Saturday, February 1, 2014

शरणार्थी साहित्य र नेपाली सन्दर्भ

अभि सुवेदी

नेपाली सन्दर्भमा शरणार्थी साहित्यको छलफल गर्न मलाई केही युवा प्राज्ञले भनेपछि मेरो मनमा यो विषय एउटा कहीँ अज्ञात थलोबाट उठेको आँधीजस्तो आयो । नसोचेको तर सुन्दर, मायालु अनि मानवीय वेदनाको र मान्छेको मुक्तिमाथिको विश्वासको आँधी । महमुद दार्बिस भन्ने प्यालेस्टिनी कविलाई म धेरै पढ्छु । तिनका मनपरेका कविता पल्टाएँ । एकाध हरफ यस्ता छन्, ‘मेरी आमा छन्, एउटा धेरै झ्याल भएको घर छ, भाइहरू, साथीहरू र चिसो स्याँठ पस्ने झ्याल भएको झ्यालखानाको कोठा छ † ... मेरा शब्दका गहिरा क्षितिजमा मेरो एउटा जुन छ’ (दार्बिस, दुर्भाग्य, त्यो स्वर्गै थियो, क्यालिफोर्निया विश्वविद्यालय प्रेस, २००३: ७) । अर्को एउटा कवि गेन्डुन छोफेलका, ‘रेब्कङ्’ भन्ने कविताका हरफ पनि मनमा आए, ‘हाय, मेरो त्यो रेब्कङ् उपत्यका,/त्यो यसको हराभरा भूमिमा बहने खोला †’ म शरणार्थी विषयमा राजनीतिक रूपले निरपेक्ष छु । त्यसो त अगमसिंह गिरीले लेखेको र अम्बर गुरुङ दाइले गाएका यी हरफ पनि मनमा गुन्जे, ‘सुनको सपना आँसुमा किन हो बाँधी ल्यायौ नि/ मनको आगो निभाउन किन पो यहाँ आयौ नि ।’ अहिलेको यथार्थले त्यो भेट्दैन । भारतीय नेपाली ‘डियास्पोरा’ होइनन्, भारतीय हुन् । बाँकी भावात्मक हो । तर, खुदुनाबारीको शरणार्थी शिविरका भुटानी अर्को महाशक्ति मुलुकमा अर्को आयामका शरणार्थी भएर जाँदा अन्तिम मानिसको रूपमा बिदा लिने अलबिदा बेलडाँगी (२०७०)का युवक लेखक शिवलाल दाहालका यी हरफले शरणार्थीको अर्को चेतना उजागर गर्‍यो, ‘हाम्रो उभिने धरातल विभाजित भइसक्यो । हाम्रो अस्तित्व खण्डखण्ड भइसक्यो । अहँ, लेख्न सक्तिन यो वियोगान्त कथा । आफ्नै बिलयनको कथा । बेलडाँगीको बिलयनको कथा ।’ यी उद्धृत पाठखण्डहरूले शरणार्थी र आप्रवासी साहित्यका मूलभूत पक्षहरूका लक्षणा बोध गराउँछन् ।
शरणार्थी भएर बसेको भूमि छोड्नु र स्थानापन्न हुँदै जानु शरणार्थी साहित्यकारका रचनामा आउने बलियो बिम्ब हो । जस्तो, शिवलाल दाहालको अलबिदा बेलडाँगी (२०७०) मा भुटानी बस्ने शरणार्थी भूमि विखण्डन भएको प्रसंग छ । त्यो भूमिमा दोस्रो तहको आप्रवासनको चित्र भेटिन्छ । साहित्यकारले आफ्ना निबन्धको विषय बनाएका छन्, यस अवस्थालाई । यो भावनात्मक छ जुन कुरा साधारण शरणार्थीका प्रतिवेदनमा पाउन सकिँदैन । त्यो भूमिसँगको वियोग आफ्नै मानिससँगको वियोग हो । अझ लेखक भन्छन्– बेलडाँगी शरणार्थी शिविर नै बिलयन हुन लागेको छ, जुन लेखकको दैहिक गतिसँग जोडिएको छ । यो एउटा चाखलाग्दो र अनौठो किसिमको शरणार्थी साहित्यको संचेतना हो । यो दोस्रो ‘अर्डरको शरणार्थी चेतना हो । यो अवस्थाले बिलयन शब्दको प्रयोग गर्छ । यसको रूपक वाचाल छ । के शरणार्थीले भोगेको जीवन एकनासको हुन्छ, के गुमेको भूमि पनि शरणार्थीका मनबाट बिलाएर जान्छ ? के भूमिको विलयन भनेको शरणार्थी र भूमिको भावनात्मक र दैहिक सम्बन्धको अन्त्य हो ? यस विषयमा धेरै शास्त्र निस्केका छन् । नेपालमा यसमा थोरै मात्र बहस भएका छन् । डा. शिव रिजालको विचारमा ‘नेपाल छाडेर जाने भुटानीहरूले खालि अर्को भूमण्डलीय बाटो हिँडेका मात्र हुन् । उनीहरूले मातृभूमि फर्किने ट्रान्जिट मात्र बदलेका हुन् । भुटानबाट निकालिएकै दिनदेखि तिनीहरू विश्व राजनीतिका विषय पनि बनिसकेका छन् । यो उनीहरूको अमेरिकी यात्रा यही विश्वराजनीतिक अवस्थामा बाँच्ने र यसमा प्रवेश गर्ने अभ्यासको कडी मात्र हो’ (काडमाडौं पोस्ट, १६ नोभेम्बर २०७०) । यसर्थ शरणार्थी अस्मिता बिलयन हुँदैन भन्ने बुझिन्छ । शरणार्थी अवस्था बिलयन हुँदैन भन्ने रूपक साहित्यको रूपमा बढी अर्थ राख्छ किनभने युद्ध, राज्य र प्राकृतिक संकटले विस्थापित मानिसको शरणार्थी अथवा एक्जाइल अवस्थाको समयमा नैरन्तर्य दुई किसिमले हुन्छ । पहिलो, मानिसका अस्मिता नै अत्यन्त नराम्रो गरी उथलपुथलमा पर्छन् । यस विषयमा विभाजनले छुटेका लेखक र अध्येताका समदृष्टि पाइन्छन् । दोस्रो, शरणार्थीका अवस्था र तिनका अन्तर्कथाको चित्र साहित्य र कला अनि रंगमञ्चमा हुन्छ । हामी शरणार्थी साहित्यको चर्चा गर्दा त्यही विषयतिर फर्किन्छौँ । बिलयन होइन, अर्को अवसरको सिर्जना हुन्छ र त्यो आपैँmमा एउटा तेस्रो पाठ हुन्छ भन्ने सिद्धान्त स्थापित भएको छ । त्यसमा एडवर्ड सइदको कामले ठूलो आधार खडा गरिदिएको छ ।


झापा शरणार्थी शिविरको आरम्भ कसरी भयो भन्ने भुटानी वाइएन चौंलागाईंको उपन्यास साक्षी (२०६९) ले समय बिन्दु खिचेको छ । सायद माघ २, २०४८ मा कन्काइको बगर भन्ने ‘स्पेस’मा आरम्भ भएको शरणार्थीको कथा नेपालको प्रजातान्त्रिक राजनीतिक परिवर्तन भएर पञ्चायत व्यवस्था ढल्नेबित्तिकैदेखि अहिलेसम्मको युगभित्रको नेपालभित्रको कथा हो । त्यसैले यो कथा शरणार्थीको कथा मात्र नभएर नेपाली राजनीतिले नेपाली मूलका मानिसका समस्या कसरी हेर्‍यो, भुटानसँग सायद समाधान गर्न सकिने यो समस्यालाई यहाँको भ्रमले कसरी प्रभावित पार्‍यो भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । ‘एकजाइल’ वा शरणार्थी साहित्यमा प्रतिबिम्बित साहित्यमा राजनीतिको प्रभाव निकै जटिल रूपले परेको हुन्छ भन्ने कुरा यो विषयका अध्येतालाई थाहा भएकै हो । त्यसो हो भने भुटानी शरणार्थी साहित्यलाई यी दुई कृतिले दुई युगका माइलस्टोन देखाएर पर्याप्त चित्रण हुन्छ त भन्ने कुरा आउँछ । मैले बुझेसम्म भुटानी शरणार्थी क्याम्प र त्यससँग सम्बन्ध राखेका शरणार्थीले अनेकौँ सानातिना साहित्यका रचना गरेका छन् । नाटक रचना गरेर मञ्चन गरेका छन् । तर, उपन्यास लेखनमा भने यो शरणार्थी क्याम्पको इतिवृत्तमा लेखिएका नेपाली लेखकका उपन्यासमा डा. तारालाल श्रेष्ठको उपन्यास सपनाको समाधि (२०६९) लाई अहिलेसम्मको शरणार्थीसँगका सहवास र अन्तरअध्यनबाट लेखिएको उपन्यास भन्नुपर्छ ।



कृष्ण धरावासीको उपन्यास शरणार्थी प्रयोगात्मक उपन्यास हो, जुन तारालाल श्रेष्ठको भन्दा भिन्न किसिमले लेखिएको छ । तर, धरावासीको उपन्यासबाट अर्को कुरा बुझ्नुपर्छ । युरोप र अरू मुलुकका शरणार्थी शिविरबाट सोझै दैन्य चित्रण र प्रेमकथा मात्र नभएर प्रयोगात्मक साहित्य पनि निस्केका छन् । जर्मन यहुदी कवि पल सेलानका कवितालाई उनका बाबुआमा मार्ने नात्सी कृत्यको सोझो वर्णन नभएर सूक्ष्म र प्रयोगात्मक मर्म भएको साहित्य मान्नुपर्छ । त्यो पनि शरणार्थी साहित्यको नै रूप हो, जुन शराणर्थीइतर लेखकले लेख्छन् । तर, शरणार्थीइतर लेखक भए पनि तारालालले यो उपन्यासभित्र शरणार्थी दलित महिला चमेलीसँग तथाकथित उच्च जातको मानिसको प्रेमसम्बन्ध देखाएर नेपाली भनिने मानिसका जहाँ भए पनि तिनै सामाजिक चरित्र हुने रहेछन् र नेपाली राष्ट्र वा ‘नेसन’ भन्नु सीमाभित्र र बाहिरका चरित्रबाट पनि हेर्नुपर्ने रहेछ भन्ने कुरा देखाएका छन् । दलितको अस्मिता सीमान्तभित्रको सीमान्त जीवन हो । तारालालको उपन्यासले त्यसको चित्रण गरेको छ । चौलागाईंको उपन्यास घटनाको शृंखलाले बनिएको छ । यसको अन्तर्य मानिसको शरणार्थी अवस्थाको दसा हो । राजु खड्का, बालक र वृद्धवृद्धाका अवस्था, भुटानीका आफ्नै त्रासद गल्ती जसलाई त्रासद नाटक समीक्षामा ‘ह्युब्रिस्’ भन्छन्, सबै भेटिन्छन् । मैले उनको पाण्डुलिपि पढ्दा उपन्यासका तत्त्व र शैलीभन्दा यसरी विक्षित तरल इतिहासको चित्र भेटेर किताबमा केही शब्द लेखेको छु । यी सबै उपन्यास डिस्कोर्स पब्लिकेसनले छापेको हो ।


शरणार्थी साहित्य एउटा बृहत् विषय हो । यो शब्द भन्नेबित्तिकै हाम्रा मनमा अंग्रेजीमा ‘रेफ्युजी’ भनिने शब्दको अभिव्यञ्जना हुन्छ । शरणार्थीको परिभाषा गर्ने यस पत्रको उद्देश्य होइन । शरणार्थी साहित्यले उजागर गर्ने केही विषयको छलफल गर्नु मात्र यस प्रस्तुतिको उद्देश्य हो । शरणार्थी भन्नेबित्तिकै केही चित्र, ‘भिजुअल’ मनमा आउँछन्, जुन आजको उत्तरवर्ती युगका चरित्र भइसकेका छन् । त्यसर्थ शरणार्थीको ऐतिहासिक वृत्तको कुरा पनि आउँछ । शरणार्थी साहित्य त्यस्तो अवस्थाबाट जन्मेको हो, जहाँ मानिस आफ्नो भूमिबाट निस्कन बाध्य भएका हुन्छन्, अनि अर्को अमूक भूमिमा बसेर स्थानहीन घुमेर आफ्नो जीवन मात्र होइन, आफ्ना विचारको नैरन्तर्यको निम्ति पनि काम गरिरहेका हुन्छन् । निर्वासन, आप्रवासन, परदेशजस्ता शब्दले शरणार्थी भन्ने अर्थसँग केही साम्य राखे पनि शरणार्थी शब्दले जन्माउने भावमा बढी तीव्रता हुन्छ । तर, अर्को एउटा प्रवृत्ति पनि हुन्छ । त्यसअनुसार शरणार्थी शब्द र साहित्यलाई अत्यन्तै निरीह अवस्थाको चित्रणको रूपमा प्रस्तुत गरिन्छ । यसले शरणार्थी अथवा शरणमा बस्नुको एकप्रकारको शाब्दिक र भावगत अवस्थाको चित्रण गर्छ । त्यसले शरणार्थी र तिनका अभिव्यक्तिलाई विशेष चरित्रको रूपमा प्रस्तुत गर्छ । यसमा केही समस्या देखिएका छन् । अन्य वा ‘अदर’ जसलाई अंग्रेजीमा ‘अल्टेरिटी’को नाममा छलफल गरिन्छ, त्यसको जन्म हुन सक्छ त्यहाँ । शरणार्थी अन्य हो अथवा ‘द अदर’ हो भन्ने विचार जन्मिने प्रवृत्ति देखिन्छ । त्यसले शरणार्थी साहित्यलाई केही निरीहको साहित्य, दु:खेसोको कथा, केही अतिरञ्जक चित्र वा ‘मेलोड्रामा’ भन्ने अर्थमा सीमित गर्न सक्छ । म शरणार्थी साहित्यलाई त्यस रूपमा हेर्नुलाई गल्ती हो भन्ने मान्यता राख्छु ।


शरणार्थी साहित्य सिर्जनाका अरू कैयौँ तीव्र अवस्थाजस्तै एक विशेष अवस्था हो, जसको कारणले मानव साहित्यको इतिहासमा अत्यन्त मौलिक र मानव संवेदनाले भरिपूर्ण साहित्यको जन्म हुन्छ । यो विचारले शरणार्थी अवस्थामा बसेका लेखकले रचना गरेको साहित्य हेरियो भने साहित्यको विशेष सिर्जनशील शक्तिको पहिचान हुन्छ । तर, त्यसो हो भने के शरणार्थी अवस्था एक मान्य र इच्छित अवस्था हो ? भन्ने प्रश्न उठ्छ । यसमा मेरो भनाइ यस्तो छ । साहित्य भावना जन्माउने मानव अवस्थाका अनेकौँ आयामबाट रचना गरिन्छ । शरणार्थी साहित्य पनि त्यस्तै एउटा मानव अवस्थाको आयाम हो, जसबाट बलिया साहित्यको रचना भएको छ । त्यसैले शरणाार्थी साहित्यलाई साँघुरो होइन, विशेष अर्थमा लिइनुपर्छ भन्ने मेरो विचार छ । प्यालेस्टिनी कवि मोहमद दार्बिसको तलको विचारले यो कुरालाई बढी प्रस्टसँग उजागर गर्छ । उनी शरणार्थी, निर्वासित वा राज्यहीन अवस्थालाई विसर्जन र बिलयन मान्दैनन् । एउटा उद्धरण यहाँ राख्न चाहन्छु :
शरणार्थी भन्ने विषयलाई माक्र्सले खासै उठाएका छैनन् । तर, तिनका सिद्धान्तको निचोडमा तिनले भनेका छन्, श्रमिकको राष्ट्र हुँदैन । माक्र्सले पश्चिमी उन्नाइस शताब्दीका ‘नेसन–स्टेट’ वा राज्य रचना हुने वेलाको युरोपेली विचारलाई लिएर लेखेका थिए । तर, पछि गएर विडम्बनाको सिर्जना भयो । यता संसार खुला हुँदै गयो, उता राज्यहरूका सीमा कसिँदै गए । राज्यका नक्सा कोरिए । ती नक्सा लक्ष्मणरेखा भए । ती रेखाभित्र र बाहिर बस्नेका अस्मिताको चर्चा भयो । त्यस्ता राज्यसीमाभित्र बसेका अनि ती भूमिमा आफ्नो अधिकारको इतिहास भएका नरनारीलाई शासकले विस्थापित गर्दा ती अर्को सीमान्त क्षेत्रमा शरण लिन बाध्य भए । तिनलाई शरणार्थी भनियो । तर, शरणार्थी र दु:खी मानवका बीचमा के कुरामा साम्य छ र ती के अर्थमा फरक छन् भन्ने कुराको छलफल भएका छन् । फ्रान्ज फाननको ‘पृथिवीका अभागी’ वा ‘द रेचेड् अफ सद अर्थ’ अनि शिक्षाविद् पोलो फ्रेरको ‘दु:खीको शिक्षा’ अथवा ‘पेडागोजी अभ दी अप्रेस्ड’ भन्ने किताबमा उठेका विचारमा अमुक राज्यभित्र बस्ने वा विस्थापित भई हिँड्न बाध्य मानिसका अवस्थाको चित्रण गरिएको भेटिन्छ ।


नेपाली साहित्यमा शरणार्थी साहित्यको शाब्दिक प्रयोग भएको पछिल्लो समयमा हो । नेपालको पूर्वी झापा जिल्लामा भुटानी सरकारको नीतिअन्तर्गत निर्वासित खासगरी युवाले लेखेको साहित्यबाट नेपाली साहित्यिक वृत्तमा यो शब्दको प्रचार भएको हो । त्यसमा पनि केही युवा लेखक र प्राज्ञिकको संलग्नताबाट यस अभिव्यक्तिले व्यापकता पाएको कुरा आज सर्वविदितै छ । मलाई निकै वर्षपहिले द राइजिङ नेपाल दैनिकको निम्ति त्यसका सम्पादक श्याम केसीले भारत र बाहिरका न्यायाधीशले तयार पारेको एउटा रिपोर्टको किताब समीक्षा गर्न पठाएका थिए । त्यसको समीक्षामा मैले पहिलोपटक राज्य र नागरिक, त्यसमा पनि नेपाली मूलका मानिसमाथिको यातनाको विषयमा पढेँ । मलाई त्यसले धेरै विचलित बनायो । मेरो समीक्षा प्रकाशित भएपछि त्यो दैनिकको ठेगानामा दुईथरी चिठी आए । पहिलो किसिममा मेरो समीक्षासँग असहमति राख्ने चिठी आए । तिनमा भनिएको थियो– यो न्यायमृ्र्तिहरूको रिपोर्ट एकाग्रही छ । अनि अर्कोथरी चिठी केही भुटानी नेपाली साहित्यकारले लेखेका थिए । चिठीका भाषाबाट लाग्थ्यो उनीहरू सरल र सहज किसिमले लेख्ने मानिस थिए, तर उनीहरू त्यहाँको घटनालाई संवेदनाले हेर्थे । त्यसपछि म भुटानी साहित्यकारसँग परिचित हुने अवसर पाइनँ ।



डा. तारालाल श्रेष्ठले सवाल्टर्न अध्ययनमा विद्याावरिधि मेरो निर्देशनमा गर्न त्रिभुवन विश्वविद्यालयअन्तर्गत आरम्भ गरेपछि तिनको स्वाभाविक चाख र उनको विषयको अध्ययन र खोजीको क्रममा गरेका अनुसन्धान, लेखकसँगका साहचर्य र प्रकाशनले गर्दा भुटानी मात्र होइन शरणार्थी साहित्यको एक ‘जान्रा’ वा लेखन विधाको नेपाली साहित्यमा प्रवेश भयो भन्नुपर्छ । नेपाली साहित्यकै दृष्टिले मैले शरणार्थी वा आप्रवासी भन्ने पदावलीको प्रस्ट चित्रणको दृष्टिले पहिलेको साहित्यमा प्रयोग भेटेको थिइनँ । तर, नेपालीले मूल भूमिबाट बाहिर बसेर लेख्ने अनि यो भूमिको स्मृतिभावजन्य किसिमले चित्रण गर्ने साहित्य भने लेखिँदै आएको देखिन्छ । भारतमा बस्ने नेपाली मूलका मानिसलाई प्रवासी नेपाली भनिन्थ्यो । त्यो शब्दको प्रयोग आज राजनीतिक रूपले ठीक छैन भन्ने मानिन थालिएको छ । तर, मूल भूमिसँग स्मृतिका भावजन्य अभिव्यक्ति भएका साहित्य र गीत लेखिएका छन् । दु:ख पर्दा सम्झिने आधार आप्रवासी साहित्यको एउटा मूल कुरा हो । केही भूमिको स्मृति गर्ने आधार छन् भने त्यसको सम्झना गरिन्छ । अर्को, यदि त्यस्तो भूमि नै हरण भएको छ अथवा आफ्नै भूमिबाट निर्वासित गरिएको छ भने मानिस राज्यविहीन भएको अवस्था हुन्छ अनि त्यस वेला साहित्यमा त्यही अवस्थाको चित्रण हुन्छ । त्यो आप्रवासी अथवा अंग्रेजी ‘एक्जाइल’बाट ‘एक्जिलिक’ साहित्य र चेतनाको रूपमा चर्चित छ ।


नेपाली साहित्यको निम्ति शरणार्थी साहित्य एउटा नौलो जान्रा वा प्रकार भएर छलफलमा आएको, खासगरी नेपालमा भुटानी शरणार्थीको प्रवेशदेखि नै हो । यो विषय मैले माथि भने जस्तै पहिला एउटा राजनीतिक रूपले सिर्जना भएको अवस्थाबाट आएको हो । शरणार्थी क्याम्पमा जन्मेको पछिल्लो पुस्ताले शरणार्थी अवस्थालाई स्मृतिको रूपमा लिए । त्यसर्थ शरणार्थी क्याम्प एउटा स्मृतिमा रुपान्तरित भयो । त्यहाँ पनि पुस्तान्तरका कुरा आए । त्यसले जन्माएका मानव भावनाजनिन विषय साहित्यमा लेखिए । नेपालभित्र भुटानी शरणार्थी साहित्यको संख्या नगण्य छ । अहिले जति छ, त्यसको चर्चाको श्रेय डिस्कोर्स पब्लिकेसन र यसका मुख्य संयोजक डा. तारालाल श्रेष्ठलाई दिनुपर्छ । उनले आफैँ पनि उपन्यास सपनाको समाधि (२०६९) लेखेका छन् ।


तर, नेपाली साहित्यमा आप्रवासी नेपालीका भावनासँग जोडिएका लेखनका उदाहरण भएको हुनाले शरणार्थी भन्ने नामको साहित्य नभए पनि आप्रवासन साहित्यमा पनि विभिन्न किसिमले भावजन्य अभिव्यक्ति भएको साहित्यको इतिहास लेखिएको निकै वर्षअघिदेखि नै हो भन्ने देखिन्छ । शरणार्थीको रूपमा नेपालभित्रका नेपाली बाहिर गएर लेखेका उदाहरण छैनन् । तर, शरणार्थीले भोगेकाजस्ता दु:ख भोगेर कठोर परिश्रम गरेर जीविक कमाउन गएका खासगरी खाडी मुलुकका नेपाली लेखकले लेखेका साहित्यको अत्यन्त मार्मिक र वेदनायुक्त साहित्य हामीसँग छ । यसप्रकारको साहित्य बढिरहेको छ । मैले कतार दोहामा बिजुलीको उपयोग गर्न अवसर नपाएका तर काव्यसामथ्र्य भएका कवि बद्रीप्रसाद पराजुलीले जुनेली रातमा कविता लेखेर किताब छपाएको कुरा उनलाई भेटेर अनि कुराकानीबाट थाहा पाएर लेख पनि लेखिसकेको छु । यो एउटा नेपाली साहित्य कस्तो अवस्थामा पनि सिर्जना भइरहेछ भन्ने विषयको उदाहरण हो । साथै अर्को राष्ट्रमा बस्ने नेपाली लेखकले नेपाली भूमिको सम्झना र दैहिक भिन्न भएको अवस्थालाई साहित्यिक र प्रगीतात्मक भावनामा परिणत गरेर लेखेका साहित्य पनि हामीसँग छन् । एडवर्ड सइदले भनेजस्तो ‘एक्जाइल’ नै यथार्थ भएका उदाहरण हामीसँग अरू पनि नभएका होइनन् । तर, भारतका नेपालीले लेखेको साहित्यमा अब आप्रवासन वा ‘डियास्पोरा’को अर्थ राख्न छोडिएको कुरा महत्त्वपूर्ण हो ।


म शरणार्थी साहित्यलाई ‘मेलोड्रामेटिक’ र बिलयन साहित्य मान्दिन । सइदले भनेजस्तो सीमान्त बौद्धिक र साहित्यिक चेतना अप्ठेरो होला । तर, त्यसबाट बलियो मानवीय भावनाले ओतप्रोत साहित्य लेखिँदै आएको छ । यसर्थ डियास्पोराको सीमान्त साहित्य आउँछ । शरणार्थी साहित्य पनि त्यसभित्रको एउटा प्रकार हो । प्यालेस्टाइनी कवि महमुद दार्बिसको भनाइमा त्यो सारतत्त्व भेटिन्छ । राज्य खोसिएका वा त्यसबाट विस्थापित मानिसले आफ्नो चेतनालाई साँघुरो परिवेशमा खण्डित नगरेर बृहत्तर मानिसका सौन्दर्य चेतनासँग साक्षात्कार गराउँछन् । अनि अर्को एउटा कुरा अन्तमा थप्न मन लागेको छ । त्यो हो, आजको भूमण्डलीकरणको अनि उत्तरवर्ती वा ‘पोस्टालिटी’ले नियन्त्रण गरेको युगमा मानिसका हलचल अनि राष्ट्र र सीमाहरू भर्चुअल भएको अवस्थामा, पुँजीवादी युगको व्यापारिक बहुलता र विस्तारको युगमा, राजनीतिक र आर्थिक सिद्धान्तले काम गर्न छाडेको युगमा, मानिस एउटै अवस्थामा रहिरहन सक्दैनन् । दाहालको अलबिदा बेलडाँगी त्यही उत्तरवर्ती युगको मानिस स्थानान्तरण हुँदै, ‘बिलयन’ हुँदै गएको लक्षणाको नाम हो । आधुनिकताले मानिसका समस्याबाट चेतना अलग गरिदियो भन्ने फ्रेंकफर्ट स्कुलका विद्वान्हरूले आज राज्यबाट विस्थापित लाखौँ मानिस र उत्तरपुँजीको युगले ल्याएका भौगोलिक र दैहिक विचलनको विषयमा के भन्ने थिए होलान् † सीमाहीन पुँजीवाद प्रयोग गरी आफ्नो फाइदाका निम्ति सीमा बनाएर, नागरिकलाई सीमा कटाएर, पुँजीको निम्ति अन्तर्राष्ट्रिय भ्रष्टाचारको संस्कृति बनाएर आज शक्तिमा बस्ने अधिनायक र उन्मत्त शासकले जे गरिरहेछन्, त्यसले शरणार्थी जन्माउने क्रम जारी छ । तर, सीमान्त चेतनाको सिर्जनशील शक्ति झन् बढिरहेको छ ।

Source: NAYA PATRIKA

No comments:

Post a Comment