Tuesday, September 20, 2022

संक्षिप्त समीक्षा: “बदलिएको कर्तव्य” र “बेजोड बन्ध”

 आई पी अधिकारी

एड्लेड, अष्ट्रेलिया 

प्रवासी नेपाली साहित्यले बिस्तारै पुनर्वासित भुटानी समुदायमा जरा गाड्दै छ । साहित्यिक पुस्तकहरू निस्कने क्रम निकै बढेको छ । अबको बाटो पाठक खोज्ने हो, स्तरोन्नति गर्ने हो । त्यसका लागि लेखनमा गहनता, विषयमा बौद्धिकता, भाषामा मौलिकता र प्रस्तुतिमा मिठास आवश्यक देखिन्छ । आफन्त र चिनेको आधारमा मात्र पुस्तक किनिदिने पाठकका लागि मात्र साहित्य लेखेर नपुग्ला । आज दुई कथा सङ्ग्रहबारे चर्चा गर्ने प्रयास गरेको छु ।

बदलिएको कर्तव्य

गङ्गाराम लामिटारेको जुन २०२२ मा प्रकाशित बदलिएको कर्तव्य हात पर्‍यो । पढ्ने उत्सुकता जाग्यो ।  पढे । पुस्तकमा १६ वटा लघु कथाहरू र लेखहरू समेटिएका छन् । भूटान, नेपालको शरणार्थी शिविर र अमेरिका पुनर्वास पछिका जीवनबारे कथाहरू कोरिएका छन् । समग्रमा सङ्ग्रहले लेखकको परिचय र पृष्ठभूमि स्पष्ट बताउँछ । लेख तथा कथाहरू कम काल्पनिक र धेर तथ्यपरक छन्, सत्य घटनामा आधारित हुन कि भन्ने लाग्छ ।

सृजनाहरूमा विविधता छ । भुटानको प्रजातान्त्रिक आन्दोलन, न्याय प्रणाली, सरकार विरोधीहरूले भोगेका यातना, त्यसले समाजमा सृजना गरेको त्रास र भुटानीहरू देश छोड्नका कारणहरू  झल्कन्छन् । दमनले दिएको दुःख छ, सङ्घर्षले सिकाएको पाठ छ, विस्थापनले सिर्जेको पीडा छ अनि अस्थिरताले ल्याएको अन्यौलता पनि छ । भुटानको पुरातनवादी जीवनशैली, शरणार्थी शिविरमा पाइएका अनेकन् दुःख अनि पुनर्वासका क्रममा र पुनर्वास पछि आइपरेका समस्याहरू र अवसरहरू बारे बुझ्नलाई पुस्तक भर पर्दो श्रोत बन्न सक्छ । लेखकले बाँचेका तीन मुलुक – भुटान, नेपाल र अमेरिका – मा रहेको यौन बारे नितान्त पृथक् दृष्टिकोणका विषयमा पनि जानकारी दिन खोजिएको जस्तो देखिन्छ ।

छोटा शीर्षक र सरल भाषाले लेखकको सरलता बारे परिचय दिन्छ । विषयलाई बुझ्न सजिलो बनाइदिन्छ । भाषिक क्लिष्टता कतै छैन । सामान्य नेपाली पढ्ने सक्नेले पनि पुस्तक पढ्न सक्छ, घरि घरि घोत्लिनु पर्ने वा अर्थ पर्गेल्नु पर्ने केही छैन । तर लेखकले सुधार्नु पर्ने धेरै छन् । मैले केही मात्र उल्लेख गर्ने चाहेँ यहाँ ।

धेरै सृजनाहरू कथा भन्न लायक छैनन्, निबन्ध वा आत्मकथा जस्ता लाग्छन् । थोरै मात्र कथा भन्न लायक छन् । पुस्तकलाई कथा सङ्ग्रह नभन्दिएको भए न्याय हुन्थ्यो सायद । त्यसो त लेखक स्वयंले सङ्ग्रहमा कथा वा अकथाहरु रहन सक्ने स्वीकारेका छन् ।

कथाको मिठास त्यतिखेर आउँछ, जतिखेर पाठकले कथाको पात्रसँगको सामीप्य कल्पना गर्न सक्छ अर्थात् पात्रसँग एकाकार हुन सक्छ । लामिटारेको पुस्तकको पाठकले सृजनाका पात्रसँग साक्षात्कार गर्नै पाउँदैन । लाग्छ पाठक र पात्र बिचमा दोभासे उभिएको छ । धेरै ठाउँमा त्यो दोभासेको काम लेखक स्वयमले गरेका छन् । अर्थात् सृजनाको भाषा तेस्रो पुरुष केन्द्रित छ । यो दोभासे न भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।

भाषामा निखार ल्याउन जरुरी देखिन्छ । साहित्य सरल भएर पुग्दैन, सरस पनि हुनु पर्छ । पुस्तकमा समेटिएका लेख र कथाहरू हतारमा लेखिएको जस्तो देखिन्छ । भाषिक त्रुटिहरू प्रशस्त छन्  – खास गरी शब्द चयन र हिज्जेमा । समय लाएर सम्पादन गरेको भए यी सामान्य त्रुटिहरू हटाउन सकिन्थ्यो । लेखक भन्दा पनि प्रकाशकले भाषा सम्पादनमा ध्यान नदिएको हो कि ।

कमजोरी भए पनि भुटानी नेपाली साहित्यमा यस पुस्तकको महत्त्व रहने छ । नयाँ लेखकहरूका लागि पुस्तक प्रेरणा स्रोत बनोस्, स्रष्टा गङ्गाराम लामिटारेलाई शुभकामना ।

___________

बेजोड बन्ध

‘पुरुषको जात जन्मले र नारीको जात विवाहले तय गर्दछ ।’

‘गाजर-कवि’ कथाको यो वाक्यले मेरो मगज घुमाइदियो । यसले मानव सभ्यताको सिङ्गो इतिहास बोलेको छ, समाजमा व्याप्त लैङ्गिक विभेदबारे तिखो व्यङ्ग्य प्रहार गरेको छ । तर आफूलाई सभ्य ठान्ने समाजको ठुलो हिस्सा यसलाई दैवी इच्छा मान्छ । गोविन्द रिजालको कथा सँगालो ‘बेजोड बन्ध’ हात परेको धेरै भएको थियो – पढ्ने मौका मिलेको थिएन । यसपालि जुराइयो ।

वास्तवमा बेजोड बन्ध’ भुटानी नेपाली साहित्यमा निस्केको अहिले सम्मकै उत्कृष्ट कथा सङ्ग्रह भन्दा अन्यथा हुँदैन । अङ्ग्रेजीमा दक्खल राख्ने हाम्रा धेरै अग्रजहरू ‘नेपाली पढ्न लेख्न जान्दिन’ भन्दै गर्दा यस्तै मध्येका एक विद्वानले यति सुगठित र सरस कथा सङ्ग्रह निकाल्नु हाम्रो साहित्यको लागि बहुत ठुलो गुण हो । ‘बबुवाको बोर्सी’ ले त कथाकार मैथिलीमा पनि पोख्त छन् कि भन्ने भान दिन्छ । कृषि वैज्ञानिकको यो ठुलै उपलब्धि हो ।

यस पुस्तकमा १२ कथाहरू समेटिएका छन् । तिनीहरू भुटानी नेपाली साहित्यमा लेखिएका भन्दा औसत लामा कथा छन् । तिनमा व्यङ्ग्य र विवेचना दुवै छ । सामाजिक र सान्दर्भिक छन् । धेरै लामो कालखण्डमा लेखिएका छन् कथाहरू । नेपालको हिंसात्मक द्वन्द्वले समाजमा पारेको प्रभाव, शरणार्थी जीवन, प्रेम, भुटानको दक्षिणी सहर गेलेफु (हात्तीसार) को इतिहास, प्रविधिको सामाजिक प्रयोग र वर्तमान नेपाली समाजको विविध पक्षलाई आफ्नो कथावस्तु बनाएका छन् रिजालले ।

उदाहरणका लागि ‘सर्प्राइज’ कथाले माओवादी द्वन्द्व सृजना गरेको पारिवारिक र सामाजिक घाउ देखाइएको छ । पुनः वियोग र राजाको हात्ती भुटानको पृष्ठभूमिमा लेखिएको छ । पुनः वियोग सन् ९० मा भुटानमा भएको राजनीतिक उथलपुथलले परिवारमा ल्याएको बिचल्ली र लैङ्गिक विभेदलाई कथाकारले बडो सान्दर्भिक रूपमा प्रस्तुत गरेका छन् ।  ९० मा वियोग भएका प्रवासी भुटानी र भुटानमै छाडिएका उनीहरूका आफन्तलाई जसरी आज सामाजिक सञ्जालले जोडेको छ, यो परिवेशलाई ‘पुनः वियोग’ ले छोटकरीमा समेटेको देखिन्छ ।

भाषा सारै स्पष्ट र सटिक लाग्यो । सरल लाग्यो । कथाहरू सरर बगेका छन् । सायद कथा वस्तुमा उतार-चढाव मिसाएको भएको अझ रुचिकार हुने थियो । अङ्ग्रेजीमा भनिन्छ नि ‘क्लाइमेक्स’ – त्यो चाही कथाहरू पढ्दा भेटे जस्तो लागेन । पढ्दा अब के होला भन्ने जिज्ञासा कतै पनि पलाएन । पलाएको भए कथाले पूर्णता पाउने थियो ।

आगामी दिनमा रिजालका थप कथाहरू पढ्न पाउने आस राखेको छु । लेखन यात्राको शुभकामना ।

http://bhutaneseliterature.com/archives/29289#comment-14836

No comments:

Post a Comment