Monday, October 2, 2023

चिताको आगो साँच्चै तातो हुँदोरहेछ

रमेश गौतमको चिताको आगो साँच्चै तातो हुँदोरहेछ- नयाँ दिशातर्फ लम्केको साहित्य, एक फुर्सतको कोसेली


Govinda Rizal
August 10, 2022 · 3 minutes


डा. गोविन्द रिजाल

कवि रमेश गौतमको सन २०२२ को जुन महिनामा प्रकाशित कृति चिताको आगो साँच्चै तातो हुँदोरहेछ एउटा अनौठो सङ्गममा रचिएका कविताहरूको सँगालो हो । प्राय साहित्यका विद्यार्थीहरूले विज्ञान र विज्ञानका विद्यार्थीहरू साहित्य दूर दूर गर्छन् । तर यो सङ्ग्रहका अधिकांश कविताहरूले साहित्य र विज्ञानलाई घोलेर मिश्रित स्वाद दिएका छन्, युद्ध र गुलाबको मिश्रण जस्तै ।

विडम्बना यो पुस्तक प्रायः साहित्य प्रेमीले पाएका होलान् जसलाई अधिकांश परिवेश असान्दर्भिक लाग्न सक्छन् र विज्ञान सम्बन्धी कविताहरू पढ्न चाहने, वैज्ञानिक सिर्जनाहरू खोजिरहेका, विज्ञानका विद्यार्थीहरूले यो पुस्तकबारे सुइँको सम्म नपाएका हुन सक्छन् । अद्भुत शैली, व्यापक विरोधाभासपूर्ण रूपकको प्रयोग, र अस्थिर भावनाहरूले भरिपूर्ण प्रेम, बिछोड, तड्पाई, वियोगले उथलपुथल दुर्लभ कृतिले सही पाठक नपाउने र इच्छुक पाठकले कृति नपाउने योग देखिन्छ । यो अन्तरको न्यूनीकरणमा टेवा पुगोस् भन्ने मेरो समीक्षाको उद्देश्य राखेको छु ।

आधुनिक प्रविधिलाई जीवनसँगको तुलना नवीन प्रयोग हो ।

“कति फरक पार्छ
एक चिन्हले
एक संयोजनले
एक विभाजनले
एक सीमाङ्कनले
एक कोष्ठकले
……

जीवन पनि त  ग्राफिक डिस्प्ले क्यालकुलेटर न हो !” (पृः १६२)

चिताको आगो साँच्चै तातो हुँदोरहेछ

मानव सङ्घर्षको कथा हो वा खानीको वर्णन पाठकहरूलाई उस्तै उस्तै लाग्छ

“फलाम पगाल्ने पसिनाले
स्वार्थवाद पगाल्न सकेन
माटो, सुख्खा भीर भिजाउने रगतले 
निराशा र कुण्ठा 
पीडा र प्रताडना 
निरुत्साह र गतिहीनता
केही पखाल्न सकेन ।” (पृः १३४)

नेपालीले जितेको संसार र हारेको यथार्थ कविता  तिमी नेपाली अरे मा उजागर गरिएको छ ।

“शताब्दियौं अघिदेखि
‘जीवन‘ बाँच्ने आशामा
राष्ट्र र राष्ट्रोन्नतिको नाममा
पानी सरह खुन बगाएको
अथक जीवन यात्री
तिमी नेपाली अरे ।” (पृः १३१)

कविलेआखिर जीत मेरै भयो र पराजय जस्ता फरक विचारहरू पस्केका छन् कवितामार्फत।

“साँच्चै
म जे हुन्छु भन्थेँ
त्यो हुन सकिन छु ।” (पृः ८४)

पराजय कविताले अर्थ बुझाउने मात्र हैन पराजय महसुस नै गराउँछ ।

यो सङ्ग्रहको मस्तुल कविता चिताको आगो साँच्चै तातो हुँदोरहेछमा विज्ञान, त्रास, भविष्य, र वियोग रुमलिएको छ। विज्ञान र वैज्ञानिक प्रविधिले ल्याएका प्रदूषण र जलवायु परिवर्तन माथि विचार विश्लेषण छ।

“तिमीलाई 
सागर डढेको हेर्ने मन थियो
स्वालबार्डको एकान्त टापुमा
पग्लँदै गरेको हिउँमा
काम्दै गरेको हिम-भालु हेर्ने मन थियो
माउन्ट पिनाटुबो विस्फोटन पश्चातको
विचित्र अनि मनमोहक सूर्यास्त हेर्ने मन थियो ।” (पृः ११५)

महान् वैज्ञानिक आइन्स्टाइन आज भइदिएको भए उनले गरेको आविष्कार प्रति उनी आफैँ गर्व गर्थे वा पछुताउँथे? यो प्रश्नको उत्तर दिने प्रयास गरेका छन् कविले कविता आइन्स्टाइनमा ।

“एउटा जीर्ण बुढो
आज विश्व नेताहरू समक्ष
अपिल गरिरहेछ 
शान्ति स्थापनार्थ 
जीवन रक्षार्थ !” (पृः १४६)

सबै कविताहरूमा टुइष्टहरू प्रशस्तै छन् । कहिलेकहीँ रमाइला कुराहरू गर्दै जान्छन् र शून्यमा पुर्‍याइदिन्छन् कविले ।

“फेरि वरिपरि हेरेँ 
अहँ पाकेन कुनै सेल यहाँ 
उनिएन एउटा माला पनि 
न कुटियो चिउरा 
न प्रफुल्लित भए बच्चाहरू
न मुस्कुराए फूलहरू
न गुन्जियो भ्रमरगुन्जन
न सुनियो छहराको मधुर धुन ।” (पृः१०८)

केही कविताहरू तिक्ततामा अन्त्य हुन्छन् भने धेरै कवितामा दर्शनका पङ्क्तिहरू भेटिन्छन् ।

“संसार 
उज्यालो देख्न चाहनेहरूका लागि
साझा फूलबारी हो ।” (पृः ९४)

गतिलो साहित्यको उराठ भूमिमा अघि बढ्न उत्प्रेरणा हो यो कृति। अनेक अभावमा जीवन बाँच्न सकिन्छ भन्ने ज्ञान प्रदायक सृजनाको उदाहरण हो यो पुस्तक – मरुभूमि र क्याक्टस जस्तै । भाइरस र प्रतिभाइरसको महासङ्ग्राम आमालाई इमेल – एक वैज्ञानिक निबन्ध हो – जानकारी छ। एउटा कथा हो – शिक्षा छ।

कल्पनाले सीमा नाघेका कविताहरू छन् । हद नाघेका विचारहरू छन् – एउटी परीका लागि लुकाएर राखेका माया छन् ।

“तर
कसैले नछोइदेओस् मेरो हृदय
जहाँ मैले
आफैँलाई भन्दा बढी माया गर्ने एउटी परीलाई
लुकाएर राखेको छु कसैले नदेख्ने गरी ।” (पृः१०)

“तिमी” शब्द बग्रेल्ती प्रयोग गरिएको छ। पुस्तकको अन्तिममा शाब्दिक हिटम्याप दिइएको छ जसमा अत्यधिक प्रयोग भएका शब्दहरूको साङ्केतिक प्रतिनिधित्व लिपिको आकार अनुसार गरिएको छ। शाब्दिक हिटम्यापले “तिमी”लाई बहुलक शब्दको रूपमा निकालेको छ । साहित्यिक पुस्तकमा शाब्दिक हिटम्याप प्रयोग भएको पहिलो उदाहरण हुन सक्छ ।

यो कविता सङ्ग्रह फुर्सदमा, यात्राको क्रममा पढ्न उपयुक्त विज्ञान बुझाउने साहित्यिक पुस्तक हो। लामो यात्रा जाँदै हुनुहुन्छ, रेल वा जहाजमा सयर गर्दै हुनुहुन्छ भने यो पुस्तकको एकप्रति च्यापेर जानुहोस् । पछुताउनु हुनेछैन- यो समीक्षकको बाचा।

LINK



No comments:

Post a Comment