरै बिदा भए
यसैबीचमा १९९३ मार्च २० मा भूटान स्टेट कंग्रेसका महासचिव गणेशप्रसाद शर्मा प्रसाईं र भूटान लोकतान्त्रिक राष्ट्रिय पार्टी (बी.एन.डी.पी.) का महासचिव देवनारायण शर्मा ढकालले संयुक्त हस्ताक्षर गरेको एक पृष्ठको एउटा ‘घोषणापत्र’ जारी गरे, जसमा प्रसाईंले भूटान स्टेट कंग्रेसलाई बी.एन.डी.पी.मा ‘विलय भएको’ घोषणा गरेका छन् । तर, पार्टी गतिविधिमा नरहेका र भूटानी आन्दोलनका गतिविधिबाट टाढा रहेका प्रसाईंले त्यस्तो कदम चालेपछि देवीभक्त लामीटारेले सन् १९९३ मा पार्टी पुनर्गठन गरी भूटान कंग्रेसको विधिवत् स्थापना गरेको गंगाराम लामीटारेले लेखेको देवीभक्तको जीवनीमा उल्लेख छ ।
त्यसपछि पनि देवीभक्त लामीटारेले भूटान स्टेट कंग्रेस, भूटान राष्ट्रिय कंग्रेस वा भूटान कंग्रेस जस्ता नामहरूलाई समानान्तर रूपमा प्रयोग गरिरहेको पाइन्छ । लामीटारेको सभापतित्वमा भूटान स्टेट कंगे्रसका महासचिव रहेका दुर्गा सिटौलाले पार्टी नेतृत्वविहीन हुँदा लामीटारेले नेतृत्व गर्न स्वीकारे पनि उनी भारतमा बसेर शिविरबाट सञ्चालित राजनीतिमा सक्रिय हुन नसकेको बताएका छन् ।
लामीटारे एक साहसी, असीमित जोश, दक्षता र राष्ट्रप्रतिको आस्था भएको व्यक्ति भए पनि साथीभाइ र पार्टीका कार्यकर्ताको सहयोगको अभावमा एक्लिएको उनको मूल्याङ्कन छ । शिविरमा रहेका साथीहरू विदेशतिर लागेपछि लामीटारेलाई शिविरमा ल्याएर मूल राजनीतिमा ल्याउने काम हुन नसकेको महसुस गरेका सिटौलाले भूटानी शासनमाथि सशक्त धावा बोलेका लामीटारेका किताबहरू भूटानमा पनि पुगेका र त्यहाँका पनि कतिपय जनताले पढेको दावी गरेका छन् ।
लामीटारेलाई ‘बाघजस्तो मान्छे’का रूपमा मूल्याङ्कन गरेका भूटानी डा. भम्पा राईका विचारमा लामीटारेलाई एउटा साधु मात्र ठान्नु गलत हो । ‘भारत, नेपाल, भूटानका साथै संसारको राजनीति पनि बुझेको भूटानी नेता लामीटारे मात्र’ ठानेका डा. राईका विचारमा लामीटारेलाई आन्दोलनको नेतृत्व नदिनु भूटानी प्रजातान्त्रिक नेताहरूको गल्ती थियो ।
लामीटारेको अवस्थालाई भूटान पिपल्स पार्टीका नेता बलराम पौडेलले पनि यस कारण ‘दुःखको कुरा’ मानेका छन् कि ‘न त उनलाई कसैले साथ दियो, न त उनले पनि अरू कसैसित सम्पर्क गर्ने प्रयत्न नै गर्दै आए ।’ त्यस्तो अवस्थाका मान्छेलाई किन खोज्नु, कसले खोज्नु ? अनि कसरी भेट्नु !
लामीटारेका बारेमा थप अध्ययन गर्ने र पाएसम्म भेट्ने उद्देश्यले हामी सम्पर्क सूत्रहरूको सहारामा बनारसबाट नयाँदिल्ली पुग्यौं । दिल्लीबाट अमृतसर पुग्यौं । दिल्ली-यात्रा केही भेटघाटका साथै केही अध्ययन सामग्री र केही समसामयिक सूचना संकलनमा सीमित भयो । अमृतसर-यात्रा त फगत पर्यटन हुन पुग्यो । जब लामीटारे हरिद्वार नै पुगिसकेको हुनसक्ने सूचना प्राप्त भयो, तब भने हामी पञ्जाबको अमृतसरबाट पुनः रेलयात्रा गर्दै अन्ततः लामीटारेले जीवनको सर्वाधिक समय बिताएको धार्मिक शहर हरिद्वार पुग्यौं ।
हरिद्वारमा उनको सार्वजनिक स्थायी ठेगाना थियो- गोविन्द हरि निवास, एम.जी. रोड, कनखल । लामीटारेकोे यो पत्राचारको ठेगाना खासमा एक राजनीतिक ठेगाना मात्र थियो । ढोका बन्द थियो तर ताल्चा लगाइएको थिएन । ढोकाको बायाँपट्ट िभित्तामा झुन्ड्याइएको पुरानो सानो आकारको संकेत पाटीले हामी सही ठाउँमा आइपुगेको निधो दिन्थ्यो- डी.बी. लामीटारे, षट् दर्शन संत प्रकाशन, गोविन्दहरि निवास, गान्धीरोड, कनखल, यू.पी.। भारत स्वतन्त्र भएपछि उत्तरप्रदेशभित्र रहेको भए पनि २००० नोभेम्बर ९ मै कुमाउ र गढवाल क्षेत्रलाई समेटेर ‘उत्तराञ्चल’ बनाइएको र २००७ को जनवरी १ देखि ‘उत्तराखण्ड’ भइसक्दा समेत २०११ सम्म लामीटारेको संकेत पाटीमा यू.पी. नै हुनुले धेरै कुराको संकेत गर्थे ।
मेरा लागि लामीटारे र उनका अन्तिम दिनहरू
महासुर क्षत्रीको जीवनी खोज्ने लहडबाट शुरू भएको मेरो यात्रा ‘दन्किंदो भूटान’ को सम्पादन गर्ने मात्र हैन, देवीभक्त लामीटारेेको जीवनीको एक हिस्साको साक्षी जस्तो हुन पुग्यो । भूटानमा प्रजातन्त्र बहालीका लागि चिन्तनशीलहरू भन्दा क्रियाशीलहरूको संख्या कम हुँदै गइरहेको बेलामा म भने भूटानमा प्रजाराजको अभियान चलाइरहेका ‘एक्लो बृहस्पति’ को ‘पेपर वार’ लाई झन्-झन् नजिकबाट नियाल्दै जान थालेको थिएँ ।
भूटानमा प्रजातन्त्र र मानवअधिकारका लागि निकै सक्रिय भएकाहरू समेत शिथिल भइसकेको समयमा लामीटारेको ताप भने न घटेको थियो, न बढेको । उनको एकनासे साधु अभियानको दूरकोे साक्षी मलाई उनी एक रोचक मात्र लाग्दैथिए । आरम्भमा सुन्दै नसुनेको नाम देवीभक्त लामीटारेको किताबको सम्पादनको जिम्मेवारी मेरा लागि पूरा गर्नैपर्ने एक ‘मिसन’ मा परिणत हुन पुगेको थियो । इमानपूर्वक भन्नुपर्दा उनको जीवन छँदाभन्दा उनको मृत्युपछि यो जिम्मेवारी मेरा लागि भारी लागेको थियो ।
हरिद्वार पुगिसकेर उनलाई भेट्ने बेलासम्म पनि मेरो दिमागमा लामीटारेका बारेमा कुनै तम्तयार छवि निर्मित थिएन । सन् ९० को दशकमा भूटानी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भएकाहरूका लागि नै पुराना भइसकेका लामीटारेका बारेमा थाहा पाउँदै जाँदा मेरो लागि यी ‘एक रोचक पात्र’ बन्दै गए । निजी लहडभन्दा अलि बढी व्यावसायिक तवरले काम गरेको भए अहिलेको जमाना अनुसारका सञ्चारमाध्यमका लागि यी एक ‘बिकाऊ आइटम’ अवश्य थिए ।
उनीसँगको मेरो सरसंगतको यही अवधिमा सोसल मिडिया प्लेटर्फमहरूको लोकप्रियता ठाडो उकालो चढेको थियो । उदाहरणका लागि उनलाई मैले पहिलोपल्ट भेटेको वर्ष २०११ मा ५० करोड रहेका युट्युबका ‘मासिक सक्रिय प्रयोगकर्ता’ दश वर्षको अवधिमा पाँच गुणाले बढेर २ अर्ब ५० करोड पुगिसकेका थिए ।
यसबाहेक अरू प्लेटर्फमका प्रयोगकर्ता पनि त्यसरी नै बढेका थिए । तर, त्यस्ता प्लेटर्फममा छरिदिएर मैले उनको समथर गंगाकिनारको शान्त सन्त दैनन्दिनीमा विघ्न खडा गर्न चाहिनँ । भलै उनी आफैं त्यो डिजिटल दुनियाँमा निजी वेबसाइट लिएर नउभिएका होइनन् । मेरा लागि लामीटारे आमसञ्चारमाध्यममा तत्काल रुचिपूर्वक खपत हुने एक पात्र अवश्य थिए, जुन काम मेरो प्राथमिकतामा कहिल्यै परेन ।
मेरा लागि त उनी कुनै राजनीतिक दलको नेताको घेराभित्र अटाउने मान्छे पनि थिएनन् । घटनाक्रमहरूका बारेमा उनको विश्लेषण फुक्काफाल र अनुमान गर्न नसकिने खालका थिए । नितान्त हिन्दु साधुको भेषभूषा र जीवनशैली अपनाएका उनी स्वयंमा धर्मनिरपेक्षताका पक्षपाती थिए । चलनचल्तीको राजनीतिक भाषामा उनलाई अराजकतावादी ठान्नेहरूले पनि जब उनी दशकौंदेखि भूटानको राजनीतिक भविष्यका बारेमा समान धारणा दोहोर्याइरहेको पाउँछन्, उनलाई एक प्रतिबद्ध लोकतन्त्रवादी नठानी सुखै हुँदैन ।
महासुर क्षत्रीको हत्याको किंवदन्ती जस्तो लाग्ने त्रासद कथासँग जोडिएर उदाएका लामीटारेको जीवन पनि किंवदन्ती भन्दा फरक रहेन । १८४८ को शुरूमै आफ्नै घरमा गोप्य बैठक राख्ने, भूटान स्टेट कंग्रेस गठन गर्नेदेखि उनको हत्याको दिनसम्मका उनीबारे सार्वजनिक भएका विवरणहरू पढ्दा महासुर क्षत्री दन्त्य कथाका पात्र जस्ता लाग्छन् । भूटानी सत्ताले छालाको थैलोमा पोको पारेर जिउँदै सुनकोशी नदीमा बगाउने बेलासम्ममा पनि उनले देखाएको सुरोपनका कथाहरू हेर्दा महासुर भूटानी प्रजातान्त्रिक आन्दोलनका साँच्चै सुरो एक महापात्र देखिन्छन् ।
त्यसरी हेर्दा शूरवीर महासुरको जीवन कहानी भूटानी प्रजातान्त्रिक आन्दोलनको इतिहासको आँखीझ्याल पनि हो । र, त्यो आँखीझ्यालबाट देखा परेका एक विचित्र पात्र हुन्- देवीभक्त लामीटारे । उनको जीवनीलाई आँखीझ्याल बनाएर पनि भूटानी प्रजातान्त्रिक आन्दोलनको उठान, बैठान, भाष्य र भविष्यको लेखाजोखा गर्न सकिन्छ ।
यस पुस्तकमा विभिन्न ठाउँमा छरिएर अटाएको उनको निजी जीवन, विचार, जानकारी र व्यवहार उनको जीवनीको विस्तृतीकरणका लागि थप सामग्री हुनेछन् । यी सबैको समग्र अध्ययन र तिनले दिने मार्गदर्शन भूटानी प्रजातान्त्रिक आन्दोलनकै आँखीझ्याल हुने विश्वास गर्न सकिन्छ । यसरी लामीटारे अब भूटानी प्रजातान्त्रिक आन्दोलनमा संलग्न वा असंलग्न उत्सुक अनुसन्धाता तथा इतिहासकारहरूको अध्ययनको विषय भइसकेका छन् ।
‘दन्किंदो भूटान’ को नयाँ अवतारका केही प्रति बोकेर फेरि उनलाई भेट्न पुग्ने चाहना र योजना कहिल्यै पूरा नहुने गरी समाप्त भयो । हाम्रो योजनालाई समयको बलियो चक्काले चूर्णमा परिणत गरिदियो, त्यसको भावनात्मक पक्ष मेरा निजी हुन् । सार्वजनिक महत्वको जानकारीचाहिं उनका अन्तिम दिनहरू कस्ता रहेका थिए भन्ने हुनसक्छ ।
भूटानी शरणार्थीहरूका लागि एक राजनीतिक नेता, शरणार्थी नेताहरूका लागि विवादित एक्लो कागजी बाघ, उनका आध्यात्मिक अनुयायीहरूका लागि लामीटारे एक सन्त महाआत्मा थिए भने मेरा लागि उनी सहकार्य गर्दा गर्दैका एक साहसिक ऐतिहासिक रोचक पात्र रहेरै बिदा भए ।
तीन अन्तर्वार्ता : पूरक ‘दन्किंदो भूटान’
यस पुस्तकमा समेटिएका उनका तीनवटा अन्तर्वार्ताबाट भूटानी राजदरबारका कतिपय यस्ता सन्दर्भहरू पनि तानिन आएका छन्, जसलाई स्पष्ट नगरी अन्तर्वार्ता मात्र पढ्दा त्यसको सान्दर्भिकता बुझिंदैन र तात्पर्य खुल्दैन । उदाहरणका लागि सन् १९५२ देखि पदासीन भूटानका प्रथम प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको १९६४ अप्रिल ५ मा फुन्सोलिङमा भएको हत्या र उनका भाइ लेन्डुप दोर्जी कार्यवाहक प्रधानमन्त्री भएको प्रसङ्ग ।
भूटानी राजपरिवारकै रूपमा चिनिने दोर्जी परिवारका सदस्य प्रधानमन्त्री जिग्मे पाल्देन रानी आसी केसाङ छोदेनका भाइ थिए । सन् १९४२ देखि सिक्किम र भूटानको राजदरबारसँग मित्रता रहेका बेलायती प्रशासक नारी के. रुस्टम्जी सन् १९६३ मा भूटान सरकारको सल्लाहकार नियुक्त भएपश्चात् सो हत्याकाण्ड हुँदा भूटानमै थिए । उनले हत्याकाण्ड लगत्तैका विवरणहरूलाई समेटेर लेखेको पुस्तकमा उल्लेख गरेअनुसार, प्रधानमन्त्री जिग्मे साथीहरूसँग साँझको खाना खाइसकेपछि माइला भाइ उग्येन रिम्पोछे, रिम्पोछेकी श्रीमती सावित्री र अन्य केही व्यक्तिसँग राजकीय अतिथिगृहमा तास खेलेर बसिरहेका बेला चुरोट सल्काउन लाग्दा १० फिट जति पछाडि झ्यालबाट गोली हानी उनको हत्या गरिएको थियो । त्यतिबेला भूटानका तत्कालीन राजा जिग्मे दोर्जी वाङ्चुक स्वास्थ्योपचारका सिलसिलामा स्विट्जरल्यान्डको सबैभन्दा ठूलो शहर जुरिकमा थिए । उनलाई मुटुको समस्या थियो ।
अमेरिकामा अध्ययन गर्ने पहिलो भूटानीको परिचय समेत पाएका लेन्डुप दोर्जी उनको दाजुको हत्या भएको दुई महिना १९ दिनपछि चार महिना भूटानको निमित्त प्रधानमन्त्री भए । नेपालका लागि सन् १९७३ देखि १९७६ सम्म भारतीय राजदूत रहेका र भारतीय विदेश सचिवसम्म भएर सन् १९८५ मा सेवानिवृत्त महाराजाकृष्ण रसगोत्राले आफ्नो किताबमा उल्लेख गरेअनुसार दाजुको हत्यामा राजपरिवारको हात रहेको शंका गर्दै लेन्डुपले राजालाई अपदस्त गर्नका लागि भारतको सहयोग माग्न आफ्ना एक विश्वासपात्रलाई विशेष दूतका रूपमा दिल्ली समेत पठाएका थिए । तर, उनको किताब प्रकाशन भएको केही दिनमै दोर्जी दाजुभाइकी बहिनी तथा तत्कालीन रानी आशी केसाङ वाङ्चुकले रसगोत्राको आरोपलाई ‘झुट तथा बदनियतपूर्ण’ भनेर खण्डन गरेकी छिन् ।
त्यसो त हत्याकाण्डको छानबिन गर्न राजाले डासो गेदेन ठिन्ले दोर्जीको सभापतित्वमा गठन गरेको रोयल कमिशनले गरेको शोधखोजको क्रममा अवैध रानी आशि याङ्कीलाई महाराजा स्वयम्ले एउटा पिस्तोल दिएको र त्यसै पिस्तोलको प्रहारबाट प्रधानमन्त्रीको हत्या भएको भेद खुलेको भए पनि यस कुरालाई गोप्य राखिएको समेत दावी गरिएको पाइन्छ ।
सो दावी अनुसार हत्याकाण्डमा दोर्जी परिवारकै हात रहेको शङ्कालाई थप पुष्टि गरिदिने अरू दुई वटा आधार पनि थिए- एक, भारत सरकारको सहयोगमा झिकाइएको खोजी कुकुरले प्रधानमन्त्री पाल्देन दोर्जीकी बहिनी तथा राजाकी दिदी आशि टासीले दोर्जी परिवारको दरबार नामसेलिङ्गमा भान्सेको नोकरी दिएका सतु नामक व्यक्तिलाई सोझै गएर समात्नु, दुई, आशि टासीले पनि खुलेरै राजाको विरोध गर्ने गर्नु ।
प्रधानमन्त्री दोर्जीको हत्यामा संलग्न भएको आरोपमा छाब्डा लगायतलाई मृत्युदण्ड दिएको खबर हङकङमा बसेर रेडियोमा सुनेका रुस्टम्जीलाई राम्ररी थाहा थियो- यो नै नाटकको अन्त्य होइन । नभन्दै भूटानको राजनीतिमा केही महिनामै अर्को नाटक देखा पर्यो । लेन्डुपले वाङ्चुक परिवारलाई सखाप पारी ‘कु’ गर्ने असफल प्रयास गरेको चर्चासँगै उनलाई साथ दिने शाही भूटान आर्मीका सहायक कमान्डरहरू उगेन टासी र रिन्छिन दोर्जी १९६४ को डिसेम्बर ६ का दिन नेपालतिर भागे ।
असफल ‘कु’ बाट आफैं डराएका लेन्डुपले पनि सन् १९६४ को नोभेेम्बर २७ मा कार्यवाहक प्रधानमन्त्री पदबाट राजीनामा दिए र सुटुक्क नेपालको राजधानी काठमाडौंतिर भागे भन्ने खबर भूटानमा फैलियो । त्यसलाई ‘केही भूटानीहरूले भूटानको सत्ता पल्टाउने प्रयास गरेका र त्यसमा असफल भएपछि उनीहरू नेपालतिर भागेका’ रूपमा पनि चित्रण गरिएको पाइन्छ । नेपालले भने तत्कालै उनीहरूलाई आश्रय दिएको थियो ।
नेपालका लागि तत्कालीन भारतीय राजदूत रसगोत्राको सहयोगमा लगभग एक दशकको नेपाल बसाइपछि उनी चौथा राजा जिग्मे सिंगे नाम्ग्याल वाङ्चुकका पालामा भूटान फर्किएका थिए । रसगोत्राका अनुसार, नेपालमा रहँदा असाध्यै पश्चात्तापपूर्ण, दुःखी र ‘होमसिक’ महसुस गरेका लेन्डुपले भूटान र्फकने अनुमति पाएपछि ‘नरम प्रतिबन्धित स्वतन्त्रता’मा रहेर केही खेतीपाती गर्दै र धेरै गल्फ र टेनिस खेलेर समय बिताएका थिए । सन् २००७ मा क्यान्सरका कारण उनको मृत्यु भयो ।
भूटानी शाही सल्लाहकार परिषद्का सदस्य भइसकेका प्रजातन्त्रवादी नेता टेकनाथ रिजालले समेत ‘वाङ्चुक वंशमै सबैभन्दा परोपकारी र दूरदर्शी’ ठानेका भूटानी तेस्ा्रो राजा जिग्मे दोर्जी वाङ्चुकको भने १९७२ जुलाई २१ मा केन्याको राजधानी नैरोबीमा मृत्यु भएको थियो । १९५२ मार्च ३० मा राजा भएका दोर्जीलाई सन् १९६३ मै पहिलो पटक हृदयाघात भएको थियो । रिजालको अनुभवमा उनको मृत्युपछि जब छोरा जिग्मे सिंग्ये वाङ्चुक राजा भए, त्यसपछि सहिष्णुता, सहयोग र सुलह जस्ता भूटानी समाजका पहिचान खिइँदै गए र राजाले ‘नालायक कर्मचारीहरूको झुन्ड’बाट घेरिएर भूटानमा फलामे शासन सुरु गरे ।
यी चौथा राजाले जनतालाई प्रजातन्त्र दिने घोषणा गरे पनि जनतालाई त्यसप्रति विश्वास भएन । प्रजातन्त्र खोज्नेलाई आजीवन कारावासको सजाय दिइएको, दक्षिण र पूर्वका हजारौं नागरिकलाई वालिग मताधिकारबाट वञ्चित गरिएको, जनताको जग्गाको स्वामित्व र नागरिकताको समस्या कायमै रहेको जस्ता अनेक आधारमा त्यो प्रजातन्त्र जनताका लागि नभएर राजाका लागि मात्रै आएको भूटानी शरणार्थी विद्वान्हरूको मत रहेको पाइन्छ ।
चौथा राजाका साथै गद्दीनसिन राजाको शासन अन्तर्गतको भूटानको अवस्थाका सन्दर्भमा समेत लागू हुने यस्ता प्रसङ्गहरूमा लामीटारेले यस पुस्तकको मूल खण्डका साथै अनुसूचीमा राखिएका अन्तर्वार्ताहरूमा पनि आफ्ना विचार व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्तिका बारेमा लामीटारेको भनाइ निकै विवादित देखिन्छ । यसको इतिहास भने निकै नाटकीय छ । प्रधानमन्त्रीलाई गोली हान्ने व्यक्ति पक्राउ परेपछि उसले विश्वासै गर्न कठिन हुने खालको खुलासा गर्यो । त्यो सिपाहीले आफूलाई सेना प्रमुख तथा तत्कालीन राजा जिग्मे दोर्जी वाङ्चुकका एक जना काका छाब्डाबहादुर नाम्ग्येलले गोली हान्ने आदेश दिएको बयान दियो । छाब्डालाई पक्राउ गरी थिम्पुस्थित सेनाले परेड खेल्ने चौरमा लगेर गोली हानी मृत्युदण्ड दिइएको थियो । सेनाका आपूर्ति प्रमुख अर्थात् क्वार्टरमास्टर जनरल बाच्छु फुगेललाई पनि हत्याको सम्बन्धमा पक्राउ गरी कडा हिरासतमा राखिएको थियो ।
छाब्डाको आदेश भनिए पनि प्रधानमन्त्रीको हत्याका खास योजनाकार भूटानी सेनाका क्वार्टरमास्टर जनरल बच्चु फुगेल रहेको रुस्टम्जीले लेखेका छन् । प्रधानमन्त्री जिग्मे पाल्देन दोर्जीको युवाहरूलाई उच्च पदमा अवसर दिने नीतिका कारण नाम्ग्येल र फुगेल रुष्ट भएको बताइने गरेको छ । कडा सुरक्षामा राखिएका फुगेलको पनि १९६४ मे ८ मा थुनामै ज्यान गएको थियो ।
छाब्डाबहादुर नाम्ग्येललाई लामीटारेले स्टेट कंग्रेसका नेता भने पनि उनी वास्तवमा एक शुभचिन्तक मात्र थिए भन्ने कुरा अनुसन्धानहरूबाट पुष्टि हुन्छ । महासुर क्षत्री लगायत भूटान स्टेट कंग्रेसका कार्यकर्ताहरूसँग उनले निकै नजिकको सम्पर्क राखेको कुरा भने विभिन्न तथ्यले पुष्टि गरेको पाइन्छ । लेखक लामीटारेको दावीलाई महासुर क्षत्रीका छोरा रञ्जित क्षत्रीले पुष्टि गरेबाट पनि छाब्डा नाम्ग्येल र स्टेट कंग्रेसको सम्बन्ध स्पष्ट हुन्छ । महासुरको हत्यापश्चात् छाब्डाले नै महासुरको परिवारमा पुगेर उनको हत्या गरिएको जानकारी दिएका थिए । त्यति मात्र नभएर उनले नै महासुरको हत्यालाई लुकाउने प्रयास गरिंदैछ समेत भनेर त्यहाँबाट हिंडेका थिए । अन्तर्वार्तामा रञ्जितले भनेका छन्, ‘सदा झैं आयो, खाना खाने बेला भएको थियो । आमाले खाना दिनुभयो । सबै कुरा सकेपछि हिंड्ने बेलामा त्यो खबर सुनाएर गयो ।’
स्टेट कंग्रेससँग छाब्डाको सम्बन्धका विषयमा सत्यासत्य जे भए पनि त्यसबारे लामीटारेले बोलेको कुराले भने भूटानी राजदरबारभित्र आशंका बढाउन सहयोग नै गर्ने देखिन्छ । भूटानी राजनीतिका कतिपय रहस्यमय र विवादित पक्षहरूका साथै लामीटारेले भारतमा बसेर नेपालको राजनीतिसँग जोडिएर गरेका विभिन्न गतिविधि पनि परिशिष्टमा समेटिएका अन्तर्वार्ताहरूबाट खुलेका छन् । उनले राजा महेन्द्रले पञ्चायती व्यवस्था लादेपछि भारतको बनारस र कलकत्तातिर काम गर्दै बीपी कोइराला, सुवर्णशमशेरसँग सम्पर्कमा पुगेर कतिपय गतिविधि गरेको बताएका छन् । उनले अन्तर्वार्तामा उल्लेख गरेका कतिपय भनाइ सम्पादनका क्रममा छाँटिएको, कतिपयको तथ्यातथ्यमा विचार गरिएको भए पनि पुस्तकको सम्पादक तथा अन्तर्वार्ताकारको सीमाभित्र रहेर सबै तथ्यहरूको जाँच गर्न असमर्थ हुँदै त्यसको जिम्मा इतिहास-अन्वेषणका जिज्ञासुहरूलाई छोडिएको छ ।
(सन् १९७० मा देवीभक्त लामीटारेले लेखेको ‘दन्किंदो भूटान’ भूटानी शरणार्थी पत्रकारहरूको संस्था ‘भूटान मिडिया सोसाइटी’ ले प्रकाशन गरेको छ । विहीबार काठमाडौंमा सार्वजनिक पुस्तक अद्यावधिक र सम्पादन गरेका विनोद ढुंगेलको अनुभूति)