Saturday, December 3, 2016

नेपालीमा लेख

बडेमानका शिखर वार्ता
Filed under: Dialogue,Fiction,Govinda Rizal,Nepali,Writers | 
लेखक
लेखक
गोविन्द रिजाल
कयोटो, जापान
अन्यायदाता (अदा) शरीरका सम्पूर्ण खुम्च्याउन मिल्ने अंगहरु पूर्ण क्षमतामा क्कर्याएर कुजुजाम्पो (नमस्कार)को अभिवादनमा घोप्टिएर ध्यानाकर्षण गर्दा फ्याबियो सोफामा बिराजमान अन्यायरक्षक (अर) रिचेबोर्गको घूंटकि र गुर्खा ब्ल्याक ड्रागोन सिगारको धुवामा रनथन्निरहेका थिए।
अदाः महाराजको जय होस्।
अरः आऊ मन्त्री, धेरैपछि तिम्रो जुँगाको दर्शन मिल्यो। के बिपत लिएर आयौ आज फेरि?
अदाः महाराज, मन्त्रीको प्रतिष्ठाबाट लछारेर दूत बनाउनुभएको दुई दशक भइसक्यो, मलाई मन्त्री शब्द सुन्दा चाबुकले चुटेकोभन्दा वेदना हुन्छ । मलाई त ‘दानब गोमन’ भनेर साम्बोधन गरेकै मनपर्छ।
अरः दानब गोमन, त्यही त। तिम्ले दुई दशकमा पनि मन्त्रीबाट दूत बनाएको शुभ मुहूर्तको शुभ मूल्याङ्कन गर्न सकेकाछैनौ है?
अदाः महाराज, हजुरले सबैको अधि सिंहासन त्याग गरेजस्तो गरेर आफ्नै शुपुत्रलाई राज्यभिषेक गराएर, अझै आफैँ सक्रिय हुनुहुन्छ। मलाई त्यस्तो सौभाग्यको सानो अंश पनि कहाँ मिल्यो र?
अरः सौभाग्य नमिलेको कहाँ हो र दानब गोमन, तिमीले घटनाको मनन र उत्तम विश्लेषण गर्न नसकेको मात्र हो। जुनबेला यो खुल्ला रहस्य पत्ता लगाउनेछौ, त्योबेला म सम्झने छु मैँले ठिकै मान्छेलाई मन्त्री बनाएँछु भनेर। (आयातित रक्सीका बोतलहरुको सङ्ग्रहतर्फ चोर औलाले औंल्याउँदै) लौ भन, कुन बोतल रित्याँउ?
अदाः आज म कुनै ठोस विषयमा छलफल गर्न हैन, महाराजले मलाई दिने समयजति तिता मिठा कुरा गरेरै बिताउने सोचेर आएको छु।
अरः श्रीमतीसँग विवादगरेर आएको हो?
अदाः हैन हैन, आज म महाराजसँग भलाकुसारीको मन बनाएरै आएको हुँ। विगतमा गरेका कामहरूको, बेईमानहरुको कुरा पनि गरौँ, भविष्यका सम्भावनाहरुको कुरा पनि विश्लेषण गरौँ भनेर हो।
अरः दानब गोमन, तिमी आफैँलाई सफल व्यक्ति ठान्छौ कि विफल व्यक्ति?
अदाः पहिला पहिला सफल व्याक्ति हुँ जस्तो लाग्थ्यो, अजकल विफल व्याक्ति हुँ जस्तो लाग्न थालेको छ। हुन त हाम्रा पिता पुर्खाहरू पनि उत्तरबाट लखेटिएरै आएका हुन्। हामीहरुपनि शरणार्थी नै त हौँ। के सफल के विफल ठान्नु र?
अरः तिमी भालेको शिउर हुन चाहन्छौ कि गाईको पुच्छर?
(धेरै बेर मौनता छाउँछ)
अरः पछुतो केमा छ?
अदाः मेरो त पछुतोहरू पनि दिन प्रतिदिन दोधारपूर्ण बन्दै जाँदैछन्। धेरै समयसम्म तेंगे (आरावाल) हरुलाई शत प्रतिशत खेद्न नसकेकोमा पछुतो थियो। अजकल तिनै तेंगेहरुको गुणगान छ, प्रशंसा छ, संसारभरि छात्ति फुलाएर घुमेकाछन् । म यता गुमनाम छु। मेरो त साखासन्तान पापीको वंशज कहालिने भयो। एक डेढ लाख तेंगेहरु लखेटेर के भयो र? यहाँ देशमा २० को १९ भएको छैन। यिनीहरूको जनसङ्ख्या घटनुको सट्टा बढेको बढेकै छ।
अरः फेरि एक मौका मिले के फरक पार्छौ र ?
अदाः ऐलेको स्थिति धेरै भिन्न छ पहिलेकोभन्दा। ऐलेको आफ्नो पक्षको विरोधी? सबै विरोध गर्न मात्र सकुसल छन्। यस्तो समयमा त दह्रो भएर भाँचिनु भन्दा नरम भएर झुकनु ठिक देख्छु। तरै पनि, फेरि एकपटक सबै आइपर्ने दोष जति शिरोपर गर्दै तेंगेहरुका शाखा सन्तान बढारेर यो देश तेंगेमुक्त बनाउने तुस अझै जिउँदै छ।
अरः यो देश तेंगेमुक्त गराएर, यहाँका गल्लि, नालि, फोहोर, सफा गर्ने काम कसलाई लगाउँछौ नि?
(मौनता छाउँछ, उत्तरविहिन अदा लाजले शिर निहुराउँछन्)
अरः हाम्रो देशमा कम्तीमा पनि पच्चिस प्रतिशत मान्छे गरिब चाहिन्छ । नत्र यो देशमा काम गर्ने मान्छे बाहिर मुलुकबाट आयात गर्नु पर्नेहुन्छ। ल भन त, बाहिरबाट कामदार ल्याउने कि यहीका तेंगेहरुको संरक्षण गर्ने ?
अदाः के भन्नु र महाराज, यी तेंगेहरुको कहाँ काम गरेर खाने जात हो त? दुई छाक खान पुग्ने भएपछि डासो (अधिकारी) भइहाल्छन्। नेता भइहाल्छन्। सर्वज्ञानी बनेर गफ ठोक्छन्। कसरी सहनु? मौसुफ सरकारले नै यस्ता कतिलाई जिल्लाका, विद्यालयका, न्यायालयका, अस्पतालका अधिकारी बनाइबक्सियो। विभिन्न निकायका प्रमुख, मन्त्रीसमेत बनाइबक्सियो। हामीले दिएको सुझाव मानिबक्सेन।
अरः चौपाय बान्न दाम्लो चाहिन्छ, मान्छे बान्न पद चाहिन्छ। जहिले पनि जनसाधारणमा यो भान होस् कि उनीहरूका लागि, नभए उनीहरूका छोराछोरीको लागि, अझ नभए उनीहरूका नातिनातिनीहरुका लागि माथिल्लो दर्जाको पद छ । एक दुईजना अधिकारी बनुन् वा मन्त्री नै। सेवा हाम्रै गर्छन् र गर्ने बानउनुपर्छ।
अदाः (नमस्कार गर्दै) कुरा बुझेँ, धन्य भएँ। तेंगेहरुलाई लखेटनुभन्दा यहाँ जोत्नै ठिक रहेछ।
अरः उनीहरूले जोतिएको थाहा नपाउन नि। फेरि प्रार्थना छोडेर विरोधमा लाग्लान्।
अदाः क्यम्प उठ्छ जस्तो छ, अब एक दुई वर्षभित्रै। सबै विकसित देश तर्फ लागे। हाम्रो देश कै बदनाम हुँदैछ। नयाँ ठाउँमा बढाइचढाइ गरेर हाम्रो खोइरो खन्दैछन् । हजुरले विदेश भ्रमण नगर्नु भएको पनि दशकौँ भइसक्यो।
अरः बल्ल ठिक कुरो उठायौ । हाम्रो देशको प्रमाणपत्र हुनेहरु प्राय थन्किसके। अब रहेकाहरु प्राय तिनै तेंगेका आयतित जुवाइ र बुहारीहरु छन्। अन्तिम अन्तिमतिर पुनर्वासमा जानेहरुको छ महिना जतिको तथ्याङ्क सर्वजनिक गर्नु। तेंगेहरु एक प्रतिशत जति पर्लान्। त्यही आधारमा दुई तीन सय तेंगेहरु फर्काएर ल्याउनु पर्छ। अन्तराष्ट्रिय नजरमा पापमोचन हेतु। अनि त कुनै अन्तराष्ट्रिय अदालतले पनि छुन सक्दैन। अनि भ्रमण गरौला नि देश विदेश भाषण दिँदै।
अदाः विकसित देशमा पुगेकाहरु र तिनका सन्तानले त सधैँ हामीलाई सराप्ने र हाम्रो विरोध मात्रै गर्ने भए नि। युगौँ युग, पुस्तौँ पुस्ता सराप र विरोधको विषय बन्ने भयौँ जस्तो लाग्छ ।
अरः त्यसो हुनदिनु भएन नि। त्यसैले त तिमीलाई दूत बनाएको छु। तिमीले विकसित देश गएकाहरुको स्तिथि अध्ययन, अनुसन्धान गर्नु। गल्तीबाट पाठ नसिक्नेलाई खल्तिबाट पाठ सिकाउने ठाँउ हुन ती देशहरू। राम्रो काम, प्रगति, उन्नति गरे भने, तेस्रो देश पुनर्वासको परिबन्द मैँले मिलाएको भन्ने समचार फैलाउनु। दुःख पाए, बेहाल हुँदै गए भने उनीहरूकै नेताहरूले सहिछाप गरेर पठाएको भन्दिनु ।
अदाः हजुरले गरेको भनेर, सजिलै विशवास दिलाउन सक्छु। एक दुई भेटका कुराहरू बङ्ग्याउँदा मिलाउन सकिन्छ। तर तिनीहरूलाई तिनका नेताहरूको विरोधमा उठाउन झन् झन् गाह्रो पर्दैछ।
अरः किन आत्तिएको ? तेस्रो देश पुनर्वासको कार्य लागु गर्नु अघि लगभग सबै नेताहरूको स्वीकृति सहिछाप लिएको सबै प्रमाण मसँग छ। आवश्यक परे एकएक गर्दै चुहाइदिउँला नि ।
अदाः दुई तीन सय तेंगेहरु फर्काएर ल्याउने त भन्नु भयो। तिनलाई कस्तो व्यवहार गर्ने?
अरः अति उत्तम। अति उत्तम व्यवहार गर्नु । छरपष्ट, विभिन्न ठाँउमा बसाउनु। एकदुई परिवार यही राजधानी नजिकका ठुलठुला घरमा ह्वीलच्यार चल्ने बाटो सम्मको, सबै सुविधा दिएर पाल्नु। तिनको सञ्चार नजानिँदो तरिकाले रेकर्ड गर्नु, बस्। बाहिरबाट जो जो हेर्न आउँछन्, तिनैलाई देखाउनु र अन्यलाई पनि समान सुविधा दिएको छ भन्दिनु ।
अदाः त्यसपछि त हामीलाई कसैले नराम्रो विशेषण प्रयोग गर्दैन, र हामी पनि निर्ढुक्क संसार घुम्न पाउछौँ। महाराजको जय होस्।
अरः तिम्लाई ऐले सारा संसार घुम्न कस्ले रोकेको छ र?
अदाः म मन्त्री हुँदा भएका हत्या, बलात्कार, धावा, धरपकड, नागरिकको देशनिकालामा सबैले मलाई जिम्मेवार ठान्छन् । म जहाँ पनि गिरफ्तार हुन…. (अदा टक्क रोकिए, अर मुस्कुराए, दुवै बेस्सरी हाँसे र जीवनमा पहिलोपटक अँगालोमा बाँधिए )
अरः म ढुक्क भएँ मैले ठिकै मान्छेलाई मन्त्री बनाएँछु।

अदाः महाराज, मलाई मन्त्रीबाट दुत बनार डिप्लोमेटिक ईम्मुनिटी (कूटनीतिक प्रतिरक्षा) को कवच दिनुभएको रहेछ। हजुरजस्तो महाराजको सेवक बन्न पाएकोमा सदैव ऋणी रहनेछु।
महाराजको जय होस्।

http://bhutaneseliterature.com/archives/16540#respond
...............


भोलि फेरि

लेखक
लेखक
गोविन्द रिजाल
मनिला, फिलिपिन्स
म दोधारमा छु । जाउँ कि नजाउँ । भोलि मलाई दोस्रो पटक मैत्री समाजले बोलाएको छ । मैत्री समाज सम्झने बित्तिकै पहिलो पटकको घटना मेरो यादमा नाँच्न थाल्छन् ।
भुटान सरकारका प्रियतम साथीहरु मिलेर आयोजना गरेको मैत्री समाजको भेलामा मलाई पहिलो पठक निमन्त्रणा दिएको छ, जसले मलाई दोधारमा पार्यो यो विषय लिएर पहिलोपटक । न जाउँ घुलमिल गुणगान सुन्नु पर्ने । के गरौं के नगरौं !
यस्तैमा मसंग मिल्ने र मेरो यथार्थ पृष्ठभूमि जानेका साथीहरु पनि त्यो भेलामा रहने हुँदा खासै अप्ठारो मान्नु पर्नै दुगर्ती नआउलान् भन्ने ठानी त्यो निमन्त्रणा स्वीकार गरेँ र लागें भुटान मैत्री समाजको जमघटतर्फ ।
झण्डै ५०-६० जना भुटानप्रेमी मानिने जिग्मेप्रेमीहरु भेला भएका रहेछन् । तिनीहरुमध्ये ५-६ जनाले भुटानभूमि टेकिसकेका रहेछन् र अरुहरु पनि भुटान जान इच्छुक रहेछन् । एक जना, भुटानको विकास क्रान्तिमा पुस्तक लेख्न तम्सिएका पनि रहेछन् ।
हामी पुगेको केही क्षणमै कार्यक्रम सुरु भयो । मैत्री समाजका अध्यक्षले तयारी स्वगत मन्तब्य राखे र त्यहाँ उपस्थितमध्ये गण्यमान्य ब्यक्तिहरुको बढिबढाउका साथ परिचय दिए । उनले दिएको परिचयवाट ठूलै लाग्ने एक जना वृद्धा रहिछिन् जसको श्रीमान स्वतन्त्र हुने बखत बङ्लादेशलाई संयुक्त राष्ट्र संघमा प्रतिनिधित्व गर्दै अन्तरराष्टिय सहयोग जुटाउन खटिएका बङ्गलादेशी अधिकारी थिएछन् ।
उनी भुटानप्रति कृतज्ञी रहिछिन् । उनका अनुसार बङ्गलादेशको स्वतन्त्रताको समर्थन छिमेकी राष्ट्रकातर्फबाट भुटानले प्रथम मत दिएको थियो रे । बङ्गलादेशी वृद्धाले रोचक मन्तब्य राखिरहेकै बेला एक जना स्वयंसेवकझैँ लाग्ने आयोजकका एक जना सदस्यले मलाई पनि केही शब्द राखिदिन भने ।
म केहि अन्कनाएँ र सोधें, “मैले के भन्नु र?” “ आफ्नो मनखुसी जे भने पनि हुन्छ” उनले भने। कुनै दिन बोलौँला तर आज म तयार छुइनँ भन्दा धरै पाइनँ । त्यसपछि क-कसले के-के बोले मेरो मस्तिष्कमा रहेनन् । म के भन्ने र कुन शब्द प्रयोग गर्ने भन्ने सोचाइमा डुबुल्की मारिरहें । सधैँ समूहसामु प्रस्तुत हुनु अघि टोष्टमास्टर्स क्लवबाट सिकेका नियमबमोजिम कागजमा बुँदागत शैलीमा लेखेर तयार हुने बानीले खुल्लारुपमा सोच्न सक्ने बानीलाई विस्थापित गरेको धेरै भइसकेको रहेछ । मन-मनै वाक्यहरु बनाउँदै जान्छु; नयाँ नयाँ विचारमा चडेर नौलो-नौलो वाक्य र शब्दहरु हामफाल्दै आउँछन् । तल राख्ने कि माथि, पहिले कुन वाक्य शुरु गर्ने र अन्तममा कुन वाक्यले बिट मार्ने भन्ने मन-मनै किचलो छाँगोबाट खस्यो: यी सबै जना भुटानप्रति यति धेरै सकारात्मक छन् कि यिनको मनमा मैलो छ्यापेर के काम? धन्यवादै धन्यवादको शब्दडङ्गुर थुपारिदिए झन्झटै साफ- विचार आयो । एक छिन शान्त भयो मन, नराम्रो चट्टानमा पछारिएझैँ । मन न हो, फेरि अर्को तरङ्ग पस्यो र तुफान चलायो मनभित्र । त्यो जिग्मे, जसले ऊभन्दा पहिलो त्यही ठाँउमा जन्मेका उसका दाजु, दिदी, काका, बाबु , आमा, हजुरबाबु, हजुरआमा सम्मान जनतालाई क्रुर बनेर दुःख दियो, देशवाटै लखेट्यो, विदेशी भन्यो, आप्रवासी बनायो, त्यस तानाशाहलाई किन राम्रो भन्ने ? उसको कुकर्म लुकाउन म किन भागिदार बन्ने ? पत्याउन या नपात्याउन मैंले २० वर्षसम्म अमानवीय जीवन जिएको छु । म किन जति कुटे पनि पुच्छर हल्लाउँदै मालिकको पाउमा लिप्त हुने खिच्चा कुकुरको मति लिएर बाँच्नु । जिग्मेको कृत्रिम खुसियालीमा न मेरो समर्थन छ न त्यो देखावटी नीतिमा विश्वास नै ।
जसले जेसुकै सोचुन् म सत्य बोल्छु भन्ने अठोटका साथ आँट पलाएर आयो । यतिकैमा मान्यजनहरुको मन्तब्य सकिएछन् र छोटो वक्तब्य राख्न खुशी भुटानी शब्दहरुले सम्बोधन गर्दै खुसियालीको रहस्य बाँड्न भनी मलाई सभासामु बोलाइयो । रक्तसञ्चार तेज भयो, घाँटीभित्र भ्यागुता कुद्न थाले, आनुहारमा लाली चल्यो, मेरो टाइमा सानो माइक टँसाइयो र म बोल्न थालेँ ।
भुटान मैत्री समाजका अध्यक्ष, सभाध्यक्ष, भुटानका परममित्रहरु, महिला तथा सञ्जनवृन्द । यो पावन भेलामा मलाई बोल्ने मौका दिएर तपाईँहरुले सहि गर्नु भयो वा गलत, म भन्न सक्दिन । अन्त्यमा जे सन्देश लिएर घर फर्कनुहुन्छ त्यो म भन्न सक्दिन, त्यसैले म शुरुमै भुटान र भुटानीहरुको तर्फबाट र मेरो हदयबाट हार्दिक धन्यवादका साथ शितल अभिवादन । यो सभामा उपस्थित मध्येको सबैभन्दा अनौठो ब्यक्ति हुँ म । किन कि मेरो जन्म भूाटनमा भएको थियो । मेरो आधा जीवन भुटान मै बित्यो । भुटान सानो देश हो । दुई विशाल राष्टहरु भारत र चीनको विचमा कुँजिएर बसेको छ । भुटानमा राजाको शाषण चल्छ । अहिले दुईजना राजाहरु छन्ः महाराजा र युवा राजा । दुई जना बाबु छोरा भएकाले मिलेर साशन गर्छन् । देशमा सबै कुराहरु राजाहरुको कृपा र इशारामा मात्र चल्छ । राजाको इच्छा विपरित केही पनि चल्दैन । मान्नुहोस् राजाहरुले चाहेन्न् भने हावा चल्दासमेत पातहरु हल्लिने छैनन् । राज्यमा राजा हुनुमा धेरै राम्रा पक्षहरु छन् । जनताले भविष्यको चिन्ता लिनु पर्दैन, विकासको फिक्री गर्नु पर्दैन | कुनै कुराको योजना वा निर्णय लिने जोखिम मोल्नु पर्दैन । राजाले चाहे चौकिदारलाई प्रधानमन्त्रि र मन्त्रिलाई गोठालो बनाउन सक्छन् | चौकिदारलाई प्रधानमन्त्रि र मन्त्रिलाई गोठालो बनाउन सक्छन् हुकुममार्फत । गरीवलाई धनाड्य र पापीलाई महात्मा बनाएका कथाहरु प्रसस्तै छन् । १९९८ ताका यस्तै करामत देखाए महाराजाले प्रत्येक वर्ष एक जना मन्त्रीलाइ दलहरु खेली, चुनाव गराए र प्रजातन्त्र भनी घोषणा नै गरिदिए ।
राजाले पदोन्नति मात्र छैन दुर्गति पनि गराइदिन्छन्, उनले भनेको नटेरे । त्यस्तै गरे १९८० को दशकको अन्त्यतिर । आफूले दिएको आदेश नपत्याएको भनी एक चौथाई जनतालाई तारो बनाए, तिनको घरवार लुटे, कतिलाई जेलमा सडाइदिए कतिलाई देशवाटै हुत्याइदिए । आज दुई दशकपछि पनि ती लाखौँ भुटानीहरु नेपाल, अमेरिका र अन्य मुलुकमा अनागरिक र राष्ट्रहीन भएर भौँतारिइरहेका छन् । ती लाखौंमध्येको एक जना अहिले तपाईंहरुको सामु बोलिरहेका छ ।
यसैविचमा देशमा अनेक अनिष्ट र संकट आइपरे जसलाई सभ्य पार्न राजाले नयाँ हुकुम दिएका छन् । जस अनुसार सबै खुसी हुनै पर्ने । अहिले राजाको त्यहि आज्ञाअनुसार देशवासीहरु खुसी हुनै परेको छ । जो खुसी हुन चहाँदैनन् वा सक्दैनन् तिनीहरु देशद्रोही, राजद्रोही, आतंककारी हुने छन् र कि देशवाट निकालिने छन् कि त जेलमा सड्ने छन् । राजा…………’
मैंले बोल्दै गरेको माइक मर्छ ध्वानि बन्द हुन्छ र बोल्ने समय सकिएको संकेत आउँछ मलाई । अन्त्यमा धन्यवाद सुनाउन नपाए पनि धन्यावादको इसारामा शिर निहुराएर म आफ्नो सिटतर्फ लागेँ । सबैले मलाई हेरिरहे त्यो सभाको सबैभन्दा अनौठो मानवलाई जीवनामा पहिलो पटक दैविक आन्नदको अनुभूति भयो । मन गर्वले फुलेर आयो । सभाका केही मान्छेले मात्रै सहानुभूतिपूर्ण नजरले हेरे। अधिकांश नजरहरुमा क्रोध दौडिरहेको थियो मानौं उनीहरु बदला लिन तयार छन् । त्यो घटना घटेको एक वर्ष भएछ ।
भोलि मलाई मैत्री समाजले दोस्रो पठकमा बोलाएको छ । म दोधारमा छु जाउँ कि नजाउँ । र गएँ भने के बोलौं भनेर ।
http://bhutaneseliterature.com/archives/7930

....................


बेलडाँगी

Filed under: Govinda Rizal,Nepali,Poetry | 

कवि
कवि
गोविन्द रिजाल
लामो थियो परिचय,
बिर्सनलाई गाह्रो पर्ने
परिवर्तन धेरै आएछन्,
सम्बन्धमै चारो छर्ने
घुमी जगत सम्झी फिरेँ
समर्पित उसकै लागि
भोकै दुब्लै हाहाकारमा
बाँचेको छ अझै मागी
अन्तिम शैयामा छटपटाइरहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।।
कोलहाल घटेछ, वितृष्णा बढे जति
रिस क्रोध पश्चतापमा फलाकिने
शब्दहरू अङ्कुराउने मति
हार नैराश्यमा प्रस्फुटन हुने
साहित्य मौलाएको गति
भण्डारन हुँदैछन्
शब्दकोशमा नअटाउने जति
तिनै अप्रिय शब्दहरू ओकल्दै
अन्तिम शैयामा छटपटाइरहेछ
मेरो इतिहास,प्रिय बेलडाँगी ।।
त्यै शैयामा लम्पसार छ
एक सभ्यताको इतिहास
जातिको एक पहिचान
चट्पटाइरहेछ,
छट्पटाइरहेछ ।
बेतुकका छन् सलामीहरू
हतारमा छन् मलामीहरु
उता,
चिता झोस्ने हतारमा छ क्यमोफ्लेज र खागि
यता,
अन्तिम शैयामा छट्पटाइरहेछ
मेरो इतिहास,प्रिय बेलडाँगी ।।
यो जन्मदै सुर्जेको रगतले सिँचिएको
भिन्न दीक्षित हुन्थ्यो कसरी
कति मारेको कति मरेको
पसिना र रगत दहभरि
फुलेन कमल, उडेन कलरब
मृगहरु ओरालो झरे
देशप्रेमी एक्लब्यहरु
मूर्ख ठहरे, एक्लो परे ।
हाँसो छैन, चैन छैन
अन्यायका आँसु आँसु
कति सुके कति झरे
वेदना छोपी संघर्षु
बहिस्कृत एक्लो परे ।
जन्तिहरु मानोको पछाडि
मलामिहरु छानोको पछाडि
दिनेहरु ठग
लिनेहरु लोभी भएछन्
आशालाग्दा कर्णधार
अर्कै मुलुक चलान भएछन्
इतिहास रच्नेहरु
लक्ष्य छोडी पलायन भएछन्
वृद्धवृद्धा लम्पसार छन्
बाँझो क्षितिजमा आशा टाँगी
अन्तिम शैयामा छट्पटाइरहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।।
कुण्डलिनी नजागेको योगी भएछ बेलडाँगी
एकान्तमा छोडिएको कुष्ठरोगी भएछ बेलडाँगी
आउने छैन, जाने मात्रै
हात पसारेको पसारेकै
सिर्फ बाच्नको लागि
न जोत्छ,
न रोप्छ,
न मलजल, न गोडमेल
न काट्छ बाली, न चाख्छ नुवागी
दीन दयामै एक युग बाँचेर
भोगी भएछ बेलडाँगी
अन्तिम शैयामा छट्पटाइरहेछ
मेरो इतिहास, प्रिय बेलडाँगी ।।
http://bhutaneseliterature.com/archives/17681
..........................................................

No comments:

Post a Comment